प्रतिरोधी महिलावादी आन्दोलनमार्फत् सामाजिक रूपान्तरण

गोरक्ष समाचारदाता
तुलसीपुर, ४ वैशाख । मानवीय सामाजिक सोच र समाजमा परिवर्तन आए मात्र लैङ्गिक विभेद कम हुने एक कार्यक्रमका सहभागीले बताएका छन् ।

प्रतिरोधी महिलावादी आन्दोलनमार्फत् सामाजिक रूपान्तरण परियोजनाको जानकारी बैठकमा सहभागीले सामाजिक सोच र समाज परिवर्तन नभएसम्म लैङ्गिक विभेदको अत्य नहुने बताएका हुन् । ओरेक नेपाल दाङ र जनचेतना महिला सामुदायिक संस्थाको आयोजना युके इन्टरनेसनल डेभलपमेन्ट, हाम्रो सहास र युएन ओमनको सहयोगमा तुलसीपुरमा भएको कार्यक्रममा लैङ्गिक विभेद अन्त्यका लागि मानसिक, सामाजिक जागरणका साथै लोकतान्त्रिक सोचको विकास हुनुपर्ने बताएका थिए ।

ओरेक नेपालकी संस्थापक अध्यक्ष डा. रेनु अधिकारीको अध्यक्षता तथा जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माको प्रमुख आतिथ्यतामा एवम् तुलसीपुर उपमहानगरपालिका प्रमुख टीकाराम खड्काको विशिष्ट अतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले महिलाहरू नेतृत्व तहमा नआउँदासम्म समग्र विकास सम्भव नहुने बताए । उनले नेपालको संविधानले महिलाहरूको सहभागिता सुनिश्चितता गर्न कानूनी व्यवस्था तथा समाजमा विद्यमान लैङ्कि विभेद अन्त्य गर्न संविधानले मार्गनिर्देश गरिसकेको बताए ।

सामाजिक रूपान्तरणका लागि काम गर्ने संस्थाले मार्गनिर्देशकको भूमिका खेल्ने भए पनि यसको अपनत्व स्थानीय तहले लिनुपर्ने उनको भनाइ थियो । उनले दाङमा महिलाको सुरक्षाका लागि ‘सेफ हाउस’ स्थापनाको आवश्यकता औल्याउँदै त्यसका लागि स्थानीय सरकारले बजेट विनियोजन गर्न सुझाए ।

कार्यक्रममा विशिष्ट अतिथि तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख खड्काले महिलाको नेतृत्वमा सशक्त भूमिका आवश्यक रहेको बताए । उनले प्रतिनिधि सभामा ३३ प्रतिशत महिलाको सहभागिता अनिवार्य बनाउने संवैधानिक प्रावधानको चर्चा गर्दै त्यो अनुपात सबै निकायमा कार्यान्वयन हुनुपर्नेमा जोड दिए । नगर प्रमुख खड्काले स्थानीय तहमा न्यायिक समितिको गठन महिलाको न्याय प्राप्तिको सुनिश्चितताको लागि गरिएको भए पनि व्यवहारमा महिलाको अधिकार र मुद्दालाई प्राथमिकतामा नल्याउने प्रवृत्तिले निराशा सिर्जना गरेको बताए ।

उनले कार्यपालिका बैठकमा अनिवार्य रूपमा दुई जना महिला प्रतिनिधि रहने प्रावधान भए पनि ती प्रतिनिधिले महिला सशक्तीकरणसँग सम्बन्धित एजेन्डा उठाउन नसकेको बताए । ती महिला प्रतिनिधिले महिलाका मुद्दामा स्पष्ट एजेन्डासहित अब प्रस्तुत हुन अनुरोध गरे । महिला मुद्दामा एजेन्डा प्रस्तुत गरे बजेट विनियोजनको सुनिश्चितता गर्ने प्रतिबद्धता खड्काले व्यक्त गरे । कार्यक्रमको ओरेक नेपालकी संस्थापक अध्यक्ष डा. रेनुराज अधिकारीले प्रतिरोधी महिलावादी आन्दोलन कुनै एक समूहको मात्र नभई सबै महिलाको साझा आन्दोलन भएको बताइन् ।

उनले महिलाको अस्तित्व, आत्मसम्मान र अधिकारका लागि सङ्घर्ष आवश्यक रहेको भन्दै सामाजिक रूपान्तरणको मूल आधार महिलाको सक्रिय सहभागिता र नेतृत्व हुनुपर्ने बताइन् । ‘यो आन्दोलनले महिलाको अधिकार सुनिश्चितता गर्दै सामाजिक न्यायको जग मजबुत पार्ने काम गर्छ’, डा अधिकारीले भनिन् । उनले स्थानीय सरकार, नागरिक समाज र सम्पूर्ण सरोकारवालाबिच समन्वयमा दीगो र प्रभावकारी रूपान्तरण सम्भव भएको बताइन् ।

अहिले महिला मात्र नभई हिंसामा युवा, पुरुष, महिला सबै परेको बताइन् । ‘अझै पनि घरबाट महिला पाखा लगाइन्छ, महिला मात्र होइन युवा–पुरुष पनि पाखा लगाएको अवस्था छ’, डा अधिकारीले भनिन् ।बैठकमा सहभागीले समाज रूपान्तरणका लागि प्रतिरोधी महिलावादी आन्दोलनलाई संगठित, सचेत र सामूहिक रूपमा अघि बढाउनु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरी, इलाका प्रहरी कार्यालयका प्रमुख अनिल ठकुरी, दलित महिला संघकी अध्यक्ष युवा करारा, गैरसरकारी संस्था महासंघका अध्यक्ष भागिराम चौधरी, महिला मानव अधिकार रक्षक सञ्जालकी अनिता पोखरेललगायतले जबसम्म सामाजिक सोचमा परिवर्तन आउँदैन तबसम्म समाजमा अभ्यासात्मक परिवर्तन नहुने बताएका थिए ।

कार्यक्रममा प्रभा पौडेलले प्रतिरोधी महिलावादी आन्दोलनबारे विस्तृत जानकारी दिँदै पृष्ठभूमि, उद्देश्य र भविष्यका योजना प्रस्तुत गरेकी थिइन् । उनले हाम्रो साहस प्रयोजनाको विषयमा जानकारी गराएकी थिइन् । कार्यक्रममा जनप्रतिनिधि, महिला मानव अधिकारकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधि, प्रहरी प्रशासन, पत्रकारलगायत सरोकारवाला निकायका प्रतिनिधिहहरूको सहभागिता रहेको थियो । जनचेतना महिला सामुदायिक संस्थाकी अध्यक्ष कृष्णा चौधरीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण ओरेक नेपाल दाङकी पूजा विकले गरेकी थिइन् ।