‘राज्यको व्यवसायमैत्री नीति आवश्यक’

 

जग्गा तथा आवास संघको अविधेशन
गोरक्ष समाचारदाता
दाङ, ४ जेठ । सरकारले व्यवसायीमैत्री नीति निर्माण गरेर लगानी भित्राउने वातावरण बनाउनु पर्ने व्यवसायीले माग गरेका छन् । दाङ जिल्ला जग्गा तथा आवास संघको साधारणसभा तथा प्रथम अधिवेशनको उद्घाट कार्यक्रममा बोल्ने वक्ताले व्यवसायीमत्रै नीति निर्माण गरी लगानी भित्राउने वातावरण निर्माण गर्न सरकारलाई आग्रह गरेका हुन् ।

राज्यको नीतिका कारण अहिले लगानी भित्रन नसकेको बताउँदै जग्गा तथा आवास महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले महासंघ देशका ७ स्थानमा नयाँ सहर निर्माण गर्ने अभियानमा लागेको बताए । उनले कोसी प्रदेशमा नयाँ सहरको काम सुरु भइसकेको बताउँदै यसमा निजी क्षेत्रको लगानी आवश्यक पर्ने बताएका थिए । जग्गा तथा आवास व्यवसाय गर्नेहरूको संस्था निर्माण गरिएको बताउँदै उनले निजी क्षेत्रको सामूहिक लगानीमा नयाँ सहर निर्माणको अभियान चलेको बताएका थिए ।

देशका अन्य प्रदेशमा नयाँ सहर निर्माणका लागि अध्ययन भइरहेको उनको जानकारी गराए । ‘कुन प्रदेशमा के काम गर्न सकिन्छ भनेर सम्बन्धित क्षेत्रका व्यक्तिहरूसँग बुझ्ने काम भइरहेको छ, अध्ययन गरिसकेपछि लगानी गर्न आह्वान गरिनेछ’, उनले भने । यसमा सरकारको पनि सहयोग आवश्यक पर्ने उनले बताए । ‘सरकारलाई लगानीमैत्री नीति तथा वातावरण निर्माण गर्न पटकपटक आग्रह गरे पनि सुनुवाइ नभएपछि हामी एक्ताबद्ध भएर सामूहिक लगानी गरेर देखिने काम गर्न थालेका हौँ’, अध्यक्ष घिमिरेले भने ।

महासंघका उपाध्यक्ष दीपक कँुवरले जग्गा तथा आवास व्यवसाय उद्योगको पनि उद्योग भए तापनि सरकारले उद्योगको मान्यता नदिएको बताए । ‘उद्योगको मान्यता दिनुपर्ने भए पनि हामीलाई जग्गा माफिया भन्ने गरिन्छ’, उपाध्यक्ष कुँवरले भने । सरकारले निजी क्षेत्रले लगानी गर्ने वातावरण वनाउनु पर्ने भए पनि त्यस्तो अवस्था नभएको उनले बताए । राज्यले आफैँले व्यवसाय गर्न नहुने बताए । राज्यले नीति बनाउने र निजी क्षेत्रले व्यवसाय गर्ने बताउँदै उनले त्यही व्यवसायबाट राजस्व सङ्कलन गरेर राज्य सञ्चालन गर्नुपर्ने उनको धारणा थियो ।

‘सरकारको नीतिका कारण निजी क्षेत्र समस्यामा परेको छ’, उनले भने, ‘नीति नियम राम्रो भए लगानी गर्न कुनै समस्या छैन ।’ सरकारको नीति व्यवसायी र लगानी मैत्री भए व्यवसायमा लगानी गर्न कुनै समस्या नहुने बताउँदै उनले १०÷१५ वर्षमै देशमा विकास गर्न सकिने बताए । ‘इच्छा शक्ति भए सबै काम हुन्छ तर त्यस्तो अवस्था सरकारले निर्माण गर्न सकेको छैन’, उनले भने, ‘जसका कारण देश विकासको बाटो पकड्न सकेको छेन ।’

देशमा रहेको प्राकृतिक स्रोत तथा धार्मिक सम्पादको समेत उचित सदुपयोग गर्न नसकिएको उनको भनाइ थियो । ‘हामीले भएका स्रोत साधनको प्रयोग गर्न समेत सकेका छैनौँ’, उनले भने । शाहस र आँट गरेर अगाडि बढे सबै सम्भावनाले सार्थकता पाउने उनले बताए । लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्वस्वास्थ्य मन्त्री राजु खनालले पछिल्लो पुँजीको परिचालन गरेर अर्थतन्त्र चलायमान गराउनु पर्ने बताए ।

