नारायणप्रसाद श्रेष्ठ
मानव जीवनको गतिशिलतामा देखा पर्ने विचारको उतारचढाव, कर्म र व्यवहारमा देखिने भिन्नतालार्ई सकारात्मक भाव उन्मुख बनाउने सशक्त माध्यम भनेको ज्ञान चक्षु हो ।
ज्ञानले नै मानिसलाई सत्य धर्म शान्ति प्रेम सेवा र अहिंसाको मार्गमा लैजान्छ । सत्य असत्य के हो ? मानिसले गर्नु पर्ने कार्य र व्यवहार के हो ? त्यो छुट्ट्याउने सामर्थ जगाउँछ । नयाँ–नयाँ सोच विचारको उद्घोष गर्दै बाच र बचाउको सरल मार्गमा गतिशिल हुन उत्प्रेरित गर्दछ । निस्वार्थ सेवा नै जीवनको उत्तम कार्य हो भनी मार्ग निर्देश गर्दछ ।
त्यसैले चर्म चक्षुले होइन ज्ञान चक्षुले संसार हेर्नुपर्छ भनिएको हो । समाजमा देखा पर्ने जति पनि परिवर्तन छन् र भइरहेका हुन्छन् । यी सबै मानिसको मनबुद्धि र विवेकले ल्याएको परिवर्तन हो । भौतिकवादी चिन्तनले जकडिएको वर्तमान समयलाई हेर्ने हो भने अहिले मानिस शिक्षा लिनु नै ज्ञान हासिल गर्ने सशक्त माध्यम मान्दछन् । यो केही हदसम्म ठिक होला तर ज्ञानको साथ साथै अनुभव र निस्वार्थ सेवा भावना पनि परिस्थिति र परिवर्तनको लागि महत्वपूर्ण हुन्छ भन्ने कुरा बिर्सनु हँुदैन ।
आध्यात्मले देखाएको गोरेटोसँगै पूर्खाले सिकाएको हाम्रो परम्परागत संस्कृति, संस्कार र अनुभव पनि यस अवसरमा बिर्सनु हुँदैन । मानव जीवनमा ज्ञान र अनुभवले नै सिर्जनाका नयाँ पालुवा हुर्काएको हुन्छ । स्वार्थलाई निस्वार्थ सेवामा रुपान्तरण गर्दै आफ्ना आवश्यकताको पहिचानसँगै समय सुहाउँदो परिवर्तन गरिरहेको हुन्छ ।
धर्म संस्कृति र पूर्खाको त्याग र बलिदानलाई जीवनपयोगी मार्गको रुपमा पहिचान बढाइरहेको हुन्छ । त्यसैले सस्तो लोकप्रियताको लागि होइन यथार्थ र सत्यमा आधारित जीवनको उद्देश्य पूरा गर्नका लागि ज्ञान हासिल गर्न जरुरी मानिएको हो । ज्ञान मर्दछ हासेर विज्ञान रोइ मर्दछ, भनिन्छ । किनकी ज्ञानले हरहमेशा जीवनपयोगी र जीवनको सहज वातावरण कसरी हुन्छ । त्यसको मार्ग पहिल्याउन मद्दत गर्दछ । हेर्ने दृष्टिकोण र विचारमा नम्रता, व्यवहारमा सहजता देखाउँछ । अरुको सेवा गरी जीवनलार्ई धन्य बनाउने संकल्प गर्न सिकाउँछ ।
विचारको सर्वोत्कृष्टतालाई बुझेर अघि बढ्न सिकाउँछ । मानव अन्तर निहित ज्ञान सागरमा पौडने अवस्थाको सुरुवात गर्न अभिप्रेरित गर्दछ । जब सुरुवात हुन्छ, तब उसको आत्म चिन्तनमा, सर्वजन हिताय सर्वजन सुखायको भाव छचल्किन थाल्दछ । तसर्थ चर्म चक्षुले प्राप्त हुने आनन्दभन्दा ज्ञान चक्षुले प्राप्त हुने विषय वस्तु र आनन्द नै जीवनले खोजेको सत्य हो भन्ने ठानी सोही अनुकुल आचरण र व्यवहार गर्नुपर्दछ ।
स्वाभाविक जीवनमा सकारात्मक विचारको उद्घोष गराउने सशक्त चिन्तन ज्ञान चक्षु मनुश्यको तेस्रो आँखा भएकोले, मन, भावनाबाट त्यसलाई ग्रहण गरी आत्मसत्यको पहिचान गराउनु पर्दछ । आध्यात्म सत्यको धरातलमा रहेर ज्ञान दृष्टिले ल्याउने परिवर्तनलाई न्यायोचित हिसाबले एकअर्कामा विचार विनियम गरी जीवनलाई सार्थकता दिनुपर्दछ । जीवन पानी जस्तै सङ्लो छ । जीवन पानीको बहावसँगै बगिरहने सत्य पनि हो ।
