विद्यार्थीका लागि कथा लेखन कार्यशाला

टेकबहादुर पुन
देउखुरी, २२ वैशाख । गोरखा मोडेल सेकेन्डरी स्कुल लमहीले विद्यार्थीको सिकाइका लागि तीनदिने कथा लेखन कार्यक्रम गरेको छ । ‘कथाले समाज बोल्छ’ भन्ने भनाइलाई आत्मसात गर्दै आयोजना गरिएको कथा लेखन कार्यशालाले विद्यालय स्तरमा साहित्यिक अभिरुचि भएका विद्यार्थीलाई कथा लेखनमा उत्प्रेरणा दिने उद्देश्यले कार्यक्रम गरिएको विद्यालयले जनाएको छ ।

कथा लेखन कार्यशालाको आइतवार समापन गरिएको छ । विद्यार्थीसँगको तीनदिने बसाइँमा प्रशिक्षक साहित्यकार विजयराज आचार्यले कथा लेखनका आधारभूत तत्वहरू पात्र, परिवेश,संवाद, दृष्टिकोण र संरचनाबारे प्रशिक्षण दिनुका साथै विद्यार्थीलाई अभ्यासका अवसरसमेत दिएका थिए । कार्यक्रममा नागरिक समाज दाङका संयोजक निमबहादुर थापाले कथा लेखन युवाहरूको सिर्जनात्मक अभिव्यक्तिको सशक्त माध्यम भएको बताउँदै यस्ता कार्यशालाले नयाँ पुस्तामा साहित्यिक चेतना र अभिरुचि जागृत गर्ने विश्वास व्यक्त गरे ।

थापाले कथा लेखन केवल कल्पना मात्र नभई समाज, समय र अनुभूतिहरूको जीवन्त चित्रण रहेको बताए । थापाले भने, ‘साहित्यले राष्ट्रको आत्मा बोल्छ । यस्ता प्रशिक्षणले भावी लेखकका हुर्काइमा महत्वपूर्ण योगदान पु¥याउँछ ।’ कार्यशालाको समापन समारोहमा विद्यार्थीले आफैँले तयार गरेका कथाहरू विद्यार्थीका लागि कथा लेखन कार्यशाला वाचन गरेका थिए । जसले उपस्थित सबैलाई मन्त्रमुग्ध बनाएको थियो । केही कथाहरू सामाजिक यथार्थ, किशोर मनोविज्ञान र परम्परागत संस्कृतिमा आधारित थिए । केही कथा समसामयिक प्रविधि र भविष्यवादी कल्पनामा केन्द्रित थिए ।

यस्तो विविधताले विद्यार्थीमा सिर्जनात्मक सोचको विकास भएको देखिए उपस्थित अतिथिले बताएका थिए । कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य लोकमान रिजालले विद्यार्थीमा लुकेको प्रतिभालाई उजागर गर्ने खालका कार्यक्रम भविष्यमा पनि निरन्तरता पाउने बताए । कार्यशालाले विद्यार्थीमा लेखनको आत्मविश्वास र सामाजिक चेतनाको विकास गर्नेमा विश्वास व्यक्त गर्दै उनले आगामी दिनमा कविता, निबन्ध तथा नाटक लेखनसम्बन्धी कार्यक्रम सञ्चालन गरिने जानकारी दिए ।

कार्यक्रम विद्यालयको साहित्यिक गतिविधिको नियमित शृङ्खलाको हिस्सा भएको विद्यालयले जनाएको छ । कथा लेखनमा कार्यशालामा सहभागी विद्यार्थीले कथा लेखनका आधारभूत ज्ञान प्राप्त गरेको बताउँदै भविष्यमा अझ उत्कृष्ट र लेखनमा निखारपन ल्याउने बताएका थिए । तीनदिने कथा लेखन कार्यशालाले विद्यालय र विद्यार्थी दुवैका लागि सिर्जनात्मक र ज्ञानवर्धक अनुभव गराएको विद्यालयले बताएको छ । कार्यक्रममा साहित्यकार, विद्यार्थी, अभिभावक, शिक्षक, पत्रकारलगायतको उपस्थिति रहेको थियो ।