calander

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  

Goraksha

National Daily

राजमार्ग क्षेत्रमा फोहोर रोक्न अभियान चलाइने

गोरक्ष समाचारदाता
भालुबाङ, २६ वैशाख । राप्ती गाउँपालिकाले सवारीसाधन तथा यात्रुबाट राजमार्ग क्षेत्रमा हुने फोहोरजन्य गतिविधि नियन्त्रण गर्न कडाइका साथ अभियान सञ्चालन गरिन भएको छ ।

शुक्रवार भएको फोहोरमैला व्यवस्थापन तथा सरसफाइसम्बन्धी अन्तरक्रिया कार्यक्रममा सरसफाइ अभियानलाई प्रभावकारी बनाउने निर्णय गरिएको हो । गाउँपालिका अध्यक्ष प्रकाश विष्टका अनुसार अभियानको प्रारम्भिक चरणमा एक महिनासम्म सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ । त्यसपछि सार्वजनिक स्थानमा जथाभावी फोहोर फाल्ने कार्य यथावत् रहे सरसफाइ ऐन अनुसार कानूनी कारबाही गरिने छ ।

राजमार्ग क्षेत्रमा फोहोरजन्य गतिविधिले गाउँपालिकाको छवि बिगार्ने उल्लेख गर्दै अध्यक्ष विष्टलले सरसफाइको सवालमा कुनै सम्झौता नगर्ने बताए थिए । अध्यक्ष विष्टले भने, ‘सार्वजनिक क्षेत्र सफा राख्ने जिम्मेवारी पालिकाको मात्र होइन, सम्पूर्ण नागरिकको साझा कर्तव्य हो । नागरिक अनुशासन र चेतनाको विकास बिना दिगो सरसफाइ सम्भव छैन ।’ उनका अनुसार पूर्ण सरसफाइयुक्त गाउँपालिका निर्माणका लागि ‘सरसफाइ रनिङ शिल्ड प्रतियोगिता’समेत सञ्चालन गरिएको छ ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत देवीराम पाठकले सरसफाइका सवालमा पालिकाको स्पष्ट दायित्व रहेको उल्लेख गर्दै स्वच्छ र स्वस्थ वातावरण निर्माणमा सबै पक्षको सहभागिता अपरिहार्य रहेको बताए । उनले सहभागीले प्रस्तुत गरेका सुझावलाई यथासम्भव कार्यान्वयन गरिने बताए ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख प्रहरी निरीक्षक पुष्करसिंह ऐरी, नमुना बजार टोल विकास संस्थाका अध्यक्ष विष्णुप्रसाद बोहरा, सिसहनिया उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरीप्रसाद अधिकारी, भालुबाङ होटल व्यवसायी समितिका उपाध्यक्ष पुनाराम भुसाल, प्रगतिनगर सहरी खानेपानी तथा उपभोक्ता संस्थाका अध्यक्ष भरतप्रसाद पाण्डे, हनुमानगढी टोल विकास संस्थाका अध्यक्ष मोहन जिसी, लायन्स क्लब अफ राप्तीका सचिव कृष्णराज पौडेल, भालुबाङ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष हस्तबहादुर गुरुङ, मौरीघाट बजार व्यवस्थापन समितिका अध्यक्ष बेगमबहादुर बस्नेत, सदस्य तेजेन्द्रसिंह ठकुरीलगायतका सहभागीले राजमार्गसँगै भित्री गाउँ तथा टोलमा पनि सरसफाइ अभियान विस्तार गर्नुपर्ने, सार्वजनिक स्थानमा डस्टविनको व्यवस्था गर्नुपर्ने, जथाभावी फोहोर फाल्नेलाई कानून अनुसार कारबाही गर्नुपर्ने बताएका थिए ।

उनीहरूले अभियानलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न संस्थागत समन्वय र सामूहिक प्रयास आवश्यक रहेको बताएका थिए । कार्यक्रममा सरसफाइ शाखा प्रमुख गीता चौधरी र वातावरणविद् मुमाराम भुसालले पालिकाद्वारा हालसम्म सञ्चालित सरसफाइ गतिविधिबारे जानकारी गराएका थिए । कार्यक्रमको सहजीकरण सरसफाइ सुपरीवेक्षक सुरेश बैमा मगरले गरेका थिए । गाउँपालिकाले सरसफाइ कार्यलाई व्यवस्थित गर्न ‘सरसफाइ केन्द्र’ स्थापना गरेर प्लास्टिकजन्य फोहोरबाट विभिन्न इन्टरलक र टायल उत्पादन गरिरहेको छ ।