गुरुकुलद्वारा बालबालिकालाई मञ्च प्रदान

घोराही, ३ जेठ । गुरुकुल एकेडेमी घोराहीले विद्यालयमा अध्ययनरत साना बालबालिकाहरूको प्रतिभा प्रस्फुटन र आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले विशेष कार्यक्रमको आयोजना गरेको छ ।

‘साना बच्चाहरू मञ्चमा’ शीर्षकमा आयोजित उक्त कार्यक्रमले विद्यालय परिसरलाई उत्सवमय बनाएको थियो । कार्यक्रममा प्ले ग्रुपदेखि कक्षा ३ सम्मका बालबालिकाहरूले आफ्नो उमेरअनुसार कविता वाचन, छोटो भाषण, कथा, लोकगीत, अभिनय, जनजीवनसँग सम्बन्धित सन्देशमूलक प्रस्तुति तथा कक्षामा अध्ययन गरेका विषयवस्तुलगायत विविध गतिविधिमा सहभागिता जनाएका थिए ।

उनीहरूले अत्यन्त उत्साहका साथ आफूले सिकेका कुराहरू मञ्चमा प्रस्तुत गरेका थिए । विद्यालयका अध्यक्ष इ. अनन्तराज घिमिरेले बालबालिकाको सर्वाङ्गीण विकासका लागि पाठ्यपुस्तकीय ज्ञानसँगै व्यवहारिक सीपको विकास आवश्यक हुने बताए। उनका अनुसार यस प्रकारको कार्यक्रमले बालबालिकाको आत्मविश्वास बढाउनुका साथै प्रस्तुतीकरण क्षमता अभिवृद्धि गर्ने र भाषिक दक्षता सुधार्ने अवसर प्रदान गर्दछ ।

कार्यक्रममा शिक्षक, अभिभावक, स्थानीय समाजसेवी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो। सहभागी सबैले विद्यालयले लिएको यस पहलको सराहना गरेका थिए । अभिभावकहरूले बालबालिकालाई सानै उमेरदेखि मञ्चमा प्रस्तुत गराउने कार्यको प्रशंसा गर्दै, यसले भविष्यमा उनीहरूलाई सार्वजनिक मञ्चमा अझ सहज रूपमा प्रस्तुत हुन सहयोग पुग्ने विचार व्यक्त गरे। गुरुकुल एकेडेमीले भविष्यमा यस्ता कार्यक्रमलाई अझ नियमित र सृजनात्मक बनाउँदै लैजाने जनाएको छ ।

कार्यक्रम दुई सत्रमा आयोजना गरिएको थियो। उक्त अवसरमा गुरुकुल एकेडेमी लमहीकी मन्टेस्वरी संयोजक काँजल न्यौपाने, तुलसीपुर मन्टेस्वरी संयोजक लक्ष्मी श्रेष्ठ, गुरुकुल एकेडेमी लमहीका प्रधानाध्यापक सुरज खनाल र घोराहीका प्रधानाध्यापक डा. कृष्णराज डिसीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

पहिलो सत्रको कार्यक्रम मन्टेस्वरी संयोजक सुनिता रानी पुनको अध्यक्षता तथा विद्यालयका अध्यक्ष इ. अनन्तराज घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सहजीकरण शिक्षिका मियोना घर्तीले गरेकी थिइन् । त्यसैगरी दोस्रो सत्रको कार्यक्रम आधारभूत संयोजक रेशु राउतको अध्यक्षता तथा गुरुकुल लमहीका प्रधानाध्यापक सुरज खनालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सहजीकरण शिक्षिका मञ्जरी पुनले गरेकी थिइन् ।