यादव गिरी
शिक्षा मानव अधिकारको मुल आधार हो । सन् १९४८ मा संयुक्त राष्ट्रसंघको मानव अधिकार घोषणापत्रले शिक्षालाई सबैको अधिकारको रुपमा मान्यता दिएको थियो ।
नेपालले पनि संविधान २०७२ मा प्रत्येक नागरिकलाई आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक सुनिश्चितता गरेको छ । यद्यपि शिक्षामा समावेशीकरणको पूर्ण कार्यान्वयन अझै चुनौतीपूर्ण छ ।
समावेशी शिक्षाको अवधारणा
समावेशी शिक्षा भन्नाले सबै विद्यार्थी–तिनीहरुको शारीरिक, मानसिक, सामाजिक, आर्थिक, जातीय वा भाषिक विविधता जस्तोसुकै भए पनि उनीहरुलाई एउटै कक्षाकोठामा समान अवसर र पहुँचसहित शिक्षामा सहभागी गराउनु हो । यो अवधारणाले सबै बालबालिकालाई समानरुपमा सिक्ने अवसर प्रदान गर्दछ, जसले सामाजिक समावेशिता, समानता र सहिष्णुताको भावना विकास गर्छ । समावेशी शिक्षा केवल एउटा शैक्षिक मोडेल मात्र होइन, यो शिक्षा प्रणालीको एउटा रुपान्तरणात्मक दर्शन हो । जसले विद्यालयलाई यस्तो ठाउँ बनाउँछ जहाँ कसैलाई छुट्याउने होइन, सबैलाई समेट्ने दृष्टिकोणबाट व्यवहार गरिन्छ ।
यसले कुनै विशेष वर्ग वा अवस्था भएका बालबालिकाको मात्रै कुरा उठाउँदैन, बरु सबै प्रकारका विद्यार्थी–जुनसुकै सामाजिक, भाषिक, जातीय, धार्मिक, आर्थिक वा भौगोलिक पृष्ठभूमिका हुन्– उनीहरु सबैको आवश्यकतालाई ध्यानमा राखेर शिक्षण विधि अपनाउन जोड दिन्छ ।
नेपाल जस्तो बहुजातीय, बहुभाषिक र सांस्कृतिक विविधता भएको देशमा समावेशी शिक्षा अत्यन्तै महङ्खवपूर्ण छ । यहाँका बालबालिका फरक फरक सामाजिक परिवेश, मातृभाषा, भौगोलिक अवस्था, आर्थिक स्थिति र क्षमता लिएर विद्यालय आउँछन् । कसैले नेपाली राम्रोसँग बुझ्दैनन्, कसैलाई देख्न वा हिँड्न गाह्रो हुन्छ, कसैको घर टाढा छ, त कसैलाई घरमा पढ्ने वातावरण छैन । यस्तो अवस्थामा सबैलाई एउटै किसिमको शिक्षा दिँदा धेरै विद्यार्थी पछि परिरहेका छन् । त्यसैले समावेशी शिक्षा आवश्यक छ, जसले हरेक बालबालिकाको आवश्यकता बुझेर, उनीहरुको गतिलाई मिलाएर, उपयुक्त विधि र सामग्री प्रयोग गरेर सिकाउने काम गर्छ । समावेशी शिक्षाले विविधतालाई समस्या वा चुनौतीको रुपमा होइन, बरु शक्ति र अवसरको स्रोतको रुपमा हेर्छ ।
विविध विद्यार्थीहरुको उपस्थिति शिक्षण–सिकाइलाई अझ जीवन्त, गहिरो र सजीव बनाउँछ । जब शिक्षकले वर्गको विविधतालाई समेट्ने शैलीमा पढाउँछन्, तब सबै विद्यार्थी सिक्न सक्रिय हुन्छन्, उनीहरुको आत्मबल बढ्छ र सहकर्मीबिच आपसी सम्मान तथा सहयोगको भावना बढ्छ ।
