घोराही आँखा उपचार केन्द्रबाट फेको प्रविधिबाट शल्यक्रिया सेवा सुरु

तुलसीपुर, ३१ बैशाख । घोराहीमा अत्याधुनिक फेको प्रविधिबाट आँखाको शल्यक्रिया सेवा सुरु भएको छ । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जद्धारा सञ्चालित घोराही आँखा उपचार केन्द्रमा फेको प्रविधिबाट बुधवारदेखि मोतियाविन्दुको शल्यक्रिया सेवा सुरु गरिएको हो ।

बुधवार उपचार केन्द्रमा १५ जना मोतियाविन्दुका विरामीहरुको शल्यक्रिया गरिएको छ । नयाँ व्यवस्थापनका साथ घोराही उपमहानगरपालिका –१८ नवलपुरस्थित आँखा उपचार केन्द्रले आँखाको उपचार सेवा दिदै आएकोमा बुधवारदेखि शल्यक्रिया सेवा पनि सुरु गरेकोहो ।

उपचार केन्द्रमा एक कार्यक्रमको आयोजना गरि शल्यक्रिया सेवा सुरु गरि फेको सेन्टरको उद्घाटन गरिएकोहो । लमही आँखा अस्पतालका प्रमुख नेत्रविशेषज्ञ प्रा.डा प्रदीप बास्तोलाको अध्यक्षता तथा नेपाल नेत्रज्योति संघ दाङका उपभापति रेशमबहादुर खड्काको प्रमुख आतिथ्यमा भएको शल्यक्रिया सेवा उद्घाटन कार्यक्रममा बोल्दै खड्काले यस क्षेत्रका नागरिकहरुको माग बमोजिम नयाँ व्यवस्थापनका साथ फेको सेन्टरको रुपमा उपचार केन्द्रलाई विस्तारसंगै उपचार केन्द्रमा शल्यक्रिया सेवा सुरु गरेको बताए ।

‘हामीहरुले विगतमा पनि आँखाको उपचारका साथै शल्यक्रिया सेवा प्रवाह गरेका थियौ अव पनि यहाँको नागरिकलाई गुणस्तरीय आँखा स्वास्थ्य सेवा प्रवाह गर्ने छौं – खड्काले भने।’ खड्काले नेपाल नेत्रज्योति संघले नेपालका विभिन्न स्थानमा आँखा अस्पताल र उपचार केन्द्रबाट जनतालाई सर्वसुल्भ आँखा स्वास्थ्य सेवा प्रवाह गरि रहेको बताए ।

त्यस्तै नेपाल नेत्रज्योति संघ दाङका सचिव घनश्याम सुवेदीले नेपाल नेत्रज्योति संघ दाङले तिनवटा आँखा अस्पतालबाट विशिष्टकृत सेवाका साथै उपचार केन्द्रहरुबाट आँखाको उपचार सेवा प्रवाह गरीरहेका बताए । उनले आँखा स्वास्थ्य कार्यक्रम अन्तर्गत विभिन्न स्थानमा उपचार केन्द्रका साथै रुकुम पश्चिम, रोल्पाको सुलिचौरमा आँखा सर्जिकल सेन्टरबाट शल्यक्रिया सुरु गरेसंगै अव घोराहीबाट पनि शल्यक्रिया सेवा सुरु गरेको बताए ।

उनले नागरिकहरुलाई घर आगनमै अत्याधुनिक प्रविधिबाट आँखाको शल्यक्रिया सेवा दिने उद्देश्यले सेवा सुरु गरेको बताए । कार्यक्रममा लमही आँखा अस्पताल प्रशासनिक समितिका संयोजक लिला शाहले घोराही आँखा उपचार केन्द्रबाट शल्यक्रिया सेवा सुरु गरे संगै यहाँका जनतालाई सहज हुने बताइन् ।

कार्यक्रममा नेपाल नेत्रज्योति संघ दाङका कोषाध्यक्ष श्यामप्रकाश आचार्य, छन्द कालेबाबु नारायणी आँखा अस्पताल बहादुरगञ्जका प्रशासकिय अधिकृत जसराज विश्वकर्मा, राप्ती आँखा अस्पतालका निमित्त प्रशासक शालिकराम गौतमलगायतले घोराही आँखा उपचार केन्द्रबाट अत्याधुनिक फेको प्रविधिबाट शल्यक्रियासेवा सुरु भएको भन्दै सवैलाई लाभ लिन आग्रह गरेका थिए ।

३६ बर्ष पहिले सन १९८९ देखि सञ्चालन भएको आँखा उपचार केन्द्रलाई फेको सेन्टरको रुपमा विकास गर्ने योजना अनुरुप बुधवारदेखि शल्यक्रिया सेवा सुरु गरेको आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका प्रमुख प्रशासक डा. सम्शेर थापाले बताए ।

उनले सवै नागरिकको पहुँच अत्याधुनिक फेको प्रविधिसंग जोडने लक्ष्य रहेको बताए । ‘हामीहरुले यसलाई फेको सेन्टरको रुपमा विकास गरि अहिले मासिक रुपमा शल्यक्रिया गर्ने योजना बनाएका छौ, आवश्यकता अनुसार दैनिक शल्यक्रिया पनि गराउने छौं– डा थापाले भने ।’

डा. थापाले आवश्यकता अनुसार १५ दिन, हप्ता दिनका साथै दैनिक अत्याधुनिक कम्प्यूटर प्रविधि फेको बाट शल्यक्रिया गर्ने व्यवस्था मिलाउने बताए । आँखा उपचार केन्द्रबाट यसअघि ३ लाख ८० हजारलाई आँखा उपचार सेवा र ८ सय ८७ जनाको मोतिविन्दुको शल्यक्रिया सेवा प्रदान गरि सकेको छ ।

दैनिक बिहान ९ बजेदेखि ४ बजेसम्म आँखा चेकजाँचका साथै आँखासम्बन्धी सम्पूर्ण उपचार र परामर्श सेवा दिदै आएको उपचार केन्द्रमा अत्यावश्यक सेवा भने २४ सै घण्टा रहने छ । बुधवार एनएवीपी नर्वेको आइकेयरको ५० प्रतिसत छुटमा फेको प्रविधिबाट १५ जनाको शल्यक्रिया भएको थियो । प्रमुख नेत्रविशेषज्ञ प्रा.डा प्रदीप बास्तोलाको नेतृत्वको प्राविधिक टोलिले सेवा दिएको थियो ।