‘लकडाउनको असर चौतर्फी’

अमरराज आचार्य
दाङ, २१ बैशाख । कोरोना भाइरसको सङक्रमणबाट बँच्नका लागि सरकारले लकडाउन गरेको ४० दिन पुगेको छ । यसरी लामो समय बन्दाबन्दी हुँदा यसको चौतर्फी असर परेको छ । अहिले अतिआवश्यक वाहेका सम्पूर्ण उद्योग तथा व्यवसाय बन्द रहेका छन् ।

कलडाउनले चौतर्फी असर गरेको व्यवसायी समेत रहेका डा अर्जुन बुढाथोकी बताउँछन् । यसले कुनै एक क्षेत्र मात्र नभई सबै क्षेत्रमा असर पुगेको उनको भनाई छ । ‘असर पु¥याउँछ भनेर खुल्ला गर्न पनि नहुने’, उनी भन्छन्–‘पहिलो कुरा त मानिस बाँच्नुप¥यो अरु त विस्तारै हुँदै जान्छ ।’ राज्यले संक्रमणबाट बँच्नका लागि लकडाउनको उपाय पनि मानिसलाई बचाउने कुरा ध्यानमा राखेरै अपनाएको उनको बुझाई छ ।

अहिलेको जस्तो उत्पादन बन्द रहेको र उपभोक्ताहरुले पनि सहज रुपमा उपभोग गर्न नपाइरहेको अवस्था लामो समयसम्म रहिरहे देश सञ्चालनमा समेत समस्या पर्ने उनी बताउँछन् । ‘देश सञ्चालनका लागि अर्थतन्त्र नै प्रमुख आधार हो’, डा बुढाथोकीले भने–‘यो अवस्थाले अर्थतन्त्र डामाडोल हुने छ ।’ लकडाउनको समयमा राजश्व संकलन तथा विकास निर्माणको काम समेत हुन नसक्दा देशको विकासमा समेत असर पुग्ने उनको भनाई रहेको छ । लकडाउनकोे अवस्था कहिलेसम्म जाने भन्ने निश्चित छैन । ‘हाम्रो जस्तो देशमा राज्यले लकडाउन गर्नुपर्ने वाध्यता पनि छ’–डा बुढाथोकीले भने ।

लकडाउनले देशमा नागरिकलाई सुरक्षित बनाउन सहयोग पु¥याएको समेत बताए । अब राज्यले सुरक्षित विधि अपनाई खुकुलो बनाएर अगाडि बढ्नु पर्ने उनको सुझाव छ । ‘सुरक्षित वातावरण बनाएर उत्पादन तथा विकास निर्माणका कार्यलाई अगाडि बढाउनेतर्फ अब सोच बनाउँदै जानुर्छ’–उनले बताए ।

अर्थतन्त्र, विकास निर्माण, उत्पादनलगायतका क्षेत्रमा समेत यो लकडाउनले पछिसम्म असर पुग्ने उनले बताए । ‘दैनिक आम्दानी नहुँदा जीवन धान्नसमेत गाह्रो भएको छ’, बुढाथोकीले भने–‘नागरिकलाई आम्दानी नै नभएपछि कसरी घर चलाउने भन्ने चिन्ताले सताउन थालेको छ, यसतर्फ पनि राज्यले सोच्नु पर्दछ ।’

चिन्तामा सरकारले साथ देओस् : भुसाल
लकडाउनको कारण अर्बौंको घाटा भएको व्यवसायी बताउँछन् । धेरै व्यापार व्यवासाय बन्द रहेकाले उद्योग व्यापार क्षेत्रमा ठूलो घाटा लागेको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसाल बताउँछन् । अहिले होटेल, यातायात क्षेत्र, रेडिमेट फेन्सी, स्टेशनरी, पेय पदार्थ, भाँडा व्यवास, निर्माण व्यवसायी, वन पदैवार लगाएका क्षेत्रमा व्यापार व्यवसाय शून्यजस्तै रहेको छ ।

राज्यले व्यवसायीहरुलाई समस्या परेको समयमा सहयोग गर्नुपर्ने अध्यक्ष भुसाल बताउँछन् । ‘राज्यलाई नियमित रुपमा कर तिरेर सहयोग गर्ने व्यवसायीलाई अप्ठेरो पर्दा राज्यले सहयोग गर्नु पर्दछ’–भुसालको तर्क छ । लामो समयसम्म व्यवसायीहरुले कसरी बैंकको राजश्व र घर भाडा कसरी तिर्ने भन्ने चिन्ता रहेको छ । यो चिन्ता समाधानमा राज्यको सहयोग र साथ आवश्यक पर्ने भुसाल बताउँछन् ।

लकडाउन भएदेखि रेडिमेट व्यवसाय ठप्प रहेको रेडिमेट तथा फेन्सी व्यवसायी समितिका अध्यक्ष एकराज खनालले बताए । फेन्सी व्यवसाय धेरै मारमा परेको उनको दाबी छ । ‘हाम्रो व्यवसाय अत्यावश्यकमा नपर्ने भएकाले बन्द नै रहेका छन्’–खनालले भने । व्यापार नभएपछि कसरी घरभाडा र बैंकको व्याज तिर्ने भन्ने समस्याले सताउने गरेको उनी बताउँछन् । उनका अनुसार घोराहीमा मात्र साढे ५ सय फेन्सी व्यवसायी छन् ।