महिलालाई उद्यमी बनाउन सिपमूलक तालिम

टेकबहादुर पुन
देउखुरी, २७ वैशाख । महिलाहरूलाई उद्यमी बनाउन साबुन र सर्फ बनाउने तालिमको आयोजना गरिएको छ । लमही नगरपालिका वडा नम्बर ९ वडा कार्यालयले वडाभित्रका ३० जना महिलालाई साबुन र सर्फ बनाउन सिकाइएको छ । तालिम सकिएलगत्तै आयआर्जनको बाटो पहिल्याउने गरी महिलालाई साबुन र सर्फ बनाउन सिकाइएको हो ।

‘सिप प्रमाणमात्रमा मात्र सीमित हुनका लागि यो तालिम आयोजना गरिएको होइन’, लमही नगरपालिका वडा नं. ९ का वडाध्यक्ष भेषबहादुर केसी ‘रमेश’ले भने, ‘सिप सिकेर व्यवहारमा लागु गर्नु होस्, आयआर्जनमा जोडिनुहोस् ।’ उत्पादन गरेका सामग्रीको बजारीकरणमा स्थानीय सरकारले सहयोग गर्ने बताउँदै उनले विपन्न समुदायको आर्थिक अवस्थामा तालिमले सहयोग गर्ने बताए । लमही नगरपालिका ९ नं. वडा कार्यालयको आर्थिक सहयोग तथा कर्मठ सामाजिक उद्यमी महिला सहकारीको अयोजनामा तालिमको सञ्चालन भएको हो ।

वडाको वार्षिक कार्यक्रम अनुसार वडा अन्तर्गत रहेका ३० जना महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम आयोजना गरिएको लमही नगरपालिका वडा नं. ९ का वडाध्यक्ष केसीले जानकारी दिए । वडाबासीलाई आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालन गरिएको तालिम सात दिनसम्म चल्ने छ । सिप सिकेर परिवारको अर्थोपार्जनका लागि टेवा पु¥याउने उद्देश्यले तालिमको आयोजना गरिएको कर्मठ महिला सहकारीले जनाएको छ ।

तालिम पश्चात् उत्पादित सामग्रीलाई स्थानीय सरकारले बजारीकरणमा भूमिका खेल्ने वडाध्यक्ष केसीले बताए । महिला दिदीबहिनीलाई उल्लिखित प्रकृतिका तालिमको माध्यमबाट स्वरोजगारको वातावरण सिर्जना गरी आत्मनिर्भर बनाउँदै लैजाने लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरीले बताए । उनले राज्यको स्रोत र साधनको उपयोगबाट वञ्चितवर्गसम्म पुयाई अल्पकालीन तालिम ग्रामीण समुदायसम्म सञ्चालन गरिने बताए ।

विशेष सिप रोजगार अवसर उपलब्ध गराई युवावर्गको आयआर्जनको दायरा विस्तार तथा क्षमता विकास गर्दै लगिने उनको भनाइ छ । युवा तथा महिलाका लागि उद्यम विकाससँगै सिपमूलक तालिमको आवश्यकता रहेको उनले बताए ।