अमरराज आचार्य
घोराही, १ जेठ । राज्यले सामुदायिक वनमा लगाएको करको कारणले सामुदायिक वन समस्यामा परेको वनका अगुवाहरूले बताएका छन् । सामुदायिक वन उपभोक्ता महासंघ दाङको पाँचौ जिल्ला परिषद् भेलामा सहभागीले यस्तो बताएका हुन् । कार्यक्रममा सामुदायिक वन उपभोक्ता गढवा महासंघका अध्यक्ष नवराज शर्माले राज्यले गाई बाख्रालाई खुवाउने घाँसको समेत कर तिर्नु पर्ने अवस्था रहेको बताए ।
राज्यले विभिन्न बाहानामा कर लगाउँदा यस्तो अवस्था रहेको उनको भनाइ छ । ‘वनको संरक्षण गर्ने उपभोक्तालाई घाँस उपयोग गरेवाफत पनि कर तिर्नु पर्ने अवस्था रहेको छ’ उनले भने‘ राज्यले उपभोक्तामाथि प्रहार गर्ने काम गरेको छ ।’ राज्यले आन्तरीक खपतको लागि समेत कर लगाउने गरेको उनले बताए । यस प्रकारको कार्यले उपभोक्ता मारमा परेको उनको भनाइ छ ।
उपभोक्ता खोपेन्द्र शर्माले सामुदायिक वनको कार्ययोजना नवीकरण गराउन समेत समस्या भएको बताए । कार्ययोजना नवीकरण गराउनका लागि धेरै रकम लाग्ने भएकाले सामुदायिक वन समस्यामा परेको उनको भनाइ छ । आम्दानी कम भएका सामुदायिक वनले कार्ययोजना बनाउन तथा नवीकरण गर्न नसकेको उनी बताउँछन् । वनमा रहेका सुकेको रुख समेत काट्न नपाउने गरेको उनले बताए । ‘उपभोक्ता अधिकारबाट बञ्चित भएका छौँ’ उनले भने ‘संरक्षण गर्नेलाई नै यसरी अधिकारबाट बञ्चित गराउन हुँदैन ।’ सामुदायिक वन आफ्नो अधिकारको लागि पटक–पटक आन्दोलन गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।
सामुदायिक वन महासंघका पूर्व अध्यक्ष भारती पाठकले सरकारले लगाएको कर खारेजी हुनु पर्ने बताइन् । ‘आम्दानी नै नगरेर कर तिर्ने यो न्याचित होइन’ पूर्व अध्यक्ष पाठले भनिन् ‘यस प्रकारको कार्य तत्काल सच्चाउनु पर्दछ ।’ आम्दानी भएमा भने सामुदायिक वनले कर तिर्नु पर्ने उनको भनाई छ । आन्तरिक खपतका लागि कर लगाउन नहुने उनको भनाई छ । राज्यले कर एकद्धार प्रणालीबाट लिनु पर्ने उनी बताउँछिन् ।
‘तीनवटै सरकारले कर लिने कार्य रोकिनु पर्दछ’ उनले भनिन् । यसलाई सच्चाउनका लागि अगाडि बढ्नु पर्ने समेत उनले बताइन् । यसका बारेमा महासंघले समेत आवाज उठाइ रहेको उनको भनाई छ । ‘राज्यले सामुदायिक वनलाई वातावरण संरक्षण गरेवाफत अनुदान दिनु पर्ने हो’ उनले भनिन् । प्राकृतिक स्रोतको अधिकार स्थानीयलाई हुने भनेर संविधानमा उल्लेख भएको भन्दै उनले त्यसै अनुसारको कानुन निर्माण गर्न तीन तहकै सरकार लाग्नु पर्ने उनले बताइन् ।
संविधानमा अधिकारी स्थानीयलाई दिए पनि त्यस अनुसारको अधिकार स्थानीय पाउन नसकेको पाठकले बताइन् । ‘संविधानमा उल्लेख गरिएको अधिकार समेत स्थानीयले पाउन सकेका छैनन् कानुन निर्माणका लागि सबैले दबाब दिनु पर्दछ’ उनले भनिन् । अधिकारका लागि आफै सक्रिय हुनुपर्ने भन्दै यसका लागि अभियान बनाएर अगाडि बढ्नु पर्ने उनको भनाई छ ।
