दृष्टिविहीन परिवारको घर निर्माण गरिँदै

गोरक्ष समाचारदाता
तुलसीपुर, २२ वैशाख । दृष्टिविहीन परिवारको घर निर्माणको अभियान सुरु भएको छ । तुलसीपुरका युवा व्यवसायी यज्ञबहादुर केसीसहितको टिमले घर निर्माणको अभियान सुरु गरेका हुन् ।

केसीले आफ्नो जन्मदिनको अवसरमा सोमवार सामाजिक अभियानअन्तर्गत घर निर्माणको शुभारम्भ गर्दै एक महिनाभित्र घर निर्माण कार्य गरिसक्ने बताए । एकै परिवारका चारजना दृष्टिविहीन गणेश गन्धर्व परिवार रुकुमबाट बसाइँ सर्री तुलसीपुर–४ स्थित गणेश टोलमा भाडामा बस्दै आएका छन् । केसीले सोमवार इन्जिनियर पवन योगीसहित गणेशले घर निर्माण गर्ने स्थानमा पुगेर घर निर्माणको शुभारम्भ गर्दै आफू र अन्य सहयोगी दाता सामाजिक अभियान्ताको सहयोगबाट घर निर्माण सम्पन्न गर्ने बताए ।

केसीले घर निर्माणका लागि यसअघि निर्माण सामग्री केही उपलब्ध गराएको र आवश्यक दृष्टिविहीन परिवारको घर निर्माण गरिँदै थप निर्माण सामग्री उपलब्ध गराउने बताए । केसीले डेनमार्कमा बस्दै आएका छोरा राजबाबु केसीले आफ्नो पहिलो कमाइ जन्मदिनको अवसरमा २५ हजार पठाइदिएको भन्दै उक्त रकम गन्धर्वको परिवारलाई हस्तान्तरण गरेका थिए । ‘हामीले यस अघि पनि विभिन्न समयमा संघसंस्था र व्यक्तिमार्फत् सहयोग गर्दै आएका थियौँ तर त्यत्तिले पुग्दैन, स्थायीबास निर्माण गर्नुपर्छ भनेर यो अभियान थालेका हौँ’, केसीले भने ।

उनले यो अभियानमा सहयोग गर्न सबैलाई आग्रहसमेत गरे । यसैगरी दृष्टिविहीन गणेशले आफूहरू भाडामा बस्दै आएको र अहिले केसीको अगुवाइमा घर निर्माण अभियान सुरु गरेको भन्दै साथ सहयोगका लागि सबैमा आग्रह गरे । ‘यो अभियान यज्ञ केसीले सुरु गर्नुभएको छ, देशविदेशमा रहनुभएका सबैले सहयोग गर्नुहोला’,गन्धर्वले भने । गणेशसहित उनका तीन बहिनी गरी चारजना दृष्टिविहीन छन् ।