टरिगाउँ विमानस्थलमा साढे तीन अर्ब बजेट विनियोजन गर्न सांसद गिरीको ध्यानाकर्षण

गोरक्ष समाचारदाता
दाङ, ३१ वैशाख । नेपाली कांग्रेसका सांसद दीपक गिरीले दाङस्थित टरिगाउँ विमानस्थल (तुलसीपुर एयरपोर्ट)लाई राजनीतिक दलहरूले चुनाव जित्ने भ¥याङको रूपमा मात्र प्रयोग गरिरहेको बताउँदै आगामी आर्थिक वर्ष सरकारले यो एयरपोर्टको स्तरोन्नति गर्न कम्तिमा साढे तीन अर्ब रुपैयाँ बजेट विनियोजन गर्न माग गरेका छन् ।

‘टरिगाउँ विमानस्थल राजनीतिक दलहरूको चुनाव जित्ने भ¥याङ मात्र बन्यो, अब आगामी आर्थिक वर्ष सरकारले यो विमानस्थलको स्तरोन्नति गर्न तीन अर्ब ४२ करोड रुपैयाँ बजेट हाल्न संसद्मार्फत् सरकारको ध्यानाकर्षण गराउन चाहन्छु’, दाङ निर्वाचन क्षेत्र नं ३ का सांसद, पूर्व सिँचाइ मन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य गिरीले प्रतिनिधि सभाको मङ्गलबार बसेको बैठकमा भने । सांसद गिरीले सधैँ नीति तथा कार्यक्रममा विमानस्थलको स्तरोन्नति गर्ने भनिए पनि काम अगाडि नबढाएको भन्दै आपत्ति जनाएका हुन् ।

उनले अगामी आर्थिक वर्षको बजेटमा विमानस्थलको स्तरोन्नतिको लागि तीन अर्ब ४२ करोड रुपैयाँ विनियोजन गर्न सरकारको ध्यानाकर्षण गराए । उनले भने, ‘अस्ति भर्खरै नीति तथा कार्यक्रममा प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा दाङ एयरपोर्ट बन्नेछ भन्दा हामीले ताली बजाएका छौँ । फेरि त्यो कुरा नाटकीय ढङ्गले नहराओस् । नेपालगन्ज र सुर्खेत विमानस्थलमा मौसम खराब भयो भने त्यो विकल्पको रूपमा प्रयोग गर्न सकिन्छ । त्यसका लागि धेरै ठुलो रकम पनि छैन । तीन अर्ब ४२ करोड विनियोजन हुनुप¥यो । म अर्थमन्त्रीज्यूको ध्यानाकर्षण गराउन चाहन्छु ।’ दाङ क्षेत्र नं ३ बाट निर्वाचित सांसद गिरीले विगतदेखि नै निरन्तर आवाज उठाउँदै आए पनि प्रभावकारी ढङ्गले काम अगाडि नबढेकोप्रति असन्तोष व्यक्त गरे ।

टरिगाउँ विमानस्थल २०११ साल मङ्सिरबाट सञ्चालनमा आएको हो । पश्चिम दाङ्का तत्कालीन नेता झग्गुप्रसादको पहलमा सञ्चालनमा आएको बताइने यो विमानस्थल अहिले घाँसे मैदानमा परिणत भएको छ । त्यो वेला टरिगाउँ विमानस्थलमा ल्यान्ड गर्ने डकौडा एयरको विमान हो, त्यो विमानको सिट क्षमता २८ सिटको थियो । त्यो विमान चल्दासम्म कम्तिमा फ्लाइट रुटिङ निश्चित थियो । सातामा दुई दिनसम्म या सातामा एक दिन पनि भयो ।