गंगाको पवित्र जलधारा मनको अन्तर हृदयभित्रको सत्यलाई शुद्ध बनाउने, पखाल्ने र लाईट अफ सन जस्तै बनाउने आधार पनि हो तर वर्तमान, मानिसको मन बुद्धि विवेक क्षणिक स्वार्थमा फोहोर मैला गर्ने ठाउँ नदी हो भनी त्यता लागि परेको देखिन्छ । क्षणिक स्वार्थमा लुटपुटिइ गंगालाई अपवित्र बनाइरहेको छ । फोहर मैलाले जीवनको प्रत्येक मार्गलाई अवरोध गराउँछ भन्ने महसुस गर्दा गर्दै पनि विचार र निस्पक्षतालाई बन्धक बनाई जथाभावी कर्म गरिरहेका छन् ।
भौतिकवादी चिन्तनलाई प्रश्रय दिई ज्ञानको ढोका बन्द गर्नेतर्फ मानिस स्वयम् लागि परेका छन् । ज्ञान हासिल गर्ने कुरामा विविधता देखाउँदै संस्कृति र संस्कारमा आधारित तथा शिक्षालाई सर्वशुलभ बनाउनु पर्छ भनी बुझ्दा बुझ्दै पनि बुझेर बुझ पचाउँदै शिक्षा नीतिलाई साँघुरो दायरामा ल्याउँदै स्वार्थ केन्द्रित विचार लात्दै गरेको देखिन्छ ।
ज्ञान चक्षुको आँखाले हैन चर्मचक्षुको आँखाले देखिने सत्यलाई अंगिकार गर्न तछाड मछाड गरिरहेको देखिन्छ । तसर्थ मानव विचारले निम्त्याउने दुर दृष्टि चिन्तनलाई भौतिकवादी खोलभित्र गुम्सिन दिनुको साटो व्यवहार र कर्मबाट आफूलाई प्रस्तुत गर्नुपर्दछ । जबसम्म आध्यात्मिक विचार र भौतिक सत्यबिचको महत्व बुझ्न सकिँदैन तबसम्म विचारले उज्यालोको प्रत्याभूति दिन सक्दैन । प्रज्ञा जागरुक हुन सक्दैन । उ सकारात्मक प्रवृत्ति उन्मुख हुन सक्दैन । उसले प्राप्त गरेको ज्ञानको सारतत्व पनि गौण हुने स्थिति हुन्छ ।
भ्रम र स्वार्थले लिप्त उसको आचरणले यथार्थवादी चिन्तनले स्वीकारेको आध्यात्मिक चेतना पनि सुषुप्त रहने अवस्था रहन्छ । त्यसैले यसतर्फ सबैको ध्यान जान जरुरी छ । सामान्य उदाहरण हेराँै– मानिस मन्दिरमा श्रद्धा र विश्वासले गएको हुन्छ । पुजारी सबैलाई समान दृष्टि दिन लागि परेको पनि देखिन्छ तर जब कुनै ठूलो ओहदाको मानिस त्यहाँ पुग्छ तब पुजारी सर्वसाधरण भक्त हैन ठुलाको चाकडीमा आफूलाई हाजिर गर्दछ ।
उसको स्वार्थभाव जागृत गर्दछ उसलाई मैले ईश्वरीय दर्शन, आराधनामा गलत गरे जस्तो लाग्दैन । उ ठुला वडाको चाकडीमा सफल भएको महसुस गर्दछ । उ आध्यात्मिक ज्ञानी हुन सक्छ तर उसले ज्ञानको सदुपयोग गरेको हुँदैन । यस्तो पनि हुने गरेको छ यसले के सन्देश दिन्छ भने भौतिकवादी चिन्तनले ल्याएको आडम्वरले आध्यात्मिक चेतनामा पर्दा लगाउँदै छ । मोह र अहंकारले विचारमा दिग्भ्रमित बनाइ रहेछ । यस्तो अवस्था जबसम्म रहन्छ तबसम्म उसमा प्रज्ञा जाग्न सक्दैन । चर्मचक्षुले नै आधिपत्य कायम गर्दछ । तसर्थ यस्तो परिवेशको मूल्यांकन गर्न जरुरी हुन्छ । यस्तो हुन नदिनको लागि क्षणिक स्वार्थले विचारमा आउने कु प्रवृत्तिलाई हटाइ ज्ञानको निस्वार्थ ढोका खोल्न सक्नुपर्दछ ।
