तुफानबाबु श्रेष्ठ
फ्रायडले आफ्नो जीवन कथामा एउटा छोटो कुरा उल्लेख गरेका छन् । उनले लेखेका छन् कि, एकपटक उनी आफ्नो श्रीमती र बच्चासँग घुम्न पार्कमा गए । धेरै बेरसम्म उनी आफ्नी श्रीमतीसँग कुरा गर्दै यताउता घुम्दै थिए । जब साझ प¥यो तब करिब–करिब पार्क बन्द हुने समय हुन लागेको थियो ।
तब फ्रायडकी श्रीमतीलाई ख्याल आयो कि उनीहरूको छोरा त्यहाँ छैन ! कहाँ गयो होला ? ढोका बन्द हुन लागिसक्यो । म अब उसलाई कहाँ खोजु ? फ्रायडकी श्रीमती चिन्तित भइन् र डराउन थालिन् ।
फ्रायडले भने– ‘नडराउ ! एउटा कुरा सोध्छु, तिमीले उसलाई कहीँ जानबाट रोकेकी त थिइनाँै ? यदि रोकेकी थियौँ भने सयमा उनान्सय प्रतिशत ऊ त्यही गएको हुनुपर्छ, जहाँ जानबाट तिमीले रोकेकी थियौँ ।’
उनकी श्रीमतीले भनिन्– ‘हो, रोकेकी त थिए पानीको फोहोरामा नजानु भनेर ।’ फ्रायडले भने– ‘तिम्रो छोरामा थोरै मात्र वुद्धि रहेछ भने त्यो फोहोरामा नै भेटिनेछ, त्यो त्यही छ होला ।’ फ्रायडकी श्रीमती छक्क परिन् । उनीहरू दुवैजना फोहोरा भएको ठाउँ तिर गए नभन्दै उनीहरूको छोरा पोखरीको पानीमा खुट्टा डुबाएर बसिरहेको थियो, पानीमा खेलिरहेको थियो । फ्रायडको श्रीमतीले भनिन्– ‘ठुलो आश्चर्य ! तिमीले कसरी अनुमान लगायौँ कि हाम्रो छोरा यही छ भनेर ?’
फ्रायडले भने– ‘यसमा आश्चर्य मान्नु पर्ने कुनै कुरा छैन । मनलाई जहाँ जानबाट रोकिन्छ नि मन त्यही जानको लागि आकर्षित हुन्छ । जहाँ नजानु भनेको छ त्यहाँ एउटा लुकेको रहस्य सुरु हुन्छ र मन त्यही जान तत्पर भइहाल्छ ।’ त्यसकारण मनलाई जता जानबाट जोगाऔँ त्यतै जान थाल्छ । जहाँबाट मनलाई हटायो मन त्यही पुगिहाल्छ । जे कुरादेखि मुख फर्कायो मनले त्यतैतिर लिएर जान्छ । निषेध मनको लागि निमन्त्रणा हो, विरोध मनको लागि बोलाउनु जस्तै हो ।
रेडियो कार्यक्रम शान्त तलाउ कार्यक्रमका प्रस्तोता