यति सुस्त व्यापार त कोरोना सङ्क्रमणमा पनि थिएन : अध्यक्ष केसी [अन्तर्वार्ता]

अघिल्लो साता तुलसीपुर उद्योग वाणिज्य संघले तीसौँ साधारणसभा मनाइरहँदा स्थानीय व्यवासायीहरुले व्यवसायिक पलायनको सन्दर्भमा गम्भीर चिन्ता व्यक्त गरे । नेपाल उद्योग वाणिज्य महासंघका नेतृत्वहरु पनि व्यवसायिक पलायन रोक्न सरकारले लगानीमैत्री वातावरण निर्माण गर्न नसकेको अभिव्यक्ति दिए ।

शुभकामनाका हरेक शब्दहरुमा व्यवसायिक शून्यताका विषयमा आवाज उठाइए । यो अवस्था तुलसीपुरका व्यवसायीहरुको मात्र नभएर नेपालभरका व्यवसायीहरुको साझा समस्या हो । व्यवसायी पलायन भइरहेको अवस्थामा अब यसलाई रोक्न राज्यले के गर्नुपर्दछ, व्यवसायीहरुले के भूमिका निर्वाह गर्नुपर्दछ भन्ने विषयमा केन्द्रित रहेर तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसीसँग गोरक्षकर्मी खेमराज रिजालले गरेको कुराकानीको सारसंक्षेप ।

— पछिल्लो समयमा तुलसीपुर क्षेत्रको व्यवसायिक गतिविधि कस्तो देखिन्छ ?

खासमा भन्नुपर्दा यति सुस्त व्यापार त कोरोना भाइरसको सङ्क्रमणकालमा पनि थिएन । दैनिक एक÷दुई घण्टा आधा सटर खोलेर व्यावसाय गर्दा पनि अहिलेकोभन्दा राम्रो व्यापार व्यवसाय चल्थ्यो तर अहिले त यस क्षेत्रको व्यापार व्यवसाय निकै सङ्कटग्रस्त छ । कतिपय पसलहरूमा त दैनिक बहनी समेत नहुने अवस्था छ । कतिपय व्यवसायीहरू बैंक तथा वित्तीय संस्थाको चर्को व्याज तिर्न नसकेर पलायन भए । कतिपयले एउटा बैंकको ऋणको व्याज भुक्तानी गर्न अर्को बैंकबाट ऋण ल्याउनेसम्मको अवस्था छ ।

बजार सुनसान छ । चहलपहल निकै कम देखिन्छ । यति यो अवस्था सुधार हुन सकेन भने व्यवसायी पलायन हुने क्रम अझै बढेर जाने मैले अनुभूति गरेको छु । अझ तुलसीपुर क्षेत्रको अवस्था त झनै गम्भीर छ । कुनैबेला यहाँको एयरपोर्ट चलायमान हुँदा पश्चिम क्षेत्रकै हवाई ट्रान्जिटका रूपमा थियो तुलसीपुर ।

अमिलिया, तुलसीपुर, सल्यान रुकुम सडक सञ्चालन हँुदा साविकको राप्ती अञ्चलकै व्यापारिक केन्द्र थियो । तर, रुकुम सोझै मध्यपहाडी लोकमार्गमा जोडिएपछि सडक यातायातको चहलपहल पनि कमजोर देखिन्छ । एयरपोर्ट नचल्दा यहाँको समग्र व्यापार व्यवसाय झनै समस्यामा छ । मलाई लाग्छ, सायद यस्तो अवस्था तुलसीपुरमा यस अघि कहिल्यै आएन ।

— यस क्षेत्रको व्यवसायी पलायन रोक्न के गर्नुपर्छ जस्तो लाग्छ तपाईलाई ?

सबैभन्दा पहिला त समग्र मुलुकको अर्थतन्त्र सुधार हुनु आवश्यक देखिन्छ । व्यवसायिक स्थिरताका लागि लगानीमैत्री वातावरण राज्यले सिर्जना गरिदिनुप¥यो । साना तथा मझौला उद्यमीलाई प्रोत्साहन गरेर उनीहरूलाई आवश्यक सिप प्रदान गरी उद्योग सञ्चालनको वातावरण गराउनु प¥यो । सडक तथा हवाई यातायातलाई नियमितता दिन तुलसीपुरको एयरपोर्टलाई चलायमान बनाउनु प¥यो । औद्योगिक ग्राम निर्माणलाई कार्यान्वयनमा लैजानु प¥यो तर मुलुकका तीनै तहका सरकारबाट यी काम हुन सकेका छैनन् ।

