गोरक्ष समाचारदाता
दाङ, ३ जेठ । त्रिभुवननगर जेसीजको ४०औँ स्थापना दिवस सम्पन्न भएको छ ।
कार्यक्रम संस्था अध्यक्ष जेसी टंकबहादुर रावत (अनन्त) को अध्यक्षता तथा नेपाल जेसीज वर्ष २०२५ का कार्यकारिणी उपाध्यक्ष जेसी कृष्ण सापकोटाको प्रमुख आतिथ्यता एवम् नेपाल जेसीज उपाध्यक्ष जेसी मणिप्रसाद आर्याल र घोराही उपमहानगरपालिका वडा नं १५ का अध्यक्ष रमेशकुमार पाण्डेको विशिष्ट आतिथ्यतामा भएको थियो ।
स्थापना दिवसको अवसरमा संस्थाका संस्थापक सदस्यहरू गोपालबहादुर रावत, लीलाधर शर्मा, पुरुषोत्तम खनाल, किशोरकुमार शर्मा, देवीबहादुर डिसी, हरिभक्त भण्डारी, कृष्णप्रसाद लम्साल र भुपाल योगीलाई सम्मानपत्रसहित सम्मान गरिएको थियो । स्थापना दिवसको अवसरमा दुर्गानारायण वक्तृत्वकला प्रतियोगिता २०२५ आयोजना गरिएको थियो ।
प्रतियोगितामा २० वटा विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगीतामा सिद्धार्थ एकेडेमीकी अंशु पौडेल प्रथम, गुरुकुल एकेडेमीकी यशु बुढाथोकी द्वितीय र मनकामना इङ्लिस बोर्डिङ स्कुलकी सविना खातुन तृतीय भएका थिए । विजेतालाई प्रमाणपत्र, नगद पुरस्कार र ट्रफी प्रदान गरिएको थियो ।
कार्यक्रममा पूर्वअध्यक्ष ऋषिराज जङ्गली, दाङ महिला जेसीज अध्यक्ष अनिता ढकाल, दाङ उद्योग वाणिज्य संघ अध्यक्ष वसन्त जोशी, बुटवल जेसीज अध्यक्ष मोहन सापकोटा, देवदह जेसीज अध्यक्ष दीपक अधिकारी, पत्रकार सविन प्रियासनलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
दाङ, लमही, सैनामैना, बुद्धभूमि, भलवारी, देवदेह, बर्दघाट र बुटवल जेसीज शाखाहरूको समेत सहभागिता रहेको थियो । कार्यक्रम संयोजक जेसी मिनराज भाटको स्वागतबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव कृष्णदेव थापाले गरेका थिए ।