बढ्दै सिकलसेलका बिरामी

गोरक्ष समाचारदाता
दाङ, ३ जेठ । परीक्षण र स्क्रिनिङको दायरा बढ्दै जाँदा दाङमा सिकलसेल एनिमियाका बिरामीको सङ्ख्या थपिँदै गएका छन् । मानव रगतमा पाइने रातो रक्तकणिकाको स्वरूप विकृत भएपछि लाग्ने सिकलसेल एनिमियाका बिरामी बढ्दै गएका छन् ।

पहिचान भएकामध्ये घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट तीन सय जना सिकलसेलका बिरामीले नियमित उपचार सेवा लिँदै आएका छन् । विशेष गरेर थारू समुदायमा देखापरेको यो रोग दाङमा एकजना गैरथारू समुदायका व्यक्तिमा पनि देखा परेको छ । शुक्रवार घोराहीमा लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालले आयोजना गरेको हेमोग्लोबिनोप्याथी सिकलसेल÷ बिटाथालेसिमिया÷हेमोफिलियालगायतबारे स्वास्थ्यकर्मी तथा सरोकारवालाको अभिमुखीकरणमा पहिचान गरिएका सिकलसेलका बिरामीको उपचार व्यवस्थित गरिएको भए पनि जिल्लामा सिकलसेलका बिरामीको यकिन तथ्याङ्क नहुँदा उपचारमा समस्या भएको राप्ती प्रादेशिक अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. रविन गौतमले बताए ।

उनका अनुसार जिल्लामा घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिकलसेल एनिमियाका बिरामीको उपचार हुँदै आएको छ भने तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सिकलसेल एनिमिया÷ थालसिमिया रोगको परीक्षण हुँदै आएको छ । राप्ती प्रादेशिक अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. गौतमले हेमोग्लोबिनोप्याथी सिकलसेल÷ बिटाथालेसिमिया÷हेमोफिलियाबारे विस्तृतमा जानकारी गराउँदै समुदायस्तरमा परीक्षणको दायरा बढाउन नसक्दा उपचार प्रभावकारी बनाउन कठिन भएको बताए । विभिन्न संघसंस्था तथा कार्यालयमार्फत् पहिचानका लागि स्क्रिनिङ गर्दा पहिचान भएकाको उपचार प्रभावकारी भए पनि समुदायमा सिकलसेलका कति बिरामी छन् भन्ने यकिन गर्न नसकिएको बताए ।

जसले गर्दा अहिले पनि जोखिम कायमै रहेको बताए । ‘जिल्लाका सिकलसेलका बिरामी कति छन् भन्ने यकिन तथ्याङ्क छैन’, उनले भने, ‘तर परीक्षणका क्रममा सिकलसेलका बिरामी भेटिइरहेका छन् ।’ पहिचान भएका सिकलसेल एमिनियाका बिरामीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट नियमित औषधी सेवन गर्दै आएको बताए । प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराईका अनुसार सरकारले बिरामीका लागि उपलब्ध गराउँदै आएको फोलिक एसिड, हाइड्रोक्सिेरिया दिने गरिएको छ ।

सिकलसेलका बिरामीलाई औषधीसहितको उपचार सेवा दिनुपर्ने अवस्था भएकाले प्रतिष्ठानले छुट्टै वार्ड स्थापना गरेर बिरामीलाई सेवा दिइरहेको उनले बताए । स्वास्थ्य कार्यालय दाङका अनुसार जिल्लाका सात पालिकाको विभिन्न स्थानमा गत वर्ष दुई हजार पाँच सय पाँच जनाको रगत परीक्षण गर्दा चार सय एक जनामा सिकलसेल एनिमिया तथा थालसेमिया पहिचान गरेको थियो ।

रक्तजन्य वंशाणुगत रोगसम्बन्धी स्क्रिनिङ गर्दा सात जना सिकलसेलका लक्षणसहितका बिरामी, दुई सय ४१ जना सिकलसेलका जीवाणु भएका अर्थात् ट्रेट, सात जना थालसेमियाका लक्षणसहितका बिरामी, एक सय ३७ जना थालसेमियाका जीवाणु भएका अर्थात ट्रेट, थालसेमिया रोग र थालसेमिया माइनर तीन जना, थालसेमिया ट्रेट र थालसेमिया माइनर २३ जना पहिचान भएको स्वास्थ्य कार्यालय दाङका प्रमुख किशोर आचार्यले जानकारी दिएका छन् ।

यसअघि २०७९ मा स्वास्थ्य कार्यालय दाङको समन्वयमा सात वटा पालिकाहरू घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, गढवा, राजपुर, राप्ती र दंगीशरण गाउँपालिकामा सिकलसेल बिरामी पहिचानका लागि दुई हजार आठ सय दुई जनामा परीक्षण गर्दा तीन सय २८ जनामा सिकलसेल एनिमिया पुष्टि भएको थियो । अहिले धेरै जनाको ‘स्क्रिनिङ’ नै हुनसकेको छैन ।

लुम्बिनीमा प्रमुख स्वास्थ्य समस्याका रूपमा रहेको सिकलसेल एनिमिया रोगको समस्या निदानका लागि साझा धारणा बनाएर स्थानीय तथा प्रदेश सरकार अघि बढ्नुपर्ने जरुरी रहेको आचार्य बताउँछन् । कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदीलगायतले रोगको पहिचान, सहज उपचारसँगै प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए । कार्यक्रमको सहजीकरण स्वास्थ्य कार्यालय दाङका खोप फोकल पर्सन कमल चन्दले गरेका थिए ।