गोरक्ष समाचारदाता
दाङ, ४ जेठ । राष्ट्रिय कलाकार कमल गाउँलेको ‘भंँसी पालेर’ भाग–२ ‘भाग्य बलियो’ शुक्रवार घोराहीमा सार्वजनिक गरिएको छ । कलाकार गाउँलेकी आमा प्रेमकला अर्यालले गीतको सार्वजनिक गरेकी हुन् ।
त्यससँगै युट्युव च्यानलमार्फत् संसारभरिबाट हेर्न सकिने भएको छ । कार्यक्रमका विशिष्ट अतिथि दाङका प्रहरी प्रमुख अर्जुनकुमार तिमिल्सिनाले गीतले सचेतना दिएको बताए । कार्यक्रममा घोराही–१८ का अध्यक्ष एवम् कलाकार गाउँलेका दाजु भरतमणि अर्यालले कान्छो भाइ गाउँले सानैदेखि रुचिको विषयमा इमानदार भएर लागेको बताए ।
गीतले मनोरञ्जन, महिलालाई नेतृत्वमा लैजान प्रेरणा दिने, मिहिनेत गर्न सिकाउनेलगायत समाज निर्माणका लागि गतिलो पाठ सिकाएको बक्ताको भनाइ थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन, महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त जोशीलगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको सजीकरण नारायणप्रसाद भुसालले गरेका थिए ।