प्रकाश चौधरी
देवी खड्का कुनै अपरिचित नाम होइन । सबै नेपाली नागरिकको मनमनमा झुण्डिएको नाम हो । समाज परिवर्तनको अग्र मोर्चामा रहेर आम पीडित महिलाको साझा आवाज लिएर महा अभियानमा सक्रिय भूमिका निर्वाह गर्दै आएकी अभियन्ता पनि हुन् ।
राज्यबाट समयमा न्याय नपाएपछि अर्थात न्यायको विषय उठान नभएको खण्डमा सशक्त आवाज लिएर आम पीडितसँगै न्यायको ढोका ढकढक्याउन पुगेकी एक होनहार योद्दाको रूपमा परिचय दिन सफल व्यक्तिको नाम हो, देवी खड्का । आमपीडित महिलाले बोल्न नसकेको आवाज आफ्नो लागि आफै बोल्नुपर्छ भन्ने उद्देश्य सहित नेतृत्वदायी भूमिका निर्वाह गर्ने सफल नारीको रूपमा आफ्नो पहिचान स्थापित गरिसकेकी छिन् । आफूसँगै विगतको दश वर्षे द्वन्द्वको क्रममा राज्य र विद्रोही दुवै पक्षबाट भएका घटनाको सत्यतामा आधारित एक वृतचित्रमार्फत् पनि आम मानिसमा सन्देश प्रवाह गरिरहेकी छिन् ।

यही वैशाख २९ गते दाङ घोराहीस्थित नारायणपुरको भि.एफ.एक्स सिनेमा हलमा प्रदर्शन गरिएको वृतचित्र हेर्ने अवसर मिल्यो । करिब ८०÷८५ मिनेटको उक्त वृतचित्रमा देवीले आफ्नो १७ वर्षको कलिलो उमेरमा भोगेको बलात्कारको वास्तविक घटना वृतचित्रमार्फत् उतारेकी छिन् ।
कुनै काल्पनिक कथा, पात्र, परिवेशभन्दा पनि वास्तविक सत्यतामा आधारित कथावस्तु प्रस्तुत गरिएको थियो । आफ्नो जीवनका ती कहाली लाग्दा क्षणहरू अर्थात २०५२ साल विस्तृत शान्ति सम्झौता हँुदै पछिल्ला सरकारको अवस्था र पीडितलाई गरिने व्यवहारसँगै राज्यले गर्न नसकेको कार्यको ज्वलन्त उदाहरण प्रस्तुत गरिएको पाइयो ।
एउटा पहाडी जिल्ला दोलखाको दुर्गम गाउँमा जन्मिएकी खड्का विद्यालयको अनुहार भने देख्न पाएकी छैनन् । आफ्नो दाजु रितबहादुर खड्का माओवादी जनयुद्धमा सहभागी भएका कारण उनले यस्तो पीडा व्यहोर्नु परेको थियो । परिवार माओवादी भएका कारण उनलाई पनि माओवादीको आरोपमा पक्राउ गरी २०५४ सालमा हिरासत लगियो ।
वृतचित्र प्रदर्शनको क्रममा खड्कालाई प्रहरी हिरासतमा तत्कालीन प्रहरी डिएसपी सहितको टोलीले सामुहिक बलात्कार गरी पाशविक यातना दिएको बयान दिएकी छिन् । वृतचित्रमा आफ्नो जीवनको कहाली लाग्दा क्षणलाई सम्झदै देवीले जीवनका दुई वर्षमा सबै चित्र बिर्सिएकी छिन् । याद सजिलै कहाँ बिर्सन सकिन्छ र ? मानव अधिकारकर्मीको पहल र रोहवरमा हिरासत मुक्त भएपछि देवी आफ्नो जिवन्त उदाहरण प्रस्तुत गर्दै दुई वर्षसम्म बेहोसीमा थिइन् ।
जीवनका सबै चित्रहरू सम्झन कठिन थियो । मर्न मात्रै मन लाग्थ्यो उनलाई । दुई वर्ष पछि मात्र आफू नियमित जीवनमा प्रवेश गर्न सफल भएको कथावस्तु प्रस्तुत गरेकी छिन् । सशस्त्र द्वन्द्वको क्रममा मारिएका व्यक्तिको तथ्याङ्क राज्यले सङ्कलन गरेको छ । वेपत्ता, घाइते, अपहरण÷शररि बन्धनक, विस्थापित, भौतिक संरचनामा भएको क्षति विवरण पनि सरकारले सङ्कलन गरेपनि बलात्कृत महिलाको भने कुनै तथ्याङ्क सङ्कलन गर्न सकेन । यसप्रति राज्य जिम्मेवार हुनु पर्ने साथसाथै विगतको आन्दोलनमा सहभागी राज्य र विद्रोही पक्ष दुवै शक्तिलाई जिम्मेवार हुन समेत वृतचित्रमार्फत् आग्रह गरेकी छिन् ।
