राप्ती आँखा अस्पतालमा जलविन्दु उपचार सेवा : प्रा.डा. शाह [अन्तर्वार्ता]

नेपालमा अन्धोपन बढनुको एउटा कारण जलविन्दु रोग पनि हो । जलविन्दु रोग आँखाको दृष्टि नसालाई दीर्घकालीन असर गर्ने समस्या पनि हो । यसलाई दृष्टि चोर रोगका नामले पनि चिनिन्छ । आँखामा बढ्ने प्रेसरले दृष्टि नसालाई असर गर्छ । जसका कारण त्यहाँको तन्तुहरु ग्रसित हुँदै जाने गर्छ । जलविन्दुका कारण विस्तारै दृष्टि नसा सुक्ने तथा दृष्टि क्षमता घट्दै जाने हुन्छ । दाङको तुलसीपुरस्थित राप्ती आँखा अस्पतालमा जलविन्दु रोगको उपचार सम्बन्धी विशेषज्ञ सेवा सुरु भएको छ ।

राप्ती आँखा अस्पतालमा अन्य विशिष्टकृत सेवासँगै जलविन्दुको विशिष्टकृत सेवा पनि अहिले बिरामीले पाइरहेका छन् । राप्ती आँखा अस्पतालमा ग्लोकमा र फेको सर्जरीमा विशेषज्ञता हासिल गरेका सहायक प्रा.डा रञ्जितकुमार शाह आएसँगै जलविन्दुको उपचार सेवा अस्पतालमा बिरामीले पाइरहेका छन् ।

अहिले जलविन्दुको दैनिक उपचारका साथै शल्यक्रियासँगै अन्य परामर्श सेवा अस्पतालले दिँदै आएको छ । आँखाका प्रायः सबै उपचार सेवा उपलब्ध गराउँदै आएको राप्ती आँखा अस्पतालले अब जलविन्दु सेवामा पनि विषयज्ञ ल्याएको छ । यसपछि अब जलविन्दुका रोगीहरुलाई दाङ बाहिर जानु पर्ने छैन । सोही विषयमा केन्द्रित रहेर राप्ती आँखा अस्पतालका मे.सु सहायक प्रा. डा. रञ्जितकुमार शाहसँग जलविन्दु रोग, यसको उपचार र जलविन्दुबाट बच्ने उपाय लगायतका विषयमा गोरक्षकर्मी बालाराम खड्काले गरिएको संक्षिप्त कुराकानी ।

 स्वागत छ यहाँ लाई सातावार्तामा ?

 धन्यवाद यहाँ अनि यहाँको मिडियालाई आँखा रोगको विषयमा आफ्ना कुराहरू राख्ने अवसर दिनुभएकोमा ।

 जलविन्दु भनेको के हो ?

 जलविन्दु अर्थात (ग्लोकोमा ) आँखामा लाग्ने एउटा रोग हो । जलविन्दु रोग आँखाको दृष्टि नसालाई दीर्घकालीन असर गर्ने समस्या हो । आँखामा बढ्ने प्रेसरले दृष्टि नसालाई असर गर्छ । जसकारण त्यहाँको तन्तु ग्रसित हुँदै जाने गर्दछ । यसले विस्तारै दृष्टि नसा सुक्ने तथा दृष्टि क्षमता तथा दृष्टि परिधि घट्दै जाने हुन्छ ।

आँखाको दृष्टि क्षमतालाई धेरै घटाइसकेपछि मात्रै बिरामीले यस समस्या बारेमा थाहा पाउँछ । दृष्टि क्षमतामा धेरै असर पुगेको अवस्थामा फर्काउन निकै कठिन हुन्छ । धेरै जस्तो जलविन्दुमा आँखाको प्रेसर बढ्ने भए पनि केही जलविन्दुमा आँखाको प्रेसर नबढ्ने पनि हुन सक्छ । जसलाई दृष्टि चोर रोगका नामले पनि चिनिन्छ । नेपालमा अन्धोपन बढनुको एउटा कारण जलविन्दु रोग पनि हो ।

 जलविन्दुका लक्षण के–के हुन् ?

 सुरुवाती अवस्थामा जलविन्दुका लक्षणबारे बिरामीलाई थाहा नै हुँदैन । तर, पनि जलविन्दुका केही लक्षण छन् । जस्तै दृष्टि धमिलो हुँदै जानु, बत्तीमा हेर्दा इन्द्रेणी रंग देख्नु, मन्द गतिले आँखा र टाउको दुख्ने, कतिपय जलविन्दुमा वाकवाकी हुने, तथा आकस्मिक रूपमा टाउको दुख्नु लगायतका लक्षण हुन सक्छन् ।

 कस्तो अवस्थामा जलविन्दु हुन सक्ने हुन्छ ?

 जलविन्दुको समस्या जन्मजात रूपमा एकदमै कम मानिसमा देखिने गर्छ । धेरैजना मानिसमध्ये एकजनालाई जलविन्दुको समस्या देखा पर्न सक्छ । यदि परिवारमा कसैलाई जलविन्दु भएको छ भने जलविन्दु हुने सम्भावना बढी हुनसक्छ । त्यसैगरी ४० वर्षभन्दा माथिका वयश्कलाई पनि जलविन्दु हुनसक्छ । त्यस्तै मधुमेह तथा उच्च रक्तचापको समस्या भएकालाई जलविन्दु हुने सम्भावना बढी हुन्छ । ‘स्टेरोयड्स’ जस्ता औषधीको प्रयोग गर्दा जलविन्दुको जोखिम बढेर जान्छ । यदि आँखामा लागेको चोटपटकले पनि आँखामा जलविन्दुको समस्या निमतन सक्छ ।

 राप्ती आँखा अस्पततालमा जलविन्दुको बिरामी दैनिक कति आउने गर्छन् ?

