नेपाल शिक्षक संघको ३६ औं स्थापना दिवस : रक्तदान, शिक्षक सम्मान र शुभकामना आदानप्रदान

हेमराज शर्मा

दाङ, ३ जेठ। नेपाल शिक्षक संघ दाङले आफ्नो ३६ औं स्थापना दिवस मनाएको छ। संघको स्थापना दिवस बैशाख ३० गते भएतापनि विद्यार्थीहरुको पठनपाठनलाई मध्यनजर गर्दै शनिवार स्थापना दिवस मनाएको हो।

शिक्षक संघ दाङका अध्यक्ष प्रकाश डाँगीको अध्यक्षता एवं नेपाली काङ्ग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले शिक्षा अभ्यासमा आधारित उपलब्धिमूलक शिक्षा आवश्यक भएको हुँदा आन्दोलनका मागमुद्दाहरु पनि विद्यार्थी र अभिभावकमुखी हुनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि डाँगीले अहिलेको समाज वास्तविक कुराहरु नबुझी लहडमा दौडने प्रवृत्ति बढीरहेकाले त्यस्ता समुदायलाई वास्तविक कुरा बुझाई लोकतन्त्रलाई संस्थागत गर्नमा पनि शिक्षकहरुको भूमिका अहम रहने बताए। शिक्षण पेशाबाट सेवानिवृत्त भएका शिक्षकहरुलाई अवको जीवन लोभ, मोह त्यागेर विशुद्ध सामाजिक सेवा भावले लाग्नका निमित्त आग्रह गरेका थिए।

नेपाली काङ्ग्रेस पार्टीको शुभेच्छुक संस्थाहरुमध्ये बौद्धिक र महत्वपूर्ण संस्था नेपाल शिक्षक संघ भएकाले आम निर्वाचनमा समयमा आफ्नो क्षेत्रबाट पनि सक्रिय भूमिका निर्वाह गर्नका लागि आग्रह गरेका थिए। कार्यक्रमका विशिष्ट अतिथि नेपाली काङ्ग्रेस दाङका सचिव एवं नेपाल शिक्षक संघ लुम्बिनि प्रदेशका संस्थापक अध्यक्ष अर्जुनकुमार योगीले पार्टीलाई सुधार गर्नुपर्ने दायित्व पनि शिक्षकहरुको नै भएकाले पार्टिको नेतृत्व कहिंकतै धर्मराएको महसुस भएमा रचनात्मक सुझावका माध्यमबाट साझा र जिम्मेवार पार्टी बन्ने अभियानमा लाग्न शिक्षकहरुलाई आग्रह गरेका थिए।

हरेक नेतृत्वको परीक्षा असहज परिस्थितिमा हुने भएकाले नेपाल शिक्षक संघ र महासंघ दाङको नेतृत्व अत्यन्तै चनाखो भई कार्य गरिरहेकाले काठमाण्डौं केन्द्रित आन्दोलनमा दाङले देखाएको बलियो उपस्थितिलाई लिएर नेतृत्वको प्रशंसा गर्दै अबका दिनमा विद्यार्थीहरुको पठनपाठनमा ध्यान केन्द्रित गर्न आग्रह गरेका थिए।

नेपाल शिक्षक संघ संघीय कार्यसमितिका पूर्व वरिष्ठ उपाध्यक्ष गोविन्दप्रसाद न्यौपानेले नेपाल शिक्षक संघको विगतको इतिहासलाई सम्झिंदै केन्द्रीय संघभन्दा पहिलेदेखि नै दाङमा शिक्षक संघले बुलन्द रुपमा आफ्ना गतिविधिहरु संचालन गरेको हुँदा सबैले होस्टेहैंसे गर्दै अघि बढ्नुपर्ने बताए। उनले सशक्त संघ निर्माण भएमा मात्र आवश्यक मागहरु पूरा गर्नका लागि सरकारलाई दबाब सिर्जना गर्न सकिने कुरामा जोड दिंदै अर्कोतर्फ शिक्षकलाई राज्यले तलब दिने भएको हुँदा संघमा आबद्ध सम्पूर्ण शिक्षकहरुले शिक्षण पेशालाई पहिलो दर्जामा राखेर इमानदारीका साथ शिक्षण गरी लक्षित सिकाइ उपलब्धि प्राप्त गर्न कुनै कसर बाँकी राख्न नहुने धारणा व्यक्त गरेका थिए।

