ज्येष्ठ नागरिकको निशुल्क दन्त परिक्षण

घोराही, २८ बैशाख । घोराही उपमहानगरपालिका–१५ उत्साह टोलमा रहेको ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रमा निशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न भएको छ । उप्रेती समाज सेवा दाङको आयोजना तथा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रको समन्वय एव सञ्जिवनी डेन्टल क्लिनिकको प्राविधिक सहयोगमा निशुल्क दन्त शिविर भएको थियो ।

शिविरमा सेवा लिएका ज्येष्ठ नागरिकहरुको उच्च रक्तचापको समस्या, दाँतमा किरा लागेको, हल्लिएको, खानपीनमा समस्या भएको, दाँतको संक्रमण भएकोलगायत समस्या देखिएको उपचारमा संलग्न सञ्जिवनी डेन्टल क्लिनिकका दन्तरोग विशेषज्ञ डा. आशिष उप्रेतीले जानकारी दिएका छन् । उनका अनुसार, शिविरमा ४२ जना ज्येष्ठ नागरिकले सेवा लिएका छन् । समस्या पहिचान भएकाहरुलाई निशुल्क औषधीसमेत प्रदान गरिएको थियो ।

निशुल्क दन्त शिविरको उद्घाटन गर्दै प्रमुख अतिथि घोराही उपमहानगरपालिका वडा नं. १५ का अध्यक्ष रमेशकुमार पाण्डेले सामाजिक संघ संस्थाहरुले समुदायको हितमा काम गर्ने दायित्वलाई उप्रेती समाज सेवाले गरेर उदाहरणीय काम गरेको बताएका थिए । ज्येष्ठ नागरिकहरुमा दाँतको समस्या बढी हुने हुँदा यस प्रकारको कार्यक्रमले धेरैलाई राहत मिल्ने बताए । येष्ठ नागरिक दिवा सेवा केन्द्र घोराही १५ उत्साह टोलका संयोजक नारायणप्रसाद श्रेष्ठले समाजका सबैको हातेमालोबाट ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र संचालनमा सहज हुने बताएका थिए । उप्रेती समाज सेवाले यसअघि मानव सेवा घर नारायणपुरमा खाद्यान्न सहयोग, ज्येष्ठ नागरिक सरोकार केन्द्र तेरौटेमा चैते दशैमा खाद्यान्न र फलफूल सहयोग तथा गत असारमा रक्तदान कार्यक्रम गरेको समाजका अध्यक्ष शोभाकर उप्रेतीले बताएका छन् ।

उनका अनुसार घोराही १२ को हापुर रतनपुरमा कुल देवताको मन्दिरसँगै सूर्य पाञ्चायन मन्दिरको शिलान्यास गरिएको छ । विभिन्न दाताको सहयोगमा प्राप्त १ कट्ठा जमिन प्राप्त गरेको उक्त जग्गामा मन्दिर निर्माण हुन लागेको अध्यक्ष उप्रेतीले बताए । उप्रेती समाज सेवा दाङका शोभाकर उप्रेतीको अध्यक्षता तथा घोराही १५ का वडा अध्यक्ष रमेशकुमार पाण्डेको प्रमुख आतिथ्यमा शनिबार दिवा सेवा केन्द्रमा आउने ज्येष्ठ नागरिकहरुको दाँतको परिक्षणसँगै निशुल्क औषधी वितरण गरिएको थियो । ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रका सदस्य खगराज न्यौपानेको स्वागत मन्तव्यबाट शुरु भएको शिविर उदघाटन समारोहको सहजीकरण सचिव पार्वती रानाले गरेकी थिइन ।