कृषिमा आधारित उद्यमलाई प्रोत्साहन : मुख्यमन्त्री आचार्य

गोरक्ष समाचारदाता
दाङ,४ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारले ल्याउने नीति तथा कार्यक्रम कृषि क्षेत्रमा संलग्न उद्यमीलाई प्रोत्साहन गर्ने गरी प्राथमिकतामा राखिएको बताएका छन् । राप्ती चेम्बर अफ कमर्सको तेस्रो साधारणसभा तथा अधिवेशन एवम् स्मारिका विमोचन कार्यक्रमलाई शनिवार दाङको सिसहनियाँमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले कृषि क्षेत्रको विकास र उद्यमीलाई प्रवर्धन गर्ने नीति सरकारको रहेको स्पष्ट पारेका छन् ।

‘हामीले ल्याउँदै गरेको नीति तथा कार्यक्रममा कृषिमा संलग्न उद्यमीलाई अझ प्रेरणा प्रदान गर्ने र सहयोग गर्ने लक्ष्यसहित कार्यक्रम अघि बढाइएका छन्’, उनले भने, ‘तपाईँहरूको भावना बुझेर, भावना छुने गरी योजनालाई कार्यक्रममार्फत् कार्यान्वयन गर्दैछौँ । उद्यमीहरूका निम्ति उद्यमीमैत्री कार्यक्रमहरू अघि बढाउने सोच र लक्ष्यसहित काम गरिरहेका छौँ ।’ मुख्यमन्त्री आचार्यले व्यवसायी तथा उद्यमीसँग प्रदेश सरकार सधैँ साथमा रहेको बताउँदै उच्च मनोबलका साथ व्यवसायमा दत्तचित्त भएर अघि बढ्न आह्वान गरेका थिए ।

उनले आधारभूत वर्गलाई उत्पादन कार्यसँग नजोडिएसम्म मुलुकले समृद्धि हासिल गर्न नसक्ने स्पष्ट पार्दै स्थानीय उत्पादन बढाउन र त्यसमा आधारभूत वर्गको अनिवार्य सहभागिता आवश्यक रहेको धारणा व्यक्त गरेका थिए । ‘हामी उत्पादन कार्यसित नजोडिएसम्म मुलुकको विकास सम्भव छैन । गाउँको विकास पनि सम्भव छैन । यो कुरा सरकारले राम्रोसँग बुझेको छ’, मुख्यमन्त्री आचार्यले भने’, ‘हाम्रा आधारभूत तहका जनताको जीवनस्तर माथि उठाएनौँ भने मुलुकको समग्र विकास सम्भव छैन ।’

व्यवसायमैत्री वातावरण निर्माणमा प्रदेश सरकारले भूमिका बढाएको उल्लेख गर्दै उनले व्यवसायको विकासका लागि बनाइएका कानून, नीति, नियम, कार्यविधिहरू बाधक भए सुधार गर्न सरकार तयार रहेको जानकारी गराएका थिए । प्रदेश राजधानी क्षेत्रको विकासका निम्ति वर्तमान सरकार गम्भीर रहेको र लगानीको खोजी भइरहेको जानकारी दिँदै उनले अनावश्यक हल्ला, भ्रम र कुप्रचार फैलाउनेभन्दा राजधानी निर्माणमा हातेमालो गरेर अघि बढ्नुपर्ने समय आएको उल्लेख गरेका थिए ।

मुख्यमन्त्री आचार्यले समस्याहरूलाई राम्रोसँग बुझेको र त्यसको समाधानका लागि गम्भीर भएर काम अघि बढाइएको स्पष्ट पारेका थिए । कार्यक्रममा राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले कृषि र उद्यम क्षेत्रको विकास अत्यावश्यक रहेको बताएका थिए । चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टंकप्रसाद पोखरेलले स्थानीय उत्पादनको बजारीकरणका लागि निजी क्षेत्र तयार रहेको उल्लेख गर्दै प्रदेश राजधानी क्षेत्रलाई नयाँ ढङ्गले अघि बढाउन निजी क्षेत्रले सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष पोखरेलले स्थानीय उत्पादनको बजारीकरणका लागि निजी क्षेत्र तयार रहेको उल्लेख गर्दै प्रदेश राजधानी क्षेत्रलाई नयाँ ढङ्गले अघि बढाउन निजी क्षेत्रले सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले स्वदेशी तथा विदेश लगानीको वातावरण सरकारले तयार गर्नुपर्ने बताए । निजी क्षेत्रको लगानीबिना मुलुक समृद्ध बन्न नसक्ने जिकिर गरे । राप्ती चेम्बर अफ कमर्सका अध्यक्ष नेमलाल शर्मा बेल्वासेको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जाजरकोट भुकम्प पीडितका लागि राहत सङ्कलन तथा वितरणमा महत्वपूर्ण योजना पु¥याएको भन्दै देउखुरी टुडे डटकमसहित राहत सङ्कलनमा भूमिका खेल्ने अन्य अगुवाहरूलाई सम्मान गरिएको थियो ।

राप्ती गाउँपालिकाका ९ वटै वडाका कृषि र उद्यमलगायतका क्षेत्रमा उत्कृष्टता हासिल गर्ने उद्यमी तथा संस्था र जाजरकोट भूकम्प पीडितलाई राहत प्रदान गर्न राहत सङ्कलनकर्ता र स्मारिका प्रकाशनमा सहयोग गर्ने विज्ञापनदातालाई सम्मान गरिएको थियो । कर्मशका उपाध्यक्ष श्यामा रावतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा कर्मशका महासचिव वसन्त कँवरले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष अर्जुनकुमार क्षेत्रीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सो अवसरमा विभिन्न सांस्कृतिक प्रस्तुति र सडक नाटक प्रस्तुत गरिएको थियो । कार्यक्रमको सहजीकरण महिला चेम्बरका सचिव राधा पाण्डे र प्रेस सल्लाहकार ओमप्रकाश गुप्ताले गरेका थिए ।

नयाँ कार्यसमिति चयन

अधिवेशनले वसन्त कुवर क्षेत्रीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । जसको प्रथम उपाध्यक्षमा विष्णुप्रसाद सुवेदी, दोस्रो उपाध्यक्षमा लक्ष्मी पोख्रेल, महासचिवमा खेमराज अर्याल, कोषाध्यक्षमा अर्जुनकुमार क्षेत्री, सचिवमा गोविन्दबहादुर केसी र सहकोषाध्यक्षमा बालनन्दा आचार्य रहेका छन् ।
यसैगरी सदस्यहरूमा मोतिराम भट्टराई, अरुण केसी, कमल केसी, बालकृष्ण पोख्रेल, प्रेमलाल चौधरी, गणेशकुमार चौधरी, धनीराम चौधरी, मेनका पौडेल, कल्पना पुन र रेकम शर्मा निर्विरोध निर्वाचित भएका छन् । नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई चेम्बरका कानूनी सल्लाहकार तथा निर्वाचन समितिका संयोजक एवम् अधिवक्ता हरि बेलबासेले शपथ ग्रहण गराएपश्चात प्रमाणपत्र प्रदान गरेका थिए ।