नागेश्वर महादेव पार्वती मन्दिरमा श्रीमद्भागवत महापुराण सप्ताहको उद्घाटन

गोरक्ष समाचारदाता
दाङ, ७ जेठ । घोराही उपमहानगरपालिका वडा नं १८ मा रहेको नागेश्वर महादेव पार्वती मन्दिरमा श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान विज्ञान महायज्ञ तथा श्रृंगारिक महाआरती सुरु भएको छ ।

मन्दिरकोे समग्र भौतिक पूर्वाधार निर्माण तथा अक्षयकोष स्थापनाका लागि श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान विज्ञान महायज्ञ तथा श्रृंगारिक महाआरती गर्न थालिएको हो । महायज्ञको उद्घाटन प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले गरेका हुन् । महायज्ञ यही जेठ ६ गतेदेखि १३ गतेसम्म हुने मन्दिर व्यवस्थापन समितिको अध्यक्ष तथा महायज्ञ मुल आयोजक समितीका संयोजक झगलाल कवरले जानकारी दिए ।

मन्दिरकोे समग्र भौतिक पूर्वाधार निर्माण तथा अक्षयकोष स्थापनाका लागि बजेट नहुँदा महायज्ञ सञ्चालन गर्न थालेको उनले बताए । महायज्ञको कथा बाचकमा परशु राम पाण्डेय रहेका छन् । दलित पुजारी भएको एक मात्र मन्दिरमा भौतिक संरचना अपुग भएकाले महायज्ञ आयोजना गरिएको बताइएको छ । यसबाट आएको रकमले मन्दिरलाई पूर्णता दिने व्यवस्थापन समितिले जनाएको छ ।

महामयज्ञमा कथा बाचन भजन कृतन, देविलीला भाँक्री तथा चेतनामूलक नाटक प्रस्तुत गरिने भएको छ । उद्घाटन कार्यक्रम महायज्ञ मुल आयोजक समितिका संयोजक झगलाल कवरको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नं १८ का वडाअध्यक्ष भरतमणि अर्याल, वडा नं १९ का अध्यक्ष ज्ञानबहादुर रायमाझी, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन, बयल डाडाँ चौतारी कलवका अध्यक्ष नारायणप्रसाद भुसाल लगायतकाले भनाइ राखेका थिए । विक्रम विकको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण राष्ट्रिय कलाकार कमल गाउलेले गरेका थिए । उद्घाटन पूर्व झाँकीसहित ¥याली निकालिएको थियो । मन्दिरबाट सुरु भएको ¥याली घोराही बजारका विभिन्न स्थानको परिक्रममा गरेर मन्दिरमा पुगेको थियो ।