मेरो खुशी : १९ दिनपछि अपहरण मुक्त हुँदा…

स्कुलमा पढदा पढदै विद्यार्थी राजनीतिबाट आफ्नो राजनीति यात्रा र समाजसेवालाई अगाडि बढाएका उनी अहिले पनि राजनीतिसँगै समाजसेवामा क्रियाशील छन् । हकि स्वभाव भएका पश्चिम दाङको बबई–४ हापुरे निवासी भद्रबहादुर खड्काले २०५२ सालमा हंशपुर माविमा कक्षा ९ मा पढ्दा नेपाल विद्यार्थी संघको सचिवको जिम्मेवारी पाएको सम्झिए ।

कक्षा ९ मा पढ्दादेखि आफूले विद्यार्थी राजनीति सुरु गरेको उनी बताउँछन् । खड्काले स्वर्गीय नेता खुमबहादुरको तत्कालीन निर्वाचन क्षेत्र पनि त्यही पर्ने, नेता घरमा जाने र आमा बुवालाई भेटेको देखेर कांग्रेस बन्नु पर्छ भनेर आफू राजनीतिमा चासो देखाएको उनी बताउँछन् । २०५३ सालमा हंशपुर माविबाट एसइई दिएका खड्काले त्यसपछि पढाइसँगै साविक पुरन्धारा गाविसको तरुण दलको सचिव भएर काम गरेको बताए ।

तरुण दलको सचिव हुँदै गर्दा देशमा तत्कालीन माओवादीको द्वन्द्व चर्केको समयमा आफूलाई पनि माओवादीले अपहरण गरी लगेको खड्काले सम्झिए । २०५६ सालमा भदौ ७ गते माओवादीले पक्राउ गरेर लगेको र त्यसपछि घरमा निकै पीडादायक अवस्था सिर्जना भएको उनले सम्झिए । त्यस अघि २०५५ सालमा आफ्नै गाउँमा एकजनाको हत्या भएकाले पनि घरपरिवार र गाउँमा आफू अपहरण परेपछि सबै पीडामा रहेको उनी बताउँछन् ।

‘म १९ दिनसम्म बेपत्ता हुँदा घरपरिवारमा कस्तो भयो होला आफै कल्पना गर्नुहोस् उनले विगत सम्झँदै भने ।’ खड्काले आफू बिनाकारण अपहरण परेकाले कहीँ कतै न डराएको बताए । खड्काले १९ दिनपछि आफू रिहा हुँदाको दिन निकै खुसीको दिन सम्झिए । ‘मेरा सामाजिक राजनीतिक थुप्रै खुसी होलान् तर १९ दिन पछि अपहरण मुक्त हुँदाको दिनलाई मैले जहिले पनि मेरो जीवनको पहिलो खुसीको दिन सम्झन्छु’ खड्काले भने ।

खड्काले तत्कालीन माओवादीले पूर्वजन्म घर साविक बाघमारे गाविस–९ को तिनुखारामा आफूलाई बुबाको जिम्मा लगाउँदा आफू खुसी भएको सुनाए । ‘संयोगले बुवा, फुवाजु त्यही जानुभएको रहेछ बुवाको जिम्मा मलाई लगाइदिनुभयो’ खड्काले भने । खड्काले १९ दिन पछि अपहरण मुक्त हुँदा नयाँ जीवन प्राप्त गरेको अनुभूति भएको सम्झिए । ‘म त धेरै डराएको थिएन किन भने मेरो गल्ती केही थिएन तर घर परिवारमा धेरै त्रास भएको थियो, उनले भने ।’ खड्काले आफू अपहरण मुक्त भएपछि घर पुग्दा समुदायिकका सबै व्यक्ति जमघट भएको र उनीहरूसँग अपरण मुक्त भएपछि खुसी साटेको सम्झिए ।

त्यस्तै खड्काले नेपाली कांग्रेसको १२औँ महाधिवेशनमा पुरन्धारा गाविसको उपसभापति, १३औँ महाधिवेसनमा तत्कालीन क्षेत्र नं. ५ को कोषाध्यक्ष हुँदै १४औँ महाधिवेशनमा प्रदेश सभा ख को सचिवको जिम्मेवारी समाल्न पाउँदा पनि खुसी लागेको सुनाए । ‘म नेपाली कांग्रेसको विभिन्न जिम्मेवार पदमा बसेर काम गर्ने अवसर पाएको छु अग्रज नेता कार्यकर्ता साथीभाइले साथ सहयोग गर्नुहुन्छ यो पनि मेरो लागि अर्को खुसी हो’ खड्काले भने ।

खड्काले राजनीतिमा लागेर विकास निर्माणदेखि आफूले सक्दो गाउँघरमा भनसुनका साथै गर्न सक्ने सहयोग गर्न पाउँदा पनि खुसी लाग्ने गरेको बताए । ‘म जुन दिनदेखि राजनीति समाजसेवामा लाग्ने अवसर पाएँ त्यस दिनदेखि आफूलाई खुसी र शौभाग्यशाली पनि ठानेको छु्’ खड्काले भने । उनले जो कोहिले राजनीतिसँगै समाज सेवा गर्ने यस्तो अवसर नपाउने बताए । त्यस्तै २०५९ सालदेखि यातायात क्षेत्रमा लागेका खड्काले पश्चिम दाङमा यातायात क्षेत्रको विकास र विस्तारका लागि काम गर्न पाउँदा पनि खुसी लागेको सुनाए ।

‘पहिले हंशपुरसम्म एउटा बस जाने गरेको थियो अहिले यातायात क्षेत्रका यस्तो विकास भएको छ, यो देख्दा पनि मलाई निकै खुसी लाग्ने गर्छ’ खड्काले भने । उनले २०६४ सालदेखि आफूले सार्वजनिक याताायातका साधनमार्फत् सयौँलाई सेवा गरेको सुनाए । ‘त्यतिबेला अहिले जस्तो गाडी एम्बुलेन्सको सुविधा थिएन मैले कतिलाई आफ्नो गाडि एम्बुलेन्स जस्तो गराएर बिरामी बोके त्यो अहिले मैले धेरै बयान गर्न चाहन्न सेवा गर्न पाउँदा म खुसी नै छु’ खड्काले भने ।

तुलसीपुर यातायात प्रालिको कल्याणकारी सचिवको जिम्मेवारी समेत पाएका खड्काले यातायात क्षेत्रको विकास र विस्तारमा लाग्न पाउँदा पनि खुसी भएको सुनाए । त्यस्तै खड्काले तत्कालीन अवस्थामा जनप्रतिनिधि नहुँदा आफूहरूले धेरै विकास निर्माणदेखि अन्य कुरामा सहजीकरण र सहयोग गरेको बताए । खड्काले जीवनमा उतारचढाव भए तापनि सत्कर्म र धैयताका साथै सेवा भावले अगाडि बढेमा जीवनमा खुसी मिल्ने बताउँछन् । उनले खुसी खोज्न कहीँ जानु नपर्ने भन्दै आफैँभित्र भेट्टाउन सकिने र आफूमा जे छ त्यसैमा रमाउन सके सधै जीवन खुसी हुने बताउँछन् ।

प्रस्तुति :  बालाराम खड्का