हर्नाेकमा पाठेघर मुखको क्यान्सर सम्वन्धी परीक्षण

घोराही, ३ जेठ । घोेराही उपमहानगरपालिका–१ हर्नाेकमा पाठेघर मुखको क्यान्सर (भिआईए स्क्रिनिङ) सम्वन्धी परीक्षण गरिएको छ । प्रजनन् रुग्णता कार्यक्रमअन्र्तत घोराहीको दुर्गम क्षेत्रका रुपमा रहेको हर्नाेकस्थीत डाँडाखुट्टी शहरी स्वास्थ्य केन्द्रमा आइतवार स्वास्थ्य शिविरको आयोजना गरेर पाठेघर मुखको क्यान्सरको निःशुल्क परीक्षण गरिएको हो ।

घोराही उपमहानगरपालिका जनस्वास्थ्य प्रवद्र्धन शाखाको आयोजनामा भएको निशुल्क शिविरको उद्घाटन गर्दै नगर उपप्रमुख हुमा डिसीले गर्दै ग्रामीण क्षेत्रमा रहेका आर्थिक रुपमा विपन्न समुदायका महिलाहरुको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर कार्यक्रम सञ्चालन गरिएको बताइन । महिलाहरु घरमै काममा ब्यस्त हुने र स्वास्थ्य समस्यालाई लुकाउने गरेका कारण पछिल्लो समय पाठेघर मुखको क्यान्सर हुनेको संख्या बढ्दै गएको भन्दै उपप्रमुख डिसीले रोगलाई शरिरमा लुकाएर नराख्न आग्रह गरेकी थिइन ।

समयमै रोगको परिक्षण गरे रोग लाग्नबाट वच्न सकिने भएकाले घोराहीका प्रत्येक वडामा शिविरको आयोजना गरेर परिक्षण गर्ने काम भइरहेको भन्दै उपप्रमुख डिसीले भनिन्,‘लाज मानेर रोगलाई लुकाउने काम महिलाले गर्नु हुँदैन । समय–समयमा चेकजाँच गराउनुपर्छ ।’ यो अभियान गाउँ बस्ती अनि घरघरमा पुर्याउन पालिकाले प्रयास जारी राखेको भन्दै हरेकले शरीरको बाहिरी सरसफाइ जस्तै शरिरका भित्री सरसफाइमा ध्यान दिन आवश्यक रहेको बताइन ।

घोराही उपमहानगरपालिका– १ का वडा अध्यक्ष राममणि पाण्डेयले आफ्नो स्वास्थ्यप्रति सचेत हुन आग्रह गर्दै महिलालाई समस्या देखिए चेकजाँच गराउन आग्रह गरे । पहाडी क्षेत्रमा अस्पताल जान महिलालाई समस्या हुने भएकाले गाउँमै निशुल्क पाटेघरको मुखको क्यान्सरको परिक्षण गर्ने शिविरको आयोजना गरिएको भन्दै लाज नमानेर स्वास्थ्य परिक्षण गराउन महिलालाई आग्रह गरेका थिए ।
जन स्वास्थ्य प्रबद्र्धन शाखा प्रमुख राधा पौडेलले महिलाको प्रजनन स्वास्थ्यमा पहुँच नपुग्दा समस्या बढ्दै गएको भन्दै यो अभियानबाट स्वास्थ्य सेवा दिइने गरिएको बताइन ।

महिलाहरुमा लजाउने, संक्रमण हुने र ज्यान जाने गरेको भन्दै पालिकाले यो अभियानको थालनी गरेको भन्दै सबै महिलाहरुलाई सेवाको लाभ उठाउन आग्रह गरेकी थिइन । उनका अनुसार शिविरमा सेवा लिन आएका ५८ जना महिलाहरुको भिआइए स्क्रिनिङ गर्दा २ जनामा पाठेघरको मुखको क्यान्सरको संकास्पद अवस्था देखिएकाले उपचार गराउन सुझाव दिएको शाखा प्रमुख पौडेलले बताइन ।

शाखा प्रमुख पौडेलका अनुसार १२ जनाको पाठेघर बाहिर सरेको फेला परेका थिए भने दुई जना महिलाको पाठेघरमा रिंग प्रेसरी राखिएको छ । अन्य महिलाहरुमा यौन तथा छाला सम्बन्धी रोगको समस्या देखिएकाले उपचारका लागि औषधी वितरण गरिएको शाखा प्रमुख पौडेलले बताइन । सेवा लिन आएका महिलाहरुमा महिनावारी गडबडी, सेतोपानी बग्ने, तल्लो पेट दुख्ने, पाठेघरमा घाउखटिरा भएका बिरामीले सेवा लिएका थिए ।

सामाजिक विकास समिति संयोजक राममणि पाण्डेको अध्यक्षता तथा उपप्रमुख हुमा डिसीको प्रमुख भिआईए स्क्रिनिङमा जनस्वास्थ्य प्रवद्र्धन शाखामा कार्यरत नर्स, स्वास्थ्यकर्मीलगायतले सेवा दिनुभएको हो । कार्यक्रमको सहजीकरण काँडाखुटी सहरी स्वास्थ्य केन्द्र प्रमुख बालाराम रोकाले गरेका थिए । ।