नारायणपुर सडक खाना महोत्सव : परिकार र संस्कृतिको उत्सव

दाङ, २६ बैशाख । घोराही उपमहानगरपालिका–९ बकुलाहीस्थित ज्ञानकुञ्ज ईङ्गिस स्कुलमा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुका हातमा शुक्रबार पाठ्यपुस्तक थिएन । विद्यालय पोशाकमा आएपनि सँधै जसोको किताबी ज्ञानभन्दा फरक अभ्यासमा थिए, विद्यार्थी ।

‘सडकमा जाऔँ, सडकमै रमाऔँ’ भन्ने नाराका साथ बुद्ध सपिङ सेन्टर परिसरमा नारायणपुर उद्योग वाणिज्य संघले आयोजना गरेको सडक महोत्सवमा सहभागी भएका विद्यार्थीले आफैले बनाएका विभिन्न परिकार बिक्री गरेका थिए । स्थानीय थारु समुदायको खानपान तयार पारेर बिक्रि गर्न आएका विद्यार्थीले घोँघी, मार, ढिक्री, आलुको अचार, खुर्मा बनाएर सडक खाना महोत्सवमा बिक्री गरेका हुन ।

सडक खाना महोत्सवमा सहभागी भएकी विद्यार्थी सुविधा शाहले पहिलो पटक खानेकुरा तयार पारेर महोत्सवमा बिक्रि गर्न पाउँदा नयाँ अनुभव भएको बताइन । विद्यालयमा पढाईसँगसँगै महोत्सवमा यसरी नास्ता बनाएर बिक्री गर्दा व्यवहारिक ज्ञान प्राप्त भएको बताइन । विद्यालयकी शिक्षक नमा पौडेलले कक्षामा दिईने किताबी ज्ञानलाई व्यवहारमा लागु गर्न विद्यार्थीलाई सिकाउने उद्देश्यले उद्योग बाणिज्य संघले आयोजना गरेको सडक खाना महोत्सवमा विद्यार्थीलाई सहभागी बनाएको बताइन ।

नारायणपुरकै ग्रेट बुद्ध एकेडेमीका विद्यार्थीहरुले पनि खानेकुरा पकाएर सडक महोत्सवमा बिक्रिका लागि स्टल राखेका थिए । उनीहरुले अनदीको रोटी, सेल रोटी, आलुको अचार, पुरी, काक्रा, आलु चिप्स, ढिक्री, स्विट कर्नलगायत खानेकुराका परिकार बनाएर बिक्रि गरे । विद्यार्थी अञ्जली गुरुङले खानेकुरा बनाउन र बजार ल्याएर बिक्रि गर्न निकै चुनौति हुने गरेको अनुभव भएको बताइन । कक्षा कोठामा लिएको ज्ञानभन्दा व्यवहारमा गरिने काम फरक भएको भएपनि यसरी साथीहरुसँग मिलेर काम गर्दा उत्साहित भएको बताइन ।

विद्यार्थीसँगै घोराही उपमहानगरपालिका–१० नारायणपुर निवासी मनकुमारी चौधरीले पनि थारु परिकार सडक महोत्सवमा बिक्री गरिन । पहिलो पटक घर नजिकै नारायणपुर बजारमा थारु परिकार बनाएर बिक्री गरेको बताइन । आफसँगै सात जनाको समुह थारु परिका ढिक्री, भालेको मासु, मौवाको रक्सी, जाँडको झोललगायत खानेकुरा लिएर सडक महोत्सवमा बिक्रीका लागि आएको बताइन ।

सडक महोत्सवमा स्थानीय खानेकुराका साथै दाङमा उत्पादन हुने सिमठारो धानको चामल, तिलकीको चामल, मह, तोरीको तेल, सिन्कीलगायत थुप्रै बस्तु बिक्रिका लागि राखिएको थियो । सडक महोत्सवमा नारायणपुर क्षेत्रमा संचालित विद्यालयबाट विद्यार्थीहरुको सांस्कृतिक प्रस्तुति राखेका थिए । विभिन्न जातिगत भेषभूषामा सजिएर सहभागी भएका विद्यार्थीहरुको सांस्कृतिक प्रस्तुति देखाएका नारायणपुर उद्योग वाणिज्य संघका अध्यक्ष अनिल बस्नेतले बताए ।

स्थानीय उत्पादन उपयोगसँगै प्रवद्र्धन गर्न र स्थानीय अर्थतन्त्र चलायमान बनाउन सडक महोत्सव आयोजना गरिएको बताए । नारायणपुर उद्योग वाणिज्य संघले पहिलो पटक आयोजना गरेको सडक महोत्सव स्थानीय कलासंस्कृतिको प्रवद्र्धन, स्थानीय उत्पादन तथा स्थानीय खानापरिकारको प्रवद्र्धनका लागि आयोजना गरिएको र यसले उत्साह बढाउने काम गरेको बताए । नारायणपुर उद्योग बाणिज्य संघका अध्यक्ष अनिल बस्नेतको अध्यक्ष तथा प्रमख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले स्थानीय कला,सस्कृतिको प्रवद्र्धनसँगै व्यवसायिक चहलपहलका लागि यस्ता गतिविधिहरु गर्न आवश्यक रहेको बताएका थिए ।

महोत्सवमा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन, दाङ उद्योग बाणिज्य संघका अध्यक्ष बसन्त जोशी, जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक अर्जुनप्रसाद तिमिल्सेना, विजौरी उद्योग बाणिज्य संघका अध्यक्ष रेश्मीराज खड्का, नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य जानुका केसी, प्याव्सन दाङका अध्यक्ष निर्मल न्यौपाने, नारायणपुर खानेपानी तथा सरसफाई सस्थाका अध्यक्ष कुलप्रसाद रजौरे ‘श्रवण’लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

त्यस अवसरमा गायक शरद समिप,हरि डिसी,प्रकाशप्रिय कुसुम्या, टोपेन्द्र विष्टले गीत प्रस्तुत गरेका थिए । नारायणपुर उद्योग बाणिज्य संघका उपाध्यक्ष बसन्त न्यौपानेको स्वागत मन्तव्यवाट सुरभएको कार्यक्रमको सहजीकरण महासचिव जागेश्वरप्रसाद डाँगी र प्रेस संयोजक आदिम केसीले गरेका थिए ।