२८ वर्ष पढाएकी कल्पनालाई सम्मानसहित विदाई
गोरक्ष समाचार
दाता दाङ, २७ वैशाख । हिन्दू विद्यापीठ नेपाल घोराही दाङले एक कार्यक्रमको आयोजना गरी लामो समयदेखि विद्यालयमा अध्यापन गरेकी शिक्षकलाई सम्मान गरेको छ ।
कार्यक्रम विद्यालयका प्रधानाध्यापक पिताम्बर रिजालको अध्यक्षता तथा विद्यालयका संस्थापक प्राचार्य एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा भोलानाथ योगीको प्रमुख आतिथ्यता र विद्यालयका संयोजक मधुसूदन पन्तको विशिष्ट आतिथ्यतामा भएको थियो ।
कार्यक्रममा २८ वर्ष लामो समय अध्यापन गराएकी शिक्षक कल्पना पन्त शाक्यलाई बिदाइ गरिएको थियो । विद्यालयका संस्थापक प्राचार्य डा. भोलानाथ योगीले शिक्षक शाक्यलाई दोसल्ला र सम्मानपत्रसहित ५० हजार रुपैया प्रदान गरेका थिए ।
कार्यक्रममा बोल्दै बिदाइ भएर जान थालेकी शिक्षक शाक्यले आफू निरन्तर रूपमा २८ वर्ष अध्यापन गर्दा बालबालिकासँग सिक्दै सिकाउँदै गर्दा समय बितेको पत्तै नभएको बताइन् । आफूले पढाएका विद्यार्थी डाक्टर, इन्जिनियर र पाइलटजस्ता उच्च पदमा पुगेको देखेर आफू गौरवान्वित भएको बताइन् ।
कार्यक्रममा प्रमुख अतिथि डा.योगीले नयाँ व्यवस्थापन साथ सञ्चालनमा आएको यस विद्यालयले शिक्षकको मूल्याङ्कन गर्दै नगदसहित सम्मान गरेकोप्रति विद्यालय प्रशासनलाई धन्यवाद दिए । जिल्लामै पहिलो कार्यक्रम गरेर निजी विद्यालयमा लामो समयसम्म कार्यरत शिक्षकलाई थोरै भए नगदसहित सम्मान गरेको पहिलो विद्यालय भएको भन्दै धन्यवाद व्यक्त गरे ।
बाल शान्तिगृहका बालबालिकाको स्वस्ति वाचनबाट सुरु भएको कार्यक्रममा विद्यालयका कोअर्डिनेटर तथा विशिष्ट अतिथि मधुसूदन पन्त, नयाँ शिक्षकका तर्फबाट स्नेहा केसी, सुरेन्द्र बुढा मगर, विद्यालय प्रधानाध्यापक पिताम्बर रिजाल, प्रशासन प्रमुख तथा लेखापाल खड्ग शर्मा, मन्टेश्वरी प्रमुख तथा इञ्चार्ज पुष्पा रावत, विद्यार्थीहरू रिया हलुवाई र निर्दाेष विकलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा भर्ना भए नयाँ विद्यार्थी, नयाँ शिक्षकलाई खादा र टीका लगाएर स्वागत गरिएको थियो । कार्यक्रममा विद्यार्थीले गीत तथा नृत्य प्रस्तुत गरेका थिए भने कार्यक्रमको सहजीकरण परीक्षा कोअर्डिनेटर बामदेव पोख्रेलले गरेका थिए ।
