खेमराज रिजाल
गढवा, २२ वैशाख । हजार माइलको यात्रा शून्य माइलबाटै सुरु हुन्छ तर गन्तव्यकोरिनु पर्छ । मुलुकका सबै नागरिकका आआफ्नै क्षमता छन्, आआफ्नै दक्षता छन् तर जीविकोपार्जनका लागि अवसर भने सबैलाई चाहिन्छ । यही अवसरको खेती सुरु गरेपछि गढवाका शारीरिक अपाङ्गता भएका व्यक्तिहरू व्यवसाय गरेर गरिखाने बाटोमा उभिने तयारीमा छन् ।
श्रमलाई पैसामा कन्भर्ट गरेर जीविकोपार्जन गर्न गढवा गाउँपालिकाको महिला तथा ज्येष्ठ नागरिक शाखाले अपाङ्ग भत्ता नपाउनेका लागि सावुन, सर्फ र हर्पिक बनाउने तालिम दिन थाल्यो, अघिल्लो आर्थिक वर्षदेखि । अघिल्लो आर्थिक वर्षमा यति सानो बजेटमा उनीहरूले स्थानीय तहमैसर्फ उत्पादन गरे । चालु आर्थिक वर्ष भने यसलाई फराकिलो पार्दै गढवा गाउँपालिकाले अपाङ्ग भत्ता उपलब्ध गराउन राज्यले सम्बोधन नगरेका ‘ग’ र ‘घ’ वर्गका नागरिकलाई आयआर्जनमा जोड्ने प्रयास ग¥यो ।
वार्षिक कार्यक्रममा अधिक्तम ५० हजार रुपैयाँ बजेट विनियोजन भयो । त्यही बजेटमा केन्द्रित रहेर गढवा गाउँपालिकाले झोल साबुन र हर्पिक बनाउने तालिम दियो । त्यसको परीक्षण उत्पादनसमेत दिइसकेको छ । उपभोक्ताले यसलाई उन्नत भनिसकेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले जनाएको छ । यद्यपि यसको बजारीकरण भने भइसकेको छैन । ‘शारीरिक रूपमा अपाङ्ग तर राज्यले भत्ता उपलब्ध गराउने मापदण्डमा नपुगेकालाई यो तालिम दिएर स्वावलम्बी बनाउन यो तालिम दिइएको हो’, गढवा गाउँपालिका महिला, बालबालिका तथा
ज्येष्ठ नागरिक शाखा प्रमुख प्रेरणा चन्दले गोरक्षलाई भनिन् ।
उनका अनुसार अघिल्लो वर्ष उनीहरूलाई सर्फ बनाउने तालिम दिएर व्यावसायिक रूपमा बजारमा आइसकेको छ भने यो वर्ष झोल साबुन र हर्पिक उत्पादनमा जोडिएको छ । प्रेरणाका अनुसार यो वर्षको तालिममा पाँच महिला र तीन पुरुष गरी आठ जना सहभागी गढवा पालिकाको ‘झोल’ सावुन भएका थिए । तालिममा सहभागीले कुशलतापूर्वक हर्पिक र झोल साबुन बनाएपछि उनीहरूले सक्रिय लघुउद्यम संस्था पालिकामा दर्तासमेत गरिसकेका छन् ।
‘हामीले तालिम लिएपछि कुशलतापूर्वक तोकिएको गुणस्तरमा झोल साबुन र हर्पिक बनाइसक्यौँ तर बजारीकरणमा हामीलाई समस्या छ’, शारीरिक अपाङ्गता भएका व्यक्ति तथा तालिममा सहभागी भरत पन्तले भने । आफूहरू यी सामग्री उत्पादन गर्न दक्ष भएको भन्दै उनले आफूहरूलाई व्यवसायीकरणमा जोड्न स्थानीय सरकारको थप सहयोगको अपेक्षा गरे । ‘हामी यो अवसर दिने गाउँपालिकाप्रति आभारी छौँ र हामीले आवश्यकता अनुसार र माग अनुसार उत्पादन गर्न सक्छौँ तर हामी शारीरिक अपाङ्गता भएका भएका कारण बजारीकरणको जिम्मा स्थानीय सरकारले लिन सकोस भन्ने मात्रै हो’, भरतले गोरक्षसँग कुरा गर्दै भने उनी आफू मात्र नभएर आठ जनाले यो व्यवसायलाई सामूहिक रूपमा लैजानेसमेत प्रण गरे ।
स्थानीय सरकारले यसरी नै स्थानीय नागरिकलाई उत्पादनमा जोड्ने, उत्पादन भएका वस्तुहरूको बजारीकरणको प्रबन्ध मिलाउने हो भने वैदेशिक व्यापार घाटा कम हुँदै जाने पन्तको अपेक्षा थियो । सीमा नाकामा उपलब्ध हुने हर्पिक र सर्फभन्दा कम गुणस्तरको आफूहरूले उत्पादन नगरेको भरत पन्तको दाबी थियो तर यो विषयमा आफूहरूले कुनै पनि विज्ञापन नगरेको बताए । उनले यसलाई वार्षिक बजेट खर्च गर्ने कार्यक्रमका रूपमा मात्र नलिन गाउँपालिकालाई आग्रह गरे अब त्यसलाई आन्तरिक राजश्व कार्यालयमा दर्ता भएर पान नम्बर लिएपछि उनीहरूले उत्पादन गरेका सामानलाईगाउँपालिकाले बजारीकरणमा समेत योगदान पु¥याउने प्रेरणाले बताइन् ।
अहिले स्थानीय उत्पादनलाई गुणस्तरको भन्दा बजारीकरणको समस्या भएकाले स्थानीय उत्पादनलाई बजारीकरण गर्न स्थानीय सरकार लागि परेको छ । ‘उहाँहरूले खोलेको उद्योग आन्तरिक राजस्व कार्यालयमा दर्ता भएर पान नम्बर लिएपछि बजारीकरणका लागि गाउँपालिकाले जिम्मा लिनेछ’, प्रेरणाले गोरक्षलाई भनिन् । उत्पादन गर्ने उनीहरूले सबै कानुनी प्रक्रिया पुरा गरेपछि उत्पादित झोल साबुन र सर्फलाई गाउँपालिकाले खरिद गर्ने र बजारीकरण गर्ने योजना रहेको बताइन् । उनीहरूले सर्फ, हर्पिक र झोल साबुन बनाइरहँदा त्यसको कच्चा पदार्थ र आवश्यक प्राविधिक परामर्श भने घोराहीको प्रभु लघु उद्योगले उपलब्ध गराएको थियो ।
राजीव गौतम सो उद्योगका प्रवर्धक हुन् । उनले यी वस्तुहरूका अतिरिक्त कोरोनाको समयमा स्थानीय सेनिटाइजरसमेत उत्पादन गर्न स्थानीय सरकारलाई प्रोत्साहन गरेका थिए । स्थानीय कच्चा पदार्थ एवम् केही बाहिरबाट झिकाएपछि यस्ता उत्पादन जिल्लामै गर्न सकिने राजीव गौतमले बताएका थिए तर यसका लागि स्थानीय सरकार जागरुक हुनुपर्ने उनको अभिव्यक्ती थियो ।