जीविकोपार्जनका लागि बङ्गुर र बाख्रा

गोरक्ष समाचारदाता
दंगीशरण, २७ वैशाख । दंगीशरण गाउँपालिका वडा नम्बर ३ की ४३ वर्षीया रमिता चौधरीको बङ्गुर पाल्ने रहर धेरै पहिलेदेखि थियो तर आर्थिक अभावका कारण त्यो रहर केवल मनभित्रै थियो ।

घरको आम्दानी नहुँदा श्रीमान्ले मजदुरी गरेर ल्याएको पैसाले गुजारा चलाउनै गाह्रो हुन्थ्यो । रमिताले भनिन्, ‘अरूले बङ्गुर पालेको देख्दा मैले पनि पाल्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो, त्यो सपना पूरा भएको छ । तपाईँहरूले दिएको बङ्गुरबाट क्रमशः बढाउँदै लगेर एक दिन सफल बङ्गुरपालक बन्ने छु ।’

दंगीशरण–७ बुटुनियाकी साबित्रा केसी पनि दुईवटा बाख्रा सित्तैमा पाएपछि खुसी भएकी छन् । कमाउने बाटो केही नभएका बेला समूहबाट छनोट भएर बाख्रा पाएर खुसी भएको बताइन् । आफूले पाएको बाख्राका पालन पोषण गरेर आम्दानी गर्ने सपना देखेको उनले बताइन् ।

रमिता र सावित्रा मात्र होइन नेपाल महिला सामुदायिक सेवा केन्द्र, दाङ र नागरिक आवाज, ललितपुरको सहकार्यमा सञ्चालित सामुदायिक सुरक्षाजालो कार्यक्रम अन्तर्गत दंगीशरण गाउँपालिका शान्तिदीप महिला समूहका पाँच जना महिलालाई बङ्गुर र बाख्रा वितरण गरिएको हो ।

शुक्रवार दंगीशरण गाउँपालिका वडा नं. ४ हेकुलीमा आयोजित कार्यक्रममा नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङकी अध्यक्ष कल्पना न्यौपानेले प्रतिव्यक्ति दुईवटाका दरले बाख्रा वितरण गरेकी हुन् । कार्यक्रममा बोल्दै अध्यक्ष न्यौपानेले महिलालाई सामाजिक सशक्तीकरणसँगै आयआर्जनको माध्यमबाट आत्मनिर्भर बनाउन संस्थाले बाख्रा वितरण गरेको बताइन् ।

‘सानो व्यवसायबाटै ठुलो व्यापारी बन्न सकिन्छ । महिलाले व्यवसाय कस्तो बनाउने मात्र नभई आफू कस्तो बन्ने भन्ने कुरा आफ्नो सोच र कार्यशैलीमा भर पर्छ । त्यसैले उद्यमी बन्ने उद्देश्य राखेर काम गर्नुपर्छ ।’ कार्यक्रममा समूह सदस्य कमला वलीले थोपा–थोपा मिलेर समुद्र बन्ने भन्दै निरन्तर परिश्रम गरे सफल भइने बताइन् ।
सामुदायिक सुरक्षा जालो कार्यक्रमका संयोजक लीला शाहले महिलालाई आर्थिक रूपमा सबल बनाउने उद्देश्यले सुरु गरिएको यो कार्यक्रम सफल बनाउन नवउद्यमीलाई आग्रह गरिन् । कार्यक्रमको सहजीकरण कल्पना डाँगीले गरेकी थिइन् ।