घोराही,२८ बैशाख ।घोराहीस्थित गुरुकुल एकेडेमीले विद्यार्थीहरूको व्यवहारिक सीप विकास गर्ने उद्देश्यले ुसिलाई तथा टपरी बनाउने तालिमु सञ्चालन गरेको छ।
बुक फ्रि प्राइडेको अवसर पारेर विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी एक दिने विशेष शिविरको आयोजना गरिएको हो, जसअन्तर्गत सिलाई र टपरी बनाउनेजस्ता जीवनोपयोगी सीपहरू प्रदान गरिएको विद्यालयले जानकारी दिएको छ।
तालिमको क्रममा विद्यार्थीहरूलाई सिलाई तालिमसँगै दुना, टपरी बनाउने, सरसफाइ लगायत दैनिक जीवनमा आवश्यक पर्ने व्यवहारिक कार्यहरूमा समेत सक्रिय रूपमा संलग्न गराइएको थियो। विद्यार्थीहरूले समूहमा बसेर आपसी समन्वयमा तालिम सञ्चालन गरेका थिए, जसले उनीहरूमा सहकार्य, नेतृत्व क्षमता र आत्मनिर्भर बन्ने प्रेरणा प्रदान गरेको देखिएको छ।
विद्यालयका शिक्षक तथा परीक्षा संयोजक विवेक देवकोटाका अनुसार गुरुकुल एकेडेमी केवल किताबी ज्ञानमा सीमित नरही समग्र व्यक्तित्व विकासमा केन्द्रित रहेर यस्ता व्यवहारिक तालिमहरू सञ्चालन गर्दै आएको छ। “हामी विद्यार्थीहरूलाई व्यवहारिक जीवनका चुनौतीहरू सामना गर्न तयार बनाउने उद्देश्यले यस्तो तालिम सञ्चालन गरेका हौं,” उनले भने।
तालिममा सहभागी विद्यार्थीहरूले यस कार्यक्रमप्रति उच्च उत्साह व्यक्त गरेका थिए। पहिलो पटक आफैंले सिलाउने, टपरी बनाउने जस्ता कामहरू गर्न पाउँदा उनीहरूलाई नयाँ अनुभव भएको जनाएका छन्। केही विद्यार्थीहरूले घरमै गएर आमालाई सहयोग गर्ने इच्छा पनि व्यक्त गरेका छन्।
विद्यालयका सहायक प्रधानाध्यापक महेन्द्र पौडेलले आगामी दिनहरूमा अझ विस्तारित रूपमा सीपमूलक तालिमहरू सञ्चालन गर्ने योजना रहेको जानकारी दिए । उनका अनुसार तालिमले बालबालिकाको जीवनमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको बताए।