महासंघका निवर्तमान केन्द्रीय उपाध्यक्ष भीमप्रकाश खड्काले राज्यले उपभोक्तालाई अंकुश लगाउने काम गर्न नहुने बताए । ‘राज्यले अंकुश लगाएमा त्यसका विरुद्ध उपभोक्ता खबदारी गर्न सक्नुपर्दछ’ खड्काले भने । अहिले पनि उपभोक्ताले वनमा रहेको काठ प्रयोग गर्न नपाएको उनले बताए । ‘वनमा काठ खेर गएको छ तर बाहिरबाट काठ ल्याउनु परेको छ’ उनले भने । वन समूहहरूको वर्गीकरण गरेर उनीहरूलाई उद्यशिलतामा जोडिन राज्यले सहयोग गर्नुपर्ने उनको भनाई छ । यसले आयआर्जनमा सहयोग पुग्ने उनले बताए । वनको संरक्षण मात्र नभई यसको सदुपयोग गर्न समेत सक्नु पर्ने उनी बताउँछन् ।
कार्यक्रममा बोल्ने वक्ताहरूले वनलाई दाउरा घाँसका लागि मात्र नभई उत्पादनमा समेत जोडिनु पर्ने बताएका थिए । उत्पादनमा जोड्न सकेमा मात्र यसले उपभोक्ताको आयआर्जनमा सहयोग पुग्ने उनीहरूको भनाइ थियो । आफ्नो अधिकारको लागि एकताबद्ध भएर अगाडि बढ्न समेत सहभागीले बताएका थिए । लामो समयदेखि आफ्नो अधिकारको लागि आन्दोलन गरिरहनु पर्ने आफूहरूको बाध्यता भएको समेत उनीहरूले बताएका थिए ।
कार्यक्रममा वन महासंघका केन्द्रीय सदस्य सावित्रा राना, महासंघ केन्द्रका न्यायिक समितिका सदस्य भगतसिंह भण्डारी, महासंघका लुम्बिनी प्रदेश अध्यक्ष कल्पना भण्डारी, प्रदेश महासचिव शोभाकर सापकोटा, प्रदेशका पूर्व उपाध्यक्ष तिलकराम भण्डारी, वन महासंघ दाङका निवर्तमान अध्यक्ष भुपेन्द्र सुवेदी, डिभिजन वन कार्यालय दाङका वरिष्ठ वन अधिकृत टेकप्रसाद आचार्य, डिभिजन वन कार्यालय देउखुरीका सहायक वन अधिकृत हरि पौडेल, दाङ जिल्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नरेशकुमार श्रेष्ठ, जिल्ला सहकारी संघका वरिष्ठ उपाध्यक्ष माधव खनाल, स्थानीय वन महासंघ तुलसीपुरका अध्यक्ष खेमराज महतरा, स्थानीय महासंघ घोराही उपमहानगरपालिकाका अध्यक्ष शोभाराम चौधरी, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन लगायतकाले भनाई राखेका थिए ।
कार्यक्रममा वार्षिक प्रगति प्रतिवेदन सचिव राधा विष्ट र आर्थिक प्रतिवेदन कोषाध्यक्ष खिमाकुमारी अधिकारीले प्रस्तुत गरेका थिए । कार्यक्रम महासंघका जिल्ला अध्यक्ष हरि भुसालको अध्यक्षता तथा महासंघका पूर्व अध्यक्ष भारती पाठकको प्रमुख आतिथ्यतामा भएको थियो । उपाध्यक्ष चन्द्रबहादुर वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सहसचिव भुपबहादुर केसीले गरेका थिए । कार्यक्रममा महासंघलाई विभिन्न माध्यमबाट सहयोग पु¥याएको भन्दै व्यक्ति तथा सामुदायिक वन समूहलाई सम्मान गरिएको थियो ।