राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शून्य बेरुजु

दाङ,४ जेठ । आर्थिक वर्ष २०८०/८१ मा दाङ जिल्लाको एकमात्र शून्य बेरुजु संस्था राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बनेको छ।

प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम लम्सालका अनुसार महालेखा परीक्षकको अडिट प्रतिवेदनले सेवा प्रवाहदेखि आर्थिक कारोबारसम्म सबै क्षेत्रमा प्रतिष्ठानको बेरुजु शून्य देखिएको हो।

विगत वर्षहरूमा करोडौं रुपैयाँ बेरुजु देखिँदै आएकोमा यस आर्थिक वर्षमा पहिलोपटक बेरुजु शून्य कायम भएको हो। “आर्थिक कारोबार दोब्बर भए पनि बेरुजु नहुनु सुशासनको संकेत हो,” रजिस्ट्रार लम्सालले बताए।

उनका अनुसार प्रतिष्ठानले आर्थिक ऐन तथा नियमअनुसार सबै प्रक्रिया पूरा गरेर कारोबार गर्ने प्रणाली अवलम्बन गरेकाले यस्तो उपलब्धि सम्भव भएको हो।

गत वर्ष प्रतिष्ठानले ६६ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेकोमा ५६ करोड रुपैयाँ खर्च गरिएको थियो। शैक्षिक क्षेत्रमा प्रतिष्ठानले नर्सिङमा ३० जना, बीएस्सीमा ४० जना, र एमबिबिएसमा ५० जना विद्यार्थीलाई पढाइरहेको छ।त्यस्तै, स्नातकोत्तर तह (एमडी/एमएस/एमएस्सी नर्सिङ) मा ८ विषयमा १५ सिट प्राप्त भएको छ।