त्यसैले व्यवसायीहरू पेसा छाडेर पलायन हुने अवस्था सिर्जना भइरहेको छ । व्यवसायी मात्र होइन, सामान्य नागरिक समेत पलायन भइरहेका छन् । बजारको जनसङ्ख्या नै दिन प्रतिदिन घटिरहेको छ । जब उपभोक्ता नै घटिरहने हो भने उत्पादनले बजार पाउन पनि त कठिन हुन्छ नि । आर्थिक समृद्धिका लागि जनसङ्ख्या वृद्धि पनि एउटा सर्त हो । यसका लागि राज्यले आवश्यक नीति निर्माण गरी जनसङ्ख्या पलायन रोक्न ठोस कार्यक्रम ल्याउन पनि हामी उद्योगी व्यवसायीहरूले आग्रह गरिरहेका छौँ ।

बैंक तथा वित्तीय संस्थाहरूले सहुलियत व्याजमा ऋण दिने व्यवस्था राज्यले दिनुप¥यो । यसले मात्र व्यवसायी पलायन हुने अवस्था रोकिन सक्छ भन्ने मलाई लाग्छ । अ,ं मैले यो पनि भन्नै पर्छ, पछिल्लो समयमा मोफसलका व्यवसायीको समस्या, व्यवसायीको पलायन तथा मोफसलको आर्थिक मन्दीको दिन प्रतिदिन जर्जर बन्दै छ । स्थानीय उत्पादनले समेत बजार पाउन नसकेको अवस्था छ । स्थानीय कृषि उत्पादक किसानलाई बजारीकरणको समस्या छ । यसमा पनि सरकारको ध्यानाकर्षण हुन जरुरी छ, जस्तो मलाई लाग्छ ।

— के सिँगै मुलुकको व्यवसायिक क्षेत्र तुलसीपुरकै जस्तो मुर्दाशान्तिमा परिणत भएको हो ?

हो, सबैभन्दा पहिले त मुलुकको अर्थतन्त्र अझै पनि गम्भीर खतराको अवस्थामा छ । हरेक दिन व्यवसाय छाडेर पलायन हुने अवस्था छ । नागरिक समेत घटिरहेको अवस्था छ । यो अवस्थालार्र्ई हामीले गम्भीर रूपमा लिएका छौँ । यसलाई सुधारात्मक सङ्केत दिन पहिलो एजेण्डाका रूपमा यस अघि उद्योग वाणिज्य संघले गरिरहेका गतिविधिको निरन्तरतालार्र्ई प्राथमिकतामा राख्ने छौँ । त्यसमा सामाजिक अभियानदेखि व्यवासायिक समृद्धिदेखि व्यवसाय उत्थानका लागि दिइने सहयोग र सचेतना कार्यक्रम पनि भइरहेका छन् ।

त्यसपछिको हाम्रो अभियान भनेको विद्यमान अर्थतन्त्रलार्र्ई उकास्न मोफसलमा रहेका व्यवसायीलार्र्ई के कस्ता कार्यक्रम ल्याउन सकिन्छ भनेर हामीले प्रदेश उद्योग वाणिज्य संघमार्फत् नेपाल उद्योग वाणिज्य संघसँग पनि निरन्तर परामर्श गरिरहेका छौँ । ताकि यहाँको बजारलार्र्ई चलायमान बनाउन सकौँ र यहाँको पैसालार्र्ई यही क्षेत्रमा खर्च हुने वातावरण बनाउन सकौँ ।

अर्को कुरा पनि मैले तपाईलार्र्ई स्मरण गराउन चाहन्छु कि हामीलार्र्ई उद्यमशिलताको विकास अपरिहार्य भएको छ । यसका लागि यहाँको सम्भावना भनेको कृषि र पर्यटन क्षेत्रकै हो । यसमा साना तथा मझौला उद्योग यही सञ्चालन गरेर व्यवासायिक विस्थापन एवम् युवा विस्थापनको अवस्थालार्ई न्यूनीकरण गर्न चाहेका छौँ । यसमा हामीले स्थानीय सरकार, प्रदेश सरकार र संघ सरकारको पनि हातेमालोको अपेक्षा गरेका छौँ ।
हामीले त्यसका लागि एक वर्ष एक उद्यमशिलताको अभियान अघि सारेका छौँ । ताकि स्थानीय तहमै केही कमाइ होस् अनि केहिले स्थानीय स्तरमै रोजगारीको अवस्था पनि पाउन भन्ने हाम्रो आधारशिला हो । यसका लागि समबन्धित इच्छुक व्यवसायीलार्ई अनुशिक्षण तालिम दिने र उद्यमशिलताको विकासमा लगाएर साना तथा मझौला उद्योगको स्थापनालार्ई राज्यको पनि सहयोग जुटाउने हाम्रो ध्येय रहेको छ । हाम्रो अर्को अभियान भनेको व्यवासायीलार्ई आधुनिक सूचना प्रविधिमा जोडेर करको दायरामा ल्याउने र कर करले होइन रहरले तिर्ने वातावरणको पनि व्यवस्थापन गर्ने हाम्रो अर्को अभियान हो ।

