लक्ष्मण बस्नेत
दाङ, ६ जेठ । दाङ जिल्ला अन्तरपालिकास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । दाङ जिल्ला खेलकुद बिकास समिति बेल्झुन्डीको आयोजना तथा प्रदेश खेलकुद परिषद लुम्बिनीको तत्तावधानमा यहि जेठ १५ गतेदेखि प्रतियोगिता सुरु हुने भएको छ ।
जिल्ला खेलकुद बिकास समितिको आइतबार बसेको खेल सम्बन्ध संघका अध्यक्ष तथा प्रतिनिधि र कर्मचारी सहभागी बैठकले प्रतियोगिताको मिति तय गरेको हो । साथै बैठकले रनिङ शिल्डलाई भब्य एवं सभ्य रुपमा सम्पन्न गर्न समितिका कार्यालय प्रमुख राकेश परियारको संयोजकत्वमा रनिङ शिल्डमा सहभागी हुने ६ खेलका संघ र सबै खेलका प्रशिक्षक सदस्य रहने गरि प्रतियोगिता मुल आयोजक समिति गठन गरेको छ ।
त्यस्तै बैठकले मुल आयोजक समितिको मातहतमा रहने गरि विभिन्न उपसमिति समेत गठन गरेको कार्यालय प्रमुख राकेश परियारले जानकारी दिएका छन् । परियारका अनुसार आर्थिक संकलन, मन्च ब्यबस्थापन, खेल मैदान मर्मत ब्यबस्थापन, आतिथ्य सत्कार,प्रचारप्रसार, बिबाद समाधान, पुरस्कार तथा प्रमाणपत्र ब्यबस्थापन, प्राथमिक उपचारलगाएतका उपसमिति गठन गरिएको छ ।
त्यसैगरी बैठकले प्रतियोगितामा सहभागी हुने पालिकालाई टिम दर्ताको अन्तिम मिति यहि जेठ १३ गतेसम्म तोकेको छ भने खेलाडीहरुको आवश्यक विवरणको फाईलसहित जिल्ला खेलकुदको कार्यालय बेल्झुन्डीमा टिम दर्ता गर्न सबै पालिकालाई पत्राचार मार्फत अनुरोध गर्ने निर्णय गरेको छ । तीन दिनसम्म संचालन हुने प्रतियोगितामा एथलेटिक्स, भलिबल,कबड्डी,तेक्वान्दो, कराते र उसु खेल बिधामा जिल्लाका दश स्थानीय तहका खेलाडीबिच कडा प्रतिस्पर्धा हुनेछ ।