हवाइ ट्रान्जिटका रूपमा पनि थियो तुलसीपुर एयरपोर्ट । यो एयरपोर्टबाट भैरहवा, नेपालगन्ज, धनगढी जान सकिन्थ्यो भने त्यसपछि रुट बदल्ने अवसरहरू पनि थिए । त्यो वेला कम्तिमा तोकिएको समयमा त जहाज आउँथ्यो तर अहिले त्यो अवस्था पनि रहेको देखिँदैन । अनिश्चित विमानस्थल तर जब रसियन जहाज डकौडा हरायो, नेपाल वायु सेवा निगमको ट्वीनअटर जहाजले सेवा दिन थाल्यो ।
अहिले आक्कलझुक्कल तुलसीपुरको एयरपोर्टमा त्यही विमानले एयरपोर्टलाई मृत हुन दिएको छैन । हवाइ सेवाको विश्वास भने होइन । यात्रुहरूको मागका लागि होइन, चल्न यात्रुहरूनै छैनन् भन्ने देखाउन पनि नेपाल वायु सेवा निगमनको जहाज बेलाबेलामा ल्यान्ड गर्ने गरेको स्थानीय व्यवसायीले बताएका छन् ।

पछिल्लो समयमा ५२ सिटेदेखि ७२ सिटेसम्मका जहाज अवतरण गराउने गरी विमानस्थलको धावनमार्ग बढाउनका लागि प्राविधिक परीक्षण भएर डिपिआर समेत तयार भइसकेको छ । ‘अब समय बदलिएको छ । नेपाल वायु सेवा निगमका विमानले तुलसीपुर एयरपोर्टमा नियमित सेवा दिन सक्ने छैनन् । किनकि ट्वीनअटर अब कोल्याब्रेसनमा जाँदै छन् । अबको युग भनेको एटिआर सेभेन टु सम्मका जहाज मात्रै हो’, नागरिक उडड्यन प्राधिकरणका पूर्व इन्जिनियर प्रेमराज लोहनीले गोरक्षलाइ भने ।

यसका लागि कम्तिमा टरिगाउँ विमानस्थलको धावनमार्गको लम्बाइ अहिलेको अवस्थामा डबल बनाउनु पर्ने इन्जिनियर लोहनीको भनाइ छ । अर्थात एटिआर सेभेन टुसम्मका जहाज अवतरण गर्न धावनमार्गको लम्बाइ कम्तिमा १५ सय मिटर बनाउन आवश्यक देखिने उनले बताए । पूर्व इन्जिनियर लोहनीका अनुसार पूर्वतिर ग्वारखोलातर्फ एक्टेन्सन गर्नुपर्छ भने उत्तर–दक्षिण ओरिन्टेसनका लागि । त्यसैमा साढेदुई अर्ब रुपैयाँ लाग्ने प्राविधिकको अनुमान छ ।

त्यसपछि अहिलेको भन्दा स्तरीय टर्मिनल भवन, फराकिलो बाटो, चमेनागृह, विश्रामगृह, प्रतीक्षालयलगायत जग्गा अधिग्रहण गरेपछि कम्तिमा चार अर्ब बजेट टरिगाउँ विमानस्थलको स्थायित्वका लागि आवश्यक पर्ने लोहनीको भनाइ छ । यी सबै पूर्वाधारसहित बजेट विनियोजन गर्न प्राविधिक प्रतिवेदनले स्पष्ट उल्लेख गरेको छ । टर्मिनल बनाउन मोटामोटी थप दुई अर्ब लाग्ला । ग्वारखोलाको छेउका निजी जग्गा अधिग्रहण गर्नुपर्ने छ । त्यसका लागि पनि त बजेट विनियोजन गर्न आवश्यक देखिन्छ । अन्य क्षेत्रमा एयरपोर्टको विकल्प खोज्न ठुलो धनराशी खर्च हुने प्राविधिकले बताएका छन् । टुवीनअटरको परिकल्पनाभन्दा माथि उठेर एटिआर सेवेन जहाज आवस्यक भएकाले ट्वीनटर विमानमा अल्झन नहुने प्राविधिकको अनुमान छ ।