नेपाल शिक्षक महासंघ राष्ट्रिय कार्यसमिति उपमहासचिव सुशिला सुवेदीले अनिवार्य तथा स्वेच्छिक अवकाश लिनुभई आजको कार्यक्रममा सम्मानित शिक्षक मित्रहरुलाई स्वास्थ्यले साथ दिएसम्म सामाजिक कार्यहरुमा अत्यन्तै सक्रियताका साथ लाग्नका निमित्त आग्रह गरेकी थिइन्। नेपाल शिक्षक संघ लुम्बिनि प्रदेशका उपाध्यक्ष रमेशकुमार पाण्डेयले शुभकामना मन्तव्य दिंदै नेपाल शिक्षक संघका संघीय अध्यक्ष लक्ष्मीकिशोर सुवेदी अत्यन्तै जुझारु, निडर, अडिग, बौद्धिक व्यक्तित्व भएकाले सहमति र सम्झौता कार्यान्वयनमा हुनेमा विश्वस्त रहेको बताए। सहमति कार्यान्वयन नभएमा फेरिपनि आन्दोलनमा जानुपर्ने विकल्प नभएको बताएका थिए।

कार्यक्रममा नेपाली काङ्ग्रेस दाङ क्षेत्र नं. २ का सभापति भिमप्रकाश खड्काले शुभकामना मन्तव्य दिनुहुँदै सबै पार्टीहरुका उच्च ओहदामा पुग्ने प्राय नेतृत्वहरु शिक्षकबाटै जानुभएकाले देश निर्माणमा शिक्षकहरुको ठूलो भूमिका भएको हुँदा गत आन्दोलनका क्रममा भएका जाहेज मागहरुलाई सरकारले अविलम्ब पूरा गर्नुपर्नेमा जोड दिएका थिए। नेपाल शिक्षक संघ दाङका अध्यक्ष युवराज बस्नेतले गत २९ दिने आन्दोलनमा सहभागी सम्पूर्ण संघ संगठनहरुमा आबद्ध शिक्षक कर्मचारीहरुलाई धन्यवाद दिंदै आन्दोलनको अन्त्यमा सरकारसँग भएका सम्झौताहरु लालमोहर नलागेसम्म ढुक्क हुने वातावरण नभएकाले बताएका थिए।

नेपाल शिक्षक संघ दाङको सल्लाहकारहरुका तर्फबाट देवा पौडेल, पूर्व शिक्षक, प्रजातन्त्र सेनानी संघ दाङका अध्यक्ष एवं सम्मानित व्यक्ति हरिप्रसाद सुवेदी “जरा”, पूर्व शिक्षक एवं शिक्षाप्रेमी सम्मानित व्यक्ति डिल्लीबहादुर डाँगी, नेपाल शिक्षक संघ लुम्बिनि प्रदेश सदस्यहरुका तर्फबाट साबित्रा आचार्य, सेवानिवृत्त सम्पूर्ण शिक्षकहरुका तर्फबाट निवृत्त शिक्षक रोमहर्ष खनाल, सबै पालिकाहरुको अध्यक्षहरुको प्रतिनिधित्व गर्दै राप्ती गाउँपालिका शिक्षक संघका अध्यक्ष मंगल चौधरीलगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रमका अवसरमा अनिवार्य एवं स्ववेच्छिक अवकाश लिएका ४७ जना सेवानिवृत्त शिक्षकहरु, प्रजातन्त्र सेनानी संघ दाङका अध्यक्ष हरिप्रसाद सुवेदी “जरा”, पूर्व शिक्षक एवं शिक्षाप्रेमी डिल्लीबहादुर डाँगीलाई टीका, खादा, माला र सम्मान पत्रले सम्मान गरिएको थियो। साथै कार्यक्रमका अवसरमा आयोजित बृहत रक्तदान कार्यक्रममा गणेशदत्त भट्ट, बालचन्द्र शर्मा, शमसेर नेपाली, लक्ष्मी न्यौपाने, दिलिप डाँगी, हेमन्त अधिकारी, नन्दबहादुर वली, महेन्द्र के.सी., निमबहादुर नेपाली, यादव शर्मा, कमल बहादुर खैकला मगर लगायतकाले रक्तदान गरेका थिए। नेपाल शिक्षक संघ दाङका सचिव अर्थ निशान्त आचार्यले धन्यवाद ज्ञापन र नेपाल शिक्षक संघ दाङका सचिव सुर्यबहादुर बस्नेतले कार्यक्रमको सहजीकरण गरेका थिए।