गढवा पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

खेमराज रिजाल
गढवा, ५ जेठ । गढवा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । नेपाल सरकारको राष्ट्रिय खोप तालिका एवम् खोप निर्देशिका बमोजिम सबै प्रक्रिया पूरा गरेपछि जिल्ला खोप समन्वय समिति दाङले गढवा गाउँपालिकालाई यो वर्षको पहिलो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरेको हो । गाउँपालिकाभित्र रहेका १६ महिनादेखि ५९ महिनाभित्र उमेर समूहका एक हजार आठ सय बालबालिकालाई सबै प्रकारका खोप लगाएपछि पालिकालाई पुर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो ।

गढवा गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका सबै स्वास्थ्य संस्थामार्फत् लक्षित समूहका सबै बालबालिकाको घरधुरी सर्वेक्षण गरी सबै वडाका लक्षित बालबालिकालाई सबै खोप लगाइसकेपछि त्यसको प्रमाणीकरण जिल्ला खोप समन्वय समितिबाट भएको थियो । जिल्ला खोप समन्वय समितिबाट प्रमाणीकरण भइसकेपछि पालिकाको अनुरोधमा जिल्ला खोप समन्वय समितिले गढवा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरेको हो । खोज र खोप अभियानका क्रममा उक्त गाउँपालिकामा ४ जना बालबालिका ड्रपआउट भेटिएका थिए ।

उनीहरूलाई पनि खोप लगाइसकेपछि पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको थियो । शून्य डोज खोपका बालबालिका भने गढवा गाउँपालिकामा नभेटिएको पालिका स्वास्थ्य शाखाले जनाएको छ । सोमवार पालिकाको सभाहलमा आयोजित घोषणासभामा जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समिति दाङका प्रमृुख नित्यानन्द शर्माले गढवा गाउँपालिकाका प्रमुख तथा पालिका खोप समन्वय समितिका संयोजक यमनारायण शर्मा पोख्रेललाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको प्रमाणपत्र दिएका हुन् ।

पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणासभामा बोल्दै प्रमुख अतिथि तथा जिल्ला खोप समन्वय समितिका संयोजक नित्यानन्द शर्माले राष्ट्रिय खोप निर्देशिकाले निर्दिष्ट गरेका सबै प्रक्रिया पूरा गरी जिल्लामै पहिलो पटक पूर्ण खोप सुनिश्चित पालिका भएकोमा बधाई दिए ।

‘भौतिक विकासले मात्र मुलुकले समग्र समृद्धि हासिल गर्न सक्दैन, यसका लागि स्वस्थ एवम् दक्षजनशक्ति निर्माण पनि आवश्यक हुन्छ’, प्रमुख अतिथि शर्माले भने, यसका लागि पालिकाले नेपाल सरकारले राखेको दिगो विकास लक्ष्य पूरा गर्न मानव संशोधनको विकासमा पनि जोड दिन आवश्यक छ । साथै उनले नेपाल सरकारको प्राथमिकता प्राप्त कार्यक्रमलाई फलदायी बनाउन पालिकाले यसरी नै हरेक वर्ष पूर्ण खोप सुनिश्चित घोषणा गर्दै निरन्तरता दिनु पर्ने पनि बताए ।

नेपालको संविधानले आधारभूत स्वास्थ्य सेवालाई मौलिक हकका रूपमा स्थापित गरेको छ । पूर्ण खोप पनि आधारभूत स्वास्थ्य सेवाअन्तर्गत नै पर्दछ । साथै खोप कार्यक्रम नेपाल सरकारको प्राथमिकता प्राप्त कार्यक्रम पनि हो । पूर्ण खोप निर्देशिकामा मुलुकका हरेक स्थानीय पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका हरेक वर्ष घोषणा गर्दै जाने र त्यसपछि जिल्ला हुँदै सबै प्रदेशलाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गर्न पनि निर्देशन दिइएको छ ।

आफ्नै अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै गढवा गाउँपालिका खोप समन्वय समितिका संयोजक तथा पालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जिल्लामै पहिलो पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएकोमा पालिकाका स्वास्थ्य शाखा लगायत सबै स्वास्थ्य इकाईलाई बधाई दिए । ‘हामीले स्वास्थ्यका हरेक कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएका छौँ, अहिले यो पूर्ण खोप सुनिश्चित पालिका घोषणामा सहयोग गर्नु हुने सबैलाई हार्दिक धन्यवाद एवम् बधाई दिन चाहन्छु’, अध्यक्ष शर्माले भने ।

पूर्ण खोप सुनिश्चितता तथा दिगोपना कसैको पनि एकल प्रयासले सार्थक नहुने भन्दै आगामी दिनमा पनि यसलाई निरन्तरता दिन सबैलाई आग्रह गरे । विगतमा सबै बालबालिकालाई आवश्यक खोप लगाउन नपाउँदा धेरैले अकालमा त्यस्ता रोगबाट ज्यान गुमाउनु परेको उल्लेख गर्दै अध्यक्ष पोख्रेलले नेपाल सरकारले निःशुल्क उपलब्ध गराएका सबै प्रकारका खोप लक्षित नागरिकलाई उपलब्ध गराउन पालिकाले कुनै पनि तवरले सफल बनाउने पनि अभिव्यक्ति दिए ।

गढवा गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख कैलाश चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय दाङका प्रमुख किशोर आचार्यले पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएको दिनलाई पालिकाका सम्पूर्ण स्वास्थ्यकर्मीले विशेष उत्सवका रूपमा मनाउनु पर्ने बताए । ‘आज गढवा गाउँपालिकाले राष्ट्रिय खोप निर्देशिकाले तय गरेका सबै चरण पार गरेर पूर्ण खोप सुनिश्चितता पालिका घोषणा भएको छ, यसलाई दिगोपना दिनका लागि तपाई स्वास्थ्यकर्मी÷जनप्रतिनिधिले हरेक वर्ष यही प्रक्रियामा काम गर्नु हुने छ भन्ने मलाई विश्वास छ’, स्वास्थ्य कार्यालय दाङका प्रमुख आचार्यले भने ।

पूर्ण खोप सुनिश्चित पालिका घोषणामा स्वास्थ्य कार्यालय दाङ सदैव सहजीकरण गर्न तयार रहेको पनि बताए । यसका लागि खोप चेनलाई सधै अपडेट गरी राख्ने र खोप अभाव भए तत्काल स्वास्थ्य कार्यालयमा सम्पर्कमा रहन पनि आग्रह गरे । घोषणासभामा गढवा गाउँपालिका–५ का अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक लेकबहादुर थापाले पूर्ण खोपलाई आगामी दिनमा पनि निरन्तरता दिन आफूहरू प्रतिबद्ध रहेको बताए ।

उक्त अवसरमा गढवा गाउँपालिकामा रहेका आठवटै वडाका स्वास्थ्य संस्थालाई पूर्ण खोप कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सम्मान गरिएको थियो । कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखाका प्राविधिक सुर्यनारायण यादवले गरेका थिए । असार मसान्तभित्र जिल्लाका अन्य सबै गाउँपालिकालाई पूर्ण खोप सुनश्चितता तथा दिगोपना पालिका घोषणा गरिसक्नु पर्ने राष्ट्रिय खोप निर्देशिकामा उल्लेख छ ।