 राप्ती आँखा अस्पतालमा जलविन्दुभन्दा पनि अन्य आँखासम्बन्धी समस्या भएर आउने बिरामी धेरै हुनुहुन्छ । अस्पतालमा दैनिक ओपीडिमा ३ सय साढे तिन सयको हाराहारीमा बिरामी आउनु हुन्छ । त्यसमा धेरैजसो त मोतियाविन्दुका बिरामी आउनु हुन्छ । त्यसका साथ साथै सामान्यतया जलविन्दुका बिरामी ५÷७ जना आउनु हुन्छ केहीको चेकजाँच गर्दा जलविन्दुको समस्या देखिन्छ भने केही पहिलेदेखि नै जलविन्दुको रोग पत्ता लागेर उपचारका लागि नियमित चेकजाँचका लागि आउनु हुन्छ ।

 नेपालमा जलविन्दुको अवस्था कस्तो छ ?

 सर्वेक्षण अनुसार नेपालमा २.१ प्रतिशतभन्दा बढीलाई जलविन्दुको समस्या रहेको छ । विश्वको सन्दर्भमा भन्ने हो भने करिब २ प्रतिशतदेखि ८ प्रतिशतलाई जलविन्दुको समस्या रहेको अध्ययनले पत्ता लगाएको छ । नेपालमा धेरैलाई सुरुवाती अवस्थामा जलविन्दुको समस्याबारे थाहा हुँदैन । उपचारका लागि आइपुग्दासम्म आँखामा क्षति पुगिसकेको हुन्छ । नेपालमा हुने अन्धोपनाको दोस्रो कारणमा जलविन्दु रोग पर्छ । समयमै बिरामी अस्पतालमा नआउँदा जलविन्दु अन्तिम अवस्थामा पुगेको हुन्छ र त्यस्तो अवस्थामा उपचारको विधि थोरै रहने हुन्छ ।

 जलविन्दुको परीक्षण तथा उपचार पद्धति के हो ?

 जलविन्दुले गर्दा क्षति भइसकेको दृष्टि फर्काउन सकिँदैन तर नियमित उपचारले जलविन्दुबाट हुनसक्ने अरू नोक्सानबाट बचाउन सकिन्छ । जलविन्दुको उपचारका क्रममा गरिने विभिन्न परीक्षणमध्ये पहिलो आँखाको प्रेसर परीक्षण नै हो । त्यस्तै ओसिटी, दृष्टि परिधिको जाँच पनि महत्वपूर्ण हुन्छ । समयमा नै उपचार गरी आँखाको प्रेसर बढ्न नदिएको अवस्थामा जलविन्दुको अवस्थालाई नियन्त्रणमा राख्न सकिन्छ । कुनै जलविन्दुमा आँखाको प्रेसर घटाउनका लागि औषधी सेवन गर्नुपर्ने हुनसक्छ । जलविन्दुको रोगको प्रकारमा यसको निको हुने अवस्था निर्भर रहन्छ । कतिजना बिरामीको सामान्य औषधि उपचारले निको हुन्छ भने कतिपय प्रकारका जलविन्दुको उपचारका लागि शल्यक्रिया समेत गर्नु पर्ने हुन्छ । यसको उपचार आँखाको प्रेसरको मात्रा कतिले बढेको छ भन्ने कुरामा निर्भर हुने गर्छ ।

 जलविन्दु रोगबाट कसरी जोगिने ?

 यसबाट बचनका लागि रक्तचाप बढ्न नदिने, मधुमेह हुनबाट जोगिने, जलविन्दुको कुनै लक्षण देखिएमा तुरुन्तै चिकित्सकको सल्लाह अनुुसार उपचार विधि सुरु गर्ने अर्को कुरा आँखामा चोट पटक लागेका बिरामीले नियमित आँखा परीक्षण गराउने । कम्तीमा पनि ६÷६ महिनामा एक पटक जुनसुकैले पनि आँखा परीक्षण गराउँदा राम्रो हुन्छ । रोग लाग्नुभन्दा लाग्न नदिनै वेस हुने भएकाले समयमै आँखाको चेकजाँच गरी आँखाको सुरक्षा गर्न आवश्यक छ ।

 अन्त्यमा ?
 अन्तमा म तपाईहरूलाई धन्यवाद दिन चाहन्छु । आँखा जस्तो महत्वपूर्ण अंगको विषयमा नागरिकलाई सुसूचीत पार्र्ने अवसर दिनुभएकोमा । आँखा मानव अंगको महत्वपूर्ण अंग हो । म सबैलाई आँखालाई माया गरौँ भन्न चाहान्छु । हाम्रो राप्ती आँखा अस्पतालमा अहिले विभिन्न विशिष्टकृत सेवा छन् । हामीहरूले अन्य सेवा थप गर्ने योजना पनि छ । यसमा हजुर जस्तो सञ्चार क्षेत्र तथा सबै सरोकारवालाले साथ सहयोग गर्न आवश्यक छ ।

अर्को कुरा आँखा जस्तो कुराको हेलचक्राई कसैले पनि नगरौँ, यदि आँखामा समस्या देखियो भने तरुन्तै नजिकैको अस्पताल तथा उपचार केन्द्रमा आँखा चेकजाँच गरौँ, जथाभावी जे पायो त्यही औषधी प्रयोग नगराँै, आँखाको सुरक्षा सबैले गरौँ र दृष्टिविहीनताको न्यूनीकरणमा सबैले हातेमालो गराँै भन्न चाहन्छु । धन्यवाद ।