समावेशी शिक्षाको व्यावहारिक पक्ष
समावेशी शिक्षा केवल विद्यालय भनौ गरेर पूरा हुँदै, यसले विद्यार्थीको शिक्षामा पहुँच, कक्षा सहभागिता र सिकाइ उपलब्धि सुनिश्चितता गर्नुपर्छ । यसको सफल कार्यान्वयनका लागि शिक्षण प्रणालीले यी तीन पक्षलाई केन्द्रमा राख्नुपर्छ ः
क) पहुँच (Access) :
सबै बालबालिकाले विद्यालय जान सकून्, कुनै भौतिक, आर्थिक वा सामाजिक बाधाले तिनीहरुलाई रोक्न नपरोस् । उदाहरणका लागि, अपाङ्गता भएका विद्यार्थीका लागि ¥याम्प, शौचालय, सहयोगी उपकरण, यातायात सेवा आदि हुनु आवश्यक छ ।
ख) सहभागिता (Participation):
विद्यार्थी शारीरिक रुपमा मात्र होइन, भावनात्मक र सामाजिक रुपमा पनि कक्षा गतिविधिमा सक्रिय रहून् । उनीहरुलाई बोल्न, समूहमा काम गर्न, विचार व्यक्त गर्न र निर्णय लिन प्रेरित गरिनुपर्छ ।
ग) उपलब्धि (Achievement) :
प्रत्येक विद्यार्थीले आफ्नो क्षमता अनुसार सक्ने अवसर पाओस् र उनीहरुको सिकाइमा सुधार देखियोस् । मूल्याङ्कन प्रणाली पनि समावेशी हुनुपर्छ, जसले सबै विद्यार्थीको सिकाइ यात्रा कदर गर्छ ।
शिक्षण पद्धति र पाठ्यक्रम
समावेशी शिक्षामा लचिलो पाठ्यक्रम, अनुकूल शिक्षण विधि र विविध मूल्याङ्कन प्रविधि आवश्यक हुन्छ । सबै विद्यार्थी एउटै पद्धतिबाट सिक्न सक्दैनन् । कोही दृश्य सामग्रीबाट सजिलोसँग सिक्छन् भने कोही श्रव्य माध्यमबाट । कोही समूहमा काम गर्दा सिक्छन्, त कोही एक्लै अभ्यास गर्दा । यस्तो विविधता सम्हाल्न शिक्षकमाथि ‘Differentiated Instruction’ अर्थात् विभेदित शिक्षण पद्धति अपनाउने जिम्मेवारी पर्छ ।
उदाहरणका लागि एउटा कविता सिकाउने बेलामा शिक्षकले त्यो कविता पढेर सुनाउन सक्छन्, त्यसको भिडियो देखाउन सक्छन्, विद्यार्थीलाई अभिनय गराउन सक्छन् वा त्यसमा आधारित चित्र बनाउन लगाउन सक्छन् । यसरी एउटै विषयवस्तु बहुमाध्यमबाट प्रस्तुत गर्दा सबै खालका विद्यार्थी समेटिन्छन् । समावेशी शिक्षा केवल शिक्षक र विद्यार्थीबिचको सम्बन्धमा सीमित हुँदैन । यसमा विद्यालय प्रशासन, अभिभावक, समुदाय, स्थानीय सरकार, र नीतिनिर्माताहरु सबैको सहकार्य अपरिहार्य हुन्छ । विद्यालयले अभिभावकसँग नियमित संवाद राख्नुपर्छ, समुदायमा जनचेतना फैलाउनु पर्छ र नीति–कार्यान्वयनबिचको खाडल हटाउन स्थानीय निकायहरुसँग सहकार्य गर्नुपर्छ ।
