भूमे गाउँपालिकामा बृहत यौनिकता शिक्षा

रुकुम पूर्व, ४ जेठ । नेपाल परिवार नियोजन संघ र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको साझेदारीमा सन् २०१८ देखि रुकुम पूर्वको भूमे गाउँपालिकामा सञ्चालित बृहत यौनिकता शिक्षा कार्यक्रम तथा किशोरमैत्री सूचना केन्द्र एक औपचारिक समारोहबीच स्थानीय तहलाई हस्तान्तरण गरिएको छ ।

कार्यक्रम भुमे गाउपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत उपेन्द्र यादबको अध्यक्षतामा भएको थियो । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापकहरू, एएफआइसीका फोकल शिक्षकहरू, विद्यालय व्यवस्थापन समिति सदस्यहरू, शिक्षा तथा स्वास्थ्य शाखाका प्रतिनिधिहरू, सामाजिक विकास समिति, महिला तथा बालबालिका शाखाका प्रतिनिधिहरू तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

बृहत यौनिकता शिक्षा कार्यक्रम युुएनएफपीएको प्राविधिक सहयोगमा र अष्ट्रेलियाली सरकारको परराष्ट्र मामिला तथा व्यापार विभागको आर्थिक सहयोगमा सञ्चालित कार्यक्रम हो । जसअन्तर्गत रुकुम पूर्वसहित बझाङ, बैतडी, अछाम र कपिलवस्तु जिल्लाका माध्यमिक विद्यालयहरूमा किशोरमैत्री सूचना केन्द्रहरू स्थापना गरिएका थिए।

एएफआइसीमार्फत किशोर–किशोरीहरूले सुरक्षित र गोप्य वातावरणमा यौन तथा प्रजनन स्वास्थ्य, लैङ्गिक समानता, आत्मविश्वास विकास, जीवन उपयोगी सीप तथा व्यक्तिगत सशक्तिकरणका विषयमा जानकारी लिने सुविधा पाएका छन्। कार्यक्रमअन्तर्गत शिक्षक, समकक्षीय प्रशिक्षक र एएफआइसी फोकल व्यक्ति प्रशिक्षण प्राप्त गरी किशोरमैत्री शैलीमा शिक्षा प्रदान गर्दै आएका थिए ।

उक्त कार्यक्रम मा नेपाल परिवार नियोजन संघ दाङ शाखाका शाखा प्रमुख बसन्त खनालले कार्यक्रमको अबधिभरमा भएका गतिविधिहरू, उपलब्धिहरू, र यसको प्रभावबारे सहभागीहरूलाई जानकारी गराएका थिए । उनले युएनएफपिए र नेपाल परिवार नियोजन संघको सहकार्यमा सिर्जना गरिएका संरचना र क्षमता अब स्थानीय तहले आफैं सम्हाल्नु पर्ने बताए ।

कार्यक्रमको दीगो सञ्चालनका लागि स्थानीय सरकार, विद्यालय र समुदायको सहकार्य अनिवार्य रुपमा भएमा मात्रै विद्यालयस्तर मै यौनिकता शिक्षा र किशोरमैत्री सूचना केन्द्रको विषयलाई संस्थागत गर्नुपर्ने आवश्यकता छ’ उनले भने ‘विद्यालयहरूले आफ्नै स्रोत साधन प्रयोग गरी अझ सशक्त बनाउनु पर्छ, ताकि यसले दीर्घकालीन प्रभाव पार्न सकोस्’ ।

कार्यक्रममा सहभागी विद्यालय प्रतिनिधिहरू, प्रधानाध्यापक, फोकल शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका सदस्यहरूले आगामी दिनमा केन्द्रहरूको निरन्तरता र दीगो सञ्चालन सुनिश्चित गर्न आवश्यक पहल गर्ने प्रतिबद्दता जनायका थिए।