तसर्थ ज्ञान र अनुभवले उपलब्ध हुने जीवनको मार्ग निर्देशन गर्ने तत्वको जानकारी लिनुपर्दछ । चरित्र, जीवन दर्शन हो भनी विविधतालाई सकारात्मक भावनामा परिणत गरी ज्ञान र सिपको माध्यमले आफूले आफैलाई परिस्कृत गर्न सक्नुपर्दछ । तब मात्र आत्मसत्यको पहिचान गर्न सक्ने क्षमता बढ्न थाल्दछ ।मानिस आफै भ्रष्ट र अमर्यादित हुँदैन । उसलार्ई वास्तविकताभन्दा टाढा राखी भौतिक महत्ताले दिग्भ्रमित गराई कुलतमा फसाइरहेको हुन्छ । मायाको डोरीले उसका विचार र आचरणलार्ई धमिल्याइरहेको हुन्छ । यसरी स्वच्छ र पवित्र गंगासरी मानव हृदयमा अशुद्ध प्रवृत्तिले जग गाडेको देखिन्छ । यिनै कारण मानवीय मूल्य र मान्यताभित्र असमझदारी र अविश्वासको भुमरी मडारिएको हो ।
त्यसैले यस्तो परिस्थितिमा ज्ञान चक्षुको माध्यम आध्यात्मिक सत्यको पहिचान गरी भौतिक र आध्यात्मिक विचारलार्ई सँगसँगै अगाडि बढाएर मानिसले आफूलार्ई आफ्नो वुद्धि र विवेकद्वारा सिद्ध गर्न सक्नुपर्दछ । साधनालार्ई साध्यको रुपमा परिणत गर्न ज्ञान र विवेकलार्ई अन्तरमनको सत्यसँग जोडेर अगाडि बढ्ने क्षमताको विकास गर्नुपर्दछ । जब मानिस आफूलार्ई ज्ञान र सिपको माध्यमबाट खरो रुपले उत्रन सक्ने प्रज्ञा प्राप्त गर्न थाल्दछ, तब उसले आफूलार्ई पूर्ण रुपले सामाजिक क्षेत्रमा उतार्न सक्छ ।
एलोपेथिक औषधीले रोग निर्मूल गर्ने होइन रोकथाम गर्न सक्छ भनी भनिन्छ भने आयुर्वेद शास्त्रले निर्धारण गरेको औषधीले रोगलार्ई निर्मूल गर्न सक्छ भनिन्छ । यो यथार्थ चिन्तनमा आधारित भएर वर्तमानमा देखिन्छ पनि । त्यसैले दिव्यज्ञानको माध्यम आफू र आफ्नो परिवेशलार्ई सकारात्मक चिन्तनका साथ अगाडि बढ्ने संकल्प गर्न सक्ने अठोट गरी आत्मसत्यको गहिराईमा पुग्ने कोशिस गरिरहनु पर्दछ । ज्ञान र जीवन दर्शनको महत्व बुझी सत्यमा आधारित कर्मलार्ई आफ्नो उद्देश्यभित्र राखेर प्रत्येकले आफूलार्ई समर्पण गर्नुपर्दछ ।
यो हिजोको समयमा जति महत्व थियो त्यो भन्दा बढी वर्तमानले यसको आवश्यकता देखेको छ । हुनत वर्तमान मानिसको सोच कसरी धन सम्पत्ति कमाउ, कसरी जीवनलाई एश आराम र भौतिक विलासीभित्र रमाउने वातावरण बनाउ भनी भाग दौड गरिरहेको देखिन्छ । जीवनलाई ज्ञान होइन धनसँग तुलना गरी, धन सम्पत्तिले ज्ञानलाई आफ्नो दास बनाउन सकिन्छ भनी लागि परेको पनि देखिन्छ ।
वास्तवमा सोचमा भिन्नता हुन्छ भन्दैमा जे पनि भैइहाल्छ भनी सोच्नु भनेको आफूले आफैलाई कमजोर बनाउनु हो । त्यसैले म र मेरो जीवनको उद्देश्य क्षणिक स्वार्थमा अलमलिने नभई नयाँ युगको इतिहास कोर्ने कार्यमा लगाउनु अनिवार्य हो भनी आफ्ना हरेक विचार र कर्मलाई ज्ञानको ज्योतिले सिंगार्नु परेको छ समयले यही खोजिरहेछ । चेतना भया अस्तु ।