— तुलसीपुर क्षेत्रका स्थानीय व्यवसायिका अन्य समस्या पनि बताइदिनुस् न ?

हो, हामीलाई अर्को जल्दो बल्दो समस्याका रूपमा रहेको घरवहाल करको समस्या हो । हामीले यो विषयमा के निक्यौल गरेका छौँ भने घरवहाल कर व्यवसायीले तिर्ने होइन, घर धनीले तिर्ने हो । त्यसैका लागि हामीले यो विषयमा स्थानीय सरकारसँग सहकार्य गरी घरवहाल करका विषयमा घर धनीलार्ई नै तिर्नु पर्ने व्यवस्थापनका लागि निरन्तर लागि परेका छौँ । हाम्र्रो अर्को समस्या भनेको व्यवसायीक सुरक्षाको पनि हो ।

यसलार्ई हामीले सूचना प्रविधिसँग जोडेर हरेक बजारमा ढुक्कसँग सुरक्षित भएर व्यापार व्यवसाय गर्ने वातावरण मिलाउनका लागि स्थानीय सरकार, स्थानीय सुरक्षा निकाय तथा स्थानीय प्रशासनसँग पनि सहकार्य गरी व्यवसायिक सुरक्षालार्ई आधुनिक प्रविधिमा जोड्ने छौँ । यसमा हामीले तत्काल कार्यान्वयन गर्ने योजना पनि बनाइसकेका छौँ ।

— वर्तमान सरकारका प्रधानमन्त्रीले त संसदमा पटक–पटक मुलुक आर्थिक समृद्धिको लयमा फर्किसक्यो भनेर दाबी गर्दै आएको छ नि ?

सरकारको आर्थिक इन्डिकेटर अर्कै होला, तर हामी मोफशलमा बस्नेहरूको यथार्थ अर्कै छ । हो, कर्पोरेट विज्नेस हाउसहरूको आर्थिक इन्डिकेटर सुध्रिएको हुन सक्छ तर मोफशलको अवस्थामा सुधार आउन पक्कै सकेको छैन । सरकारका आर्थिक विश्लेषकहरूले गर्ने अध्ययन र दिने रिपोर्ट भनेको ठुला कर्पोरेट विज्नेस हाउसको हो । तर, मोफशलको अर्थतन्त्र सुध्रिएको हामीलार्ई अनुभूति भएको छैन । साना तथा मझौला उद्योगलार्ई टिक्नै गाह्रो भएको अवस्था छ ।

त्यही कारण मुलुकको अर्थतन्त्र लयमा फर्कन लागेको भन्ने अर्थमन्त्रालय र प्रधानमन्त्रीको स्पीचमा हामी मोफशलका व्यवसायी विस्वस्त हुने कुनै आधार नै छैन । हामीले यो बिचमा दक्षजनशक्तिका रूपमा रहेका होनहार युवाहरू गुमाएका छौँ, जुन हाम्रा जनशक्ति हुन् । हामीले व्यवसायी पनि गुमाइरहेका छौँ, जुन व्यवसायीहरू आफ्नो घरजग्गा लिलाम गरी विदेश पलायन भइसकेका छन् । अनि हामीले यिनिहरूलाई गुमाउँदै गर्दा उपभोक्ताहरू पनि गुमाएका छौँ ।

किनकि युवा र व्यवसायीहरू हाम्रा उपभोक्ता पनि हुन् । यो अर्थमा यहाँको अर्थतन्त्र सुध्रोको भन्नु झुठो प्रचार मात्रै हो । जुन प्रचारबाजी गर्नका लागि अर्थ विश्लेषकहरू मोफशलमा आएर तथ्याङ्क लिएको हामीले पाएका छैनौँ । यो त सरकार टिक्न र टिकाउन गरेको झुठो प्रचारबाजी मात्रै हो । मोफशलको अर्थतन्त्र अझै पनि लयमा फर्केको छैन ।