गोरक्ष समाचारदाता
दाङ, ३ जेठ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रम स्वीकृत गरेको छ ।
शुक्रवार बसेको बैठकले नीति कार्यक्रम स्वीकृत गरेको हो । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सम्पन्न बैठकले आगामी वर्षको नीति तथा कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिए । जेठ ५ गते नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्न प्रदेश प्रमुख समक्ष अनुरोध गरिएको छ ।
बैठकले जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालनसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभा समक्ष पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । यसैगरी लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय बैठकले गरेको छ ।