उदाहरणका लागि यदि कुनै विद्यालयमा श्रवणदोष भएका विद्यार्थी छन् भने त्यो विद्यालयले श्रवण सहायक यन्त्रको व्यवस्था गर्न, शिक्षकलाई तालिम दिन र अभिभावकसँग समन्वय गरेर घरमै पनि सिकाइको निरन्तरता कायम गर्न पहल गर्नुपर्छ । यसर्थ समावेशी शिक्षा भन्ने वित्तिकै ‘कमजोर विद्यार्थीलाई मात्र हेर्ने’ दृष्टिकोण हो भनेर बुझ्नु भुल हो । यो त शिक्षाको सार्वभौमिक मूल्य–समानता, सहभागिता, मानव अधिकार र सामाजिक न्यायलाई व्यवहारमा उतार्ने माध्यम हो । शिक्षा कसैको लागि सुविधा होइन, अधिकार हो ।
त्यसैले सबै बालबालिका, जसको भाषा, संस्कृति, शारीरिक अवस्था वा पारिवारिक पृष्ठभूमि जे भए पनि उनीहरुलाई एउटै कक्षामा सम्मानका साथ सिक्ने वातावरण दिनु नै समावेशी शिक्षाको अभिप्राय हो । अन्ततः, जब विद्यालयले सबैलाई स्वागत गर्छ, सबैका आवश्यकता बुझ्छ र सबैका लागि सिकाइ सुनिश्चितता गर्छ, तब मात्र त्यो विद्यालय समावेशी हुन्छ । र यस्ता विद्यालयहरुको विस्तारसँगै हाम्रो समाज पनि बढी सहिष्णु, न्यायपूर्ण र समानतामूलक बन्नेछ ।
नेपालको समावेशी शिक्षा नीति
नेपाल सरकारद्वारा शिक्षालाई सबै नागरिकका लागि पहुँचयोग्य, गुणस्तरीय र समावेशी बनाउने उद्देश्यका साथ विभिन्न नीतिगत पहलहरु गरिएका छन् । समावेशी शिक्षालाई व्यवहारमा ल्याउने प्रयास अन्तर्गत अपाङ्गता भएका, आर्थिक वा सामाजिक रुपमा सीमान्तकृत, भाषा वा संस्कृति अनुसार फरक तथा अन्य विविध पृष्ठभूमिका बालबालिकालाई एउटै शिक्षा प्रणालीभित्र समेट्ने योजनाहरु बनाइएका छन् ।
नेपाल सरकारले समावेशी शिक्षालाई संस्थागत गर्न अपाङ्गता भएका व्यक्तिका लागि समावेशी शिक्षा नीति, २०७३ ल्याएको थियो । यस नीतिको मुल उद्देश्य भनेको अपाङ्गता भएका बालबालिकालाई पृथक वा छुट्टै विद्यालयमा होइन, मुख्य प्रवाहको शिक्षण प्रणाली (mबष्लकतचभबm भमगअबतष्यल) मा सहभागी गराउनु हो ।
यसले अपाङ्गता भएका विद्यार्थीहरुलाई पनि अन्य सबै बालबालिकासँगै एउटै कक्षामा पढ्ने अवसर दिने, उनीहरुको आवश्यकतालाई सम्बोधन गर्ने, सहायक प्रविधि तथा विशेष शिक्षण सहयोग प्रदान गर्नेलगायतका प्रावधान समेटेको छ । त्यसपछि, राष्ट्रिय शिक्षा नीति, २०७६ ले समावेशी शिक्षाको परिधिलाई अझ फराकिलो बनाउँदै समावेशी तथा विशेष शिक्षा दुवैलाई समेट्ने प्रयास गरेको छ । यस नीतिमा शैक्षिक समावेशीकरणलाई सम्पूर्ण शिक्षातहमा लागु गर्ने, शारीरिक पहुँच, शैक्षिक सामग्री, तालिम प्राप्त शिक्षक र आवश्यक प्रविधिको उपलब्धता सुनिश्चितता गर्ने भनिएको छ तर यस नीतिको एउटा कमजोर पक्ष भनेको ‘समावेशी शिक्षा’ र ‘विशेष शिक्षा’ बिचको स्पष्ट भिन्नता नजनाइनु हो ।
