गोरक्ष समाचारदाता
तुलसीपुर, २७ वैशाख । तुलसीपुरमा प्रथम राष्ट्रिय खोखो प्रतियोगिता शुक्रवारदेखि सुरु भएको छ । दाङ जिल्ला खोखो संघको आयोजनामा तुलसीपुरको अरनीको मैदानमा सुरु भएको हो । प्रथम राष्ट्रिय खोखो प्रतियोगिताको एक कार्यक्रमका बिच लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तिरणदास गौतमले गरेका हुन् ।
कार्यक्रममा बोल्दै गौतमले नेपालमा खेल क्षेत्रमा लगानी कम भएको बताए । उनले लुम्बिनी प्रदेशमा खेलखुद क्षेत्रमा न्यून मात्रामा बजेट रहेको भन्दै बजेट अभावकै कारण अपेक्षा अनुसार खेलकुद क्षेत्रको विकास हुन नसकेको बताए । ‘खेलकुद क्षेत्रमा थोरै प्रतिशत बजेट हुन्छ, बजेट अभावकै कारण अपेक्षा अनुसारको काम गर्न सकिएको छैन’, गौतमले भने ।
प्रमुख अथिति सदस्य सचिव गौतमले विश्वमा खोखो खेलको इतिहास लामो भए पनि नेपालको सन्दर्भमा भने यसको इतिहास धेरै लामो नरहेको बताए । उनले राज्यको लगानीले मात्रै खेलखुद क्षेत्रको विकास हुन नसक्ने भन्दै खेल क्षेत्रमा निजी क्षेत्रले पनि लगानी गर्न आवश्यक रहेको बताए । लुम्बिनी प्रदेशमै पहिलो पटक दाङ जिल्ला खोखो संघले राष्ट्रियस्तरको प्रतियोगिता सञ्चालन गरेको भन्दै उनले आयोजकलाई धन्यवाद दिएका थिए ।
खोखो संघ दाङ जिल्ला अध्यक्ष बालकृष्ण शाहको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल खोखो संघका केन्द्रीय अध्यक्ष प्रदीप महर्जन, केन्द्रीय बरिष्ठ उपाध्यक्ष छत्रबहादुर शाही, उपाध्यक्ष लक्ष्मीनारायण वैद्य, लुम्बिनी प्रदेश खेलखुद परिषद्का सदस्य मुक्तिप्रसाद न्यौपाने, दाङ जिल्ला खेलखुद विकास समितिका कार्यालय प्रमुख राकेश परियार, बर्दिया जिल्ला खेलखुद विकास समितिका कार्यालय प्रमुख भुपेन्द्र पुन मगर, नेपाल खोखो संघका केन्द्रीय सदस्य उषा कँवर मगर, लुम्बिनी प्रदेश खोखो संघका अध्यक्ष तुलबहादुर थापालगायतको सहभागिता रहेको थियो ।
शुक्रवारदेखि सुरु भएको खोखो प्रतियोगिता वैशाख २८ गतेसम्म चल्ने भएको छ । प्रतियोगितामा ६ वटा प्रदेश र एउटा विभागीय टिम गरी सातवटा टिमको सहभागिता रहेको छ । खेलमा सहभागी हुने खेलाडीलाई खाने बस्नेसहित यातायात खर्चको समेत व्यवस्था गरिएको छ । यसैगरी प्रतियोगितामा प्रथम पुरस्कार ५० हजार, द्वितीय पुरस्कार ३० हजार र तृतीय पुरस्कार २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ । खोखो प्रतियोगितामा सहभागिताका लागि देशैभरका खेलाडी तुलसीपुर आइपुगेका छन् ।
खेलका लागि एउटा प्रदेशबाट १२ जना खेलाडी र एक जना कोच आएका छन् । प्रतियोगिता सञ्चालनका लागि २७ लाख ६० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । खेलको मुख्य प्रायोजकमा रहेको तुलसीपुर उपमहानगरपालिकाले पाँच लाख रुपैयाँ सहयोग गरेको छ । कार्यक्रमको सहजीकरण खेलकुद पत्रकार संघ दाङका अध्यक्ष लक्ष्मण बस्नेतले गरेका थिए । यसैबिच शुक्रवार सम्पन्न उद्घाटन खेलमा लुम्बिनी प्रदेशले बिजयी यात्रा सुरु गरेकोछ ।
गण्डकी प्रदेश लाई आफ्नो पहिलो लिग खेलमा ३ का विरुद्ध १६ अंकले पछाडी पार्दै लुम्बिनी ले बिजयी यात्रा सुरु गरेको हो । त्यस्तै दोस्रो खेलमा कोशि प्रदेश लाई ११ का विरुद्ध २४ अंकले पराजित गर्दै सुदुर पश्चिम प्रदेश बिजयी भयो । ४ दिन सम्म चल्ने प्रतियोगितामा एक बिभागिय टिम नेपाल आर्मि र ६ प्रदेश गरि जम्मा ७ टिमको सहभागिता रहेको छ । खेल लिगकम नकाउट प्रणालिमा खेलाइने आयोजकले जानकारी दिएकोछ ।