देशमा धेरै सम्भावना रहेको भन्दै यसको सदुपयोग गरेर विकास निर्माणका काम गर्नुपर्ने बताए । राज्यले लगानीमैत्री वातावरण निर्माण गर्नुपर्ने बताउँदै उनले भने, ‘प्रदेशमा लगानी भित्राउन हामीले आफ्नो तर्फबाट सहयोग गर्न तयार छौँ’, खनालले भने । पछिल्लो समय जग्गा तथा आवासीय व्यवसाय शिथिल भएको भन्दै यसलाई चलायमान बनाउन सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले जिल्लाको विकासमा सबैको सहयोग आवश्यक रहेको बताए । राज्यले मात्र विकास गर्न नसक्ने भन्दै उनले यसमा निजी क्षेत्रको सहयोग आवश्यक पर्ने बताए । यसैगरी तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख टीकाराम खड्काले कोभिडले थला परेको अर्थतन्त्र चलायमान बन्न नसकेको बताए ।

सरकारले लक्ष्य अनुसार राजस्व सङ्कलन गर्न नसकेको बताउँदै उनले यस्तो अवस्थाले देशमा आर्थिक समस्या परेको बताए । तुलसीपुर उपमहानगर एकीकृत बस्ती विकासमा अगाडि बढेको उनले बताए । व्यवस्थित बस्ती विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्न आफूहरू तयार रहेको बताउँदै उनले निजी क्षेत्रलाई सहकार्य गर्न समेत आह्वान गरे । कार्यक्रममा राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले जग्गाको व्यवस्थापन गर्दा कृषियोग्य जमिनको व्यवस्थापन गर्न जरुरी रहेको बताए । खेती गर्ने, आवासीय, उद्योगका लागि जग्गा छुट्याएर मात्रै काम अगाडि बढाउनु पर्ने उनको सुझाव थियो ।

प्रदेश सरकारले बनाएको व्यवस्थित सहर निर्माणको गुरुयोजना कार्यान्वन हुन नसकेको बताउँदै अध्यक्ष विष्टले बजेट अभावका कारा सरकारले कार्यान्वनमा लैजान नसकेको बेला निजी क्षेत्रलाई यसमा लगानी गर्न आग्रह गरे । यसैगरी घोराही उपमहानगरपालिका प्रवक्ता राममणि पाण्डेले सहरमुखी बसाइँ सराइलाई रोक्न व्यवर्थित रूपमा आवासीय क्षेत्र निर्माण गरेर सेवा दिनुपर्ने बताए । अव्यवस्थित बसोबासले कुरुप बनाउने भन्दै यसतर्फ सचेत हुनु पर्ने उनले बताए ।

कार्यक्रममा लुम्विनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका सिइओ छविराज पोख्रेलले व्यवस्थित सहरका लागि निर्माण गरिएको गुरुयोजनाबारे जानकारी गराएका थिए । कार्यक्रममा सुकुमबासी समस्या समाधान आयोगका जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेत, मालपोत कार्यालय दाङका प्रमुख कमलप्रसाद पौडेल, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त जोशी, स्वर्गद्वारी नगरपालिका उपाध्यक्ष मिनराज राना, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन, लायन्स क्लब अफ घोराही सिटीका अध्यक्ष ओविन्द्र महरालगायतले भनाइ राखेका थिए । संघका अध्यक्ष श्रीधर महराको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष नारदमणि पोख्रेलको स्वागत गरेका थिए भने सहजीकरण राशी रिजालले गरेकी थिइन् ।

पोख्रेलको नेतृत्वमा नयाँ कार्यसमिति

पहिलो धिवेशनले रामप्रसाद पोख्रेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको बरिष्ठ उपाध्यक्षमा दुर्गाबहादुर खड्का, उपाध्यक्षमा द्र्रोणराज पाण्डे, महासचिवमा बालाराम पाण्डे, सचिवमा विनय घिमिरे, कोषाध्यक्षमा रेशमलाल गिरी छन् । यसैगरी सदस्यमा गोविन्दप्रसाद देवकोटा, मेघराज खड्का, अभियान बस्नेत, दीलिप खनाल, झुप्पलबहादुर केसी, नरेश बुढा मगर, दीपेन्द्र पुन मगर, डिल्लीबहादुर भण्डारी, सुनिल पाण्डे र गन्जबहादुर विष्ट रहेका छन् ।