विशेष शिक्षा भन्नाले छुट्टै वा संरक्षित वातावरणमा विशेष आवश्यकताहरु भएका विद्यार्थीलाई छुट्टै विधिबाट पढाउने अभ्यासलाई जनाउँछ । जब कि समावेशी शिक्षा भनेको त्यस्ता विद्यार्थीहरुलाई पनि नियमित कक्षामा समावेश गरेर शिक्षण गर्ने धारणा हो । यी दुई अवधारणाबिचको कार्यान्वयन तहमा अन्योलले गर्दा नीति प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न चुनौती उत्पन्न भएको छ । नेपालको समावेशी शिक्षा नीति घोषणा र कागजी योजनामा सशक्त देखिए पनि कार्यान्वयनमा नीति र व्यवहार बिचको अन्तर, शिक्षकको तयारी, पूर्वाधार अभाव, समाजमा पूर्वाग्रहलगायत विविध चुनौतीहरु देखिन्छन ।
र, पनि समावेशी शिक्षा नेपालको संविधानद्वारा प्रत्याभूत हक हो, र यसलाई साकार तुल्याउन बनाइएका नीतिहरु सकारात्मक दिशातर्फका पहल हुन् तर नीतिलाई व्यवहारमा उतार्न स्पष्ट मार्गदर्शन, अन्तरसंस्थागत समन्वय, स्थानीय तहको संलग्नता, पर्याप्त बजेट विनियोजन, जनशक्ति विकास र सामाजिक दृष्टिकोणमा रुपान्तरण आवश्यक छ । नीति निर्माण मात्र पर्याप्त होइन, त्यो नीति ‘विद्यालयको कक्षाकोठा’सम्म पुगेर परिणाममुखी बन्नु पर्छ । समावेशी शिक्षाको सार्थक कार्यान्वयनले मात्र शिक्षा सबैका लागि हुनेछ र त्यसैबाट समतामूलक समाजको निर्माण सम्भव हुनेछ ।
कक्षाकोठामा समावेशीकरण
शिक्षण सिकाइको मुख्य केन्द्र कक्षाकोठा हो । यहाँ विद्यार्थीहरु मात्र पढ्दैनन्, उनीहरु बुझिन्छन्, स्वीकारिन्छन् र भविष्यका लागि सशक्त नागरिकका रुपमा आकार लिइरहेका हुन्छन् । त्यसैले कक्षाकोठा व्यवस्थापन समावेशी हुनु अत्यन्त आवश्यक छ–जहाँ कुनै विद्यार्थी जात, भाषा, क्षमता, लिङ्ग वा भौतिक अवस्था अनुसार विभेदित नहोस्, बरु सबैका लागि समान अवसर, सम्मान र सहभागिता सुनिश्चित होस् ।
कक्षाकोठा सबै विद्यार्थीका लागि स्वागतयोग्य, सुरक्षित, प्रेरणादायक र उत्प्रेरक हुनुपर्छ । अपाङ्गता भएका, भाषिक वा सांस्कृतिक रुपमा फरक विद्यार्थीलाई सहज महसुस हुने वातावरण तयार पार्नु समावेशी शिक्षाको आधारशीला हो । यस्तो वातारणले सिकाइप्रतिको रुचि र आत्मविश्वास बढाउँछ । कक्षा गतिविधिमा सबै विद्यार्थीको समान सहभागिता अत्यावश्यक छ ।
कुनै विद्यार्थी किनारा लाग्न नपरोस्, कसैको आवाज नथुनियोस् भन्ने सुनिश्चितता गर्नु शिक्षकको कर्तव्य हो । सहभागी हुने अवसर बराबरी रुपमा वितरण गर्नु, सहकार्यमा आधारित कार्यहरु गराउनु र सबैको योगदानको कदर गर्नु समावेशी शिक्षणको अभिन्न हिस्सा हो । शिक्षा सबैका लागि समान हुनु भनेको एउटै शिक्षण शैली सबैमा लागु गर्नु होइन ।
