calander

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031

Goraksha

National Daily

मटावाँ÷बरघर÷भल्भन्साको प्रस्तावित विधेयक हस्तान्तरण

गोरक्ष समाचारदाता
दाङ, २६ वैशाख । मटावाँ÷बरघर÷भल्भन्साको प्रस्तावित विधेयक २०८२ को सुझावसहित लुम्बिनी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । संवाद समूह सचिवालय तुलसीपुरले लुम्बिनी प्रदेश सरकारले बनाउन लागेको थारू समुदायको प्रथाजनित मटावाँ÷बरघर÷भल्भन्साको प्रस्तावित विधेयकका विषयमा केही समयदेखि सरोकारवाला पक्षसँग भएका पटकपटक संवाद सहजीकरण गरी सुझाव सङ्कलन गरेको थियो ।

सामाजिक विकास मन्त्रालयको आग्रहमा पश्चिम नवलपरासीदेखि बर्दियासम्म तथा कैलाली, कञ्चनपुर र सुर्खेत जिल्लाका थारू समुदायको प्रथाजनित मटावाँ÷बरघर÷भल्मन्साको, सङ्घीय तथा प्रदेश सभा सदस्यहरू, स्थानीय तहका जनप्रतिनिधि, विभिन्न गैरसरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, थारू समुदायका गुरुवा तथा संस्कृतिविद्लगायतसँग संवाद गरिएको थियो । संवादबाट आएका विभिन्न सुझावलाई प्रस्तावित विधेयक २०८२ मा समावेश गरिएको संवाद समूह सचिवालय तुलसीपुरले जनाएको छ ।

विधेयक पारित भई ऐन कार्यान्वयनमा आए थारू समुदायको परम्परागत प्रथाजनित क्रियाकलाप समुदायमा लागु हुने विश्वास गरिएको छ । विभिन्न चरणमा लक्षित समुदाय र प्रदेश सरकारसँगको छलफल र संवाद सम्पन्न गरी आएको सल्लाह सुझावलाई समेत नीतिमा समावेश गरी लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनालाई एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरिएको संवाद समूहका सहसंयोजक इन्द्रबहादुर चौधरीले जानकारी दिए ।

मटावाँ÷बरघर÷भल्भन्साको प्रस्तावित विधेयक हस्तान्तरण कार्यक्रममा बरिष्ठ सहजकर्ता सुशील बस्नेतले नीतिमा उल्लेख भएका विषयवस्तु, र थारू समुदायको परापूर्वकालदेखि प्रथाजनित रूपमा चल्दै आएको प्रजातान्त्रिक पद्धति, विकासक्रम र समुदाय परिचालनको विषयबारे नीतिले बोल्नु पर्ने जनाउँदै यस नीतिले उक्त विषयहरू उजागर गरेको जानकारी गराएका थिए । प्रस्तावित विधेयक हस्तान्तरण कार्यक्रममा बेस संस्थाका कार्यकारी निर्देशक चुर्णबहादुर चौधरीले प्रदेश सरकारले मटावाँ÷बरघर÷भल्भन्साको नीति प्राथमिकतामा राखी नीति निर्माण गर्न लागेकोमा धन्यवाद दिँदै यो नीति प्रदेश सभाबाट पारित भई कार्यान्वयनमा आउने विश्वास ब्यक्त गरे ।

लुम्बिनी प्रदेशको मटावाँ÷बरघर÷भल्भन्साको नीति २०८२ बेस संस्थाका कार्यकारी निर्देशक चुर्णबहादुर चौधरी र बरिष्ठ सहजकर्ता सुशीलकुमार बस्नेतले संयुक्त रूपमा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना तथा सामाजिक विकास मन्त्रालयका बरिष्ठ अधिकारीहरूलाई हस्तान्तरण गरेका हुन् । ‘द एसिया फाउन्डेसनको आर्थिक सहयोग, बेस संस्थाको व्यवस्थापन र संवाद समूह सचिवालय तुलसीपुरको सहजीकरणमा प्रस्तावित मटावाँ÷बरघर÷भल्भन्साको विधेयक २०८२ हस्तान्तरण कार्यक्रममा सामाजिक विकास मन्त्री तिमिल्सिनाले थारू समुदायको प्रथाजनित नीति निर्माणमा संवाद समूहले गरेको सहजीकरणको भूमिकाको प्रशंसा गर्दै लुम्बिनी प्रदेश सभामा पेस गरी पारित गरिने प्रतिबद्धता जनाए । सोही अवसरमा उनले नीतिको समायोजन गरी संसद्मा अगाडि बढाउन सामाजिक विकास मन्त्रालयका सचिवलाई निर्देशन दिए ।