सामुहिक बलात्कार जस्तो जघन्य अपराधवाट पीडित महिला शान्ति प्रक्रियाको १५ वर्षसम्म कुनै पनि सरकारले राहत र न्याय कुरा त परै जाओस् । पीडितको दर्जा समेत नपाएपछि देवी जस्ता महिला चुप बस्न सकेनन् र मुक्तिको यात्रामा सपथ लिएर सशक्त आवाज बनेर उभिएका छन् । २०७८ सालमा आफ्नै नेतृत्वमा द्वन्द्वमा बलात्कार पीडित राष्ट्रिय महिला सञ्जाल गठन गरेर निरन्तर अभियानमा संलग्न रहदै आएको विषयवस्तु वृतचित्रमा छर्लङग देख्न सकिन्छ ।
इतिहास बोल्ने, लेख्ने र जित्नेको मात्र लेखिन्छ भनेझै पीडित आफै नबोल्दा सम्म इतिहास मेटिने स्थिति देखा पर्न थालेपछि आफ्नो अनुहार लुकाएरभन्दा पनि बाध्य भएर समाजको अगाडि अनुहार देखाएर पैरवी गर्न थालिन् । गत मङ्सिर महिनामा दाङको लमही स्थित सिद्धार्थ होटेलमा भुई तहका द्वन्द्वपीडितको सवालमा जिल्लास्थित सरोकारवालाबिच भएको अन्तरक्रियामा प्रत्यक्ष रूपमा सहभागी भएर जति आफ्ना कथा प्रस्तुत गरेकी थिइन् त्यो भन्दा बढी वृतचित्रमार्फत् समाजमा थप द्वन्द्वका घटनालाई नयाँ सन्देश प्रवाह गरेकी छिन् ।
वृतचित्रमा हिरासतको यातनालाई घटना विवरणको रूपमा छोटकरीमा जान्ने बुझ्ने आम दर्शकको चाहना हुनु स्वभाविक रूपमा भएपनि यो वृतचित्र वास्तविक रूपमा हिरासत मुक्त भएपछिको पछिल्ला गतिविधि प्रस्तुत गरिनुले नयाँ पुस्तामा धारणा निर्माण गर्न कठिन भएको महसुस गर्न सकिन्छ । आजभन्दा २०÷२५ वर्ष अगाडिका घटनामा प्रत्यक्ष÷अप्रत्यक्ष रूपमा सहभागी भएकाको लागि यो वृतचित्रले जति ध्यान केन्द्रित गर्न सकेको छ त्योभन्दा अर्थात द्वन्द्वपछि जन्मेका युवा पुस्तालाई यो विषयले त्यति ध्यान केन्द्रित गर्न सक्दैन । जे होस् समग्रमा विगतमा भएको सशस्त्र जनयुद्धले देशमा ठुलो परिवर्तन भयो ।
१७ हजार नेपाली नागरिकको बलिदानले देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । हजाराँै नागरिक बेपत्ता, घाइते अपहरण, धरपकड, बलात्कार लगायतका त्याग समर्पणका कारण देशले गणतन्त्र प्राप्त ग¥यो तर ती परिवर्तनको आन्दोलनमा रगत बगाउने, ज्यानको बलिदान गर्ने, बलात्कारमा पर्ने ती महान योद्दा प्रतिको अपमानले राज्यप्रति आक्रोश कायमै छ । न्याय र शान्तिको विषयमा अन्र्तविरोध सिर्जना भएको छ । यी र यस्ता विषयलाई राज्यले समयमा हल गर्न सक्नुपर्छ । अन्र्तराष्ट्रिय इतिहासको व्याख्या गरेर समाधान खोज्नुभन्दा नेपालको सापेक्षतामा नेपालकै नागरिकको हैसियतवाट इच्छा शक्ति कायम गरी हल गर्न सक्नु नै सही मार्ग हुन सक्छ । यो वृतचित्र प्रदर्शनीले पनि यही भन्न खोजेको सङ्केत गरेको छ ।