शिक्षण सामग्री र कार्य पद्धति विविध क्षमता, सिकाइ शैली र भाषिक पृष्ठभूमि अनुसार अनुकूल हुनुपर्छ । उदाहरणका लागि, दृष्टिविहीन विद्यार्थीका लागि ब्रेल सामग्री, श्रवण अशक्तका लागि सङ्केत भाषा प्रयोग वा दृश्य सामग्रीको प्रयोग र धीमा सिक्ने विद्यार्थीका लागि चरणबद्ध अभ्यास सामग्री अत्यावश्यक हुन्छ । कक्षाकोठा मात्र होइन, सम्पूर्ण विद्यालय संरचना नै अपाङ्गमैत्री हुनुपर्छ ।
पहुँचयोग्य शौचालय, फराकिलो ढोका, श्रवण सहायक यन्त्र, दृश्य सङ्केतलगायतका पूर्वाधारको उपस्थिति समावेशी शिक्षाको प्रारम्भिक आवश्यकता हो । शिक्षण केवल ज्ञान हस्तान्तरण होइन, यो भावनात्मक, सामाजिक र सांस्कृतिक संवेदनशीलता समेट्ने प्रक्रिया हो । समावेशी शिक्षण विधिबाट प्रत्येक विद्यार्थीको व्यक्तिगत आवश्यकता, सिक्ने गति, पृष्ठभूमि र रुचिलाई समेट्ने प्रयास गरिन्छ ।
तसर्थ समावेशी र लचिलो पाठ्यक्रम, शिक्षक क्षमता विकास, सहायक प्रविधिको प्रयोग, समूहगत सिकाइ र सहकार्य, विद्यार्थी मूल्याङ्कनमा समावेशीकरण ररहन आवश्यक देखिन्छ । साथै लचिलो मूल्याङ्कन प्रणाली, समान अवसरको ग्यारेन्टी, निरन्तर र प्रोत्साहनात्मक फिडब्याक प्रदान गर्नु आवश्यक हुन्छ, जसले तिनको आत्मविश्वास र सुधारप्रतिको चाहना बढाउँछ ।
समावेशी शिक्षाका चुनौतीहरु र समाधान
नेपालमा समावेशी शिक्षाको अवधारणा फैलिँदै गरे तापनि कार्यान्वयनमा पूर्वाधारको अभाव, शिक्षक क्षमता अभाव, सामाजिक पूर्वाग्रह, नीति कार्यान्वयनमा कमजोरी जस्ता विविध चुनौतीहरु देखिरहँदा, भौतिक पूर्वाधार विकास, शिक्षकको नियमित तालिम, समाजिक जागरुकता अभिवृद्धि, नीति र व्यवहारबिचको समन्वय गर्दै समावेशी शिक्षा कार्यान्वयनमा देखिएका यी चुनौतीहरुलाई समाधानमुखी बनाउन सकिन्छ ।
अन्त्यमा, समावेशी शिक्षा कुनै विशेषवर्गका लागि मात्रै होइन, यो सबैको लागि हो । जहाँ कसैलाई पनि पछाडि छोडिँदैन । शिक्षा प्रणालीको समावेशी रुपान्तरणले मात्र समतामूलक, न्यायपूर्ण र दिगो समाजको निर्माण सम्भव हुन्छ । कक्षाकोठाबाट सुरु हुने यो परिवर्तन अभियानमा सरकार, शिक्षक, अभिभावक, विद्यार्थी र समाज सबैको भूमिका अनिवार्य हुन्छ । साच्चै भन्नुपर्दा, शिक्षा तब मात्र सार्थक हुन्छ, जब सबैले सिक्न पाउने अधिकारलाई सम्मान गरिन्छ । समावेशी शिक्षा त्यो बाटो हो, जहाँ विविधता बाधा होइन, शक्ति हो ।