दु:खहरण यादव
राजपुर,२२ बैशाख । दाङको विकट गाउँपालिका मानिने राजपुरले आर्थिक वर्ष ०८१र८२ को दोस्रो चौमासिक समिक्षासहित सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। सेवा प्रवाहमा पारदर्शिता, जवाफदेहिता र जनसहभागिता सुनिश्चित गर्ने उद्देश्यले आयोजित कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी र स्थानीय नागरिकबीच प्रत्यक्ष संवाद भएको थियो।
कार्यक्रममा प्रमुख वक्ताको रूपमा बोल्दै गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीले सेवा प्रवाहलाई जनमुखी बनाउँदै सबै वडामा विषयगत शाखासँग समन्वयमा सार्वजनिक सुनुवाइ अनिवार्य गर्ने नीति ल्याइने घोषणा गरेका थिए । “जनताको सेवा गर्नु जनप्रतिनिधिको बाध्यता होइन, जिम्मेवारी हो”, भन्दै उनले त्रुटि, ढिलासुस्ती र लापरबाही देखिएमा कारबाही गरिने स्पष्ट पारेका थिए।
गाउँपालिका उपाध्यक्ष धनपतीदेवी यादवले योजना छनोटदेखि कार्यान्वयनसम्म वडास्तरको सिफारिस अनिवार्य बनाइएको जानकारी दिँदै पारदर्शितामुखी नीति अपनाइएको बताइन्। “अब वडाको सिफारिसबिना कुनै योजना अघि बढ्दैन, अनुगमनबिना भुक्तानी हुँदैन”, उनले भनिन्। साथै, न्यायिक समितिको संयोजकको हैसियतले दर्ता भएका मुद्दामा निष्पक्ष र पीडितमुखी न्याय दिने प्रतिबद्धता व्यक्त गरिन्।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रेमन्तबहादुर डाँगीले चालु आर्थिक वर्षमा विनियोजित ६६ करोड ४८ लाख ८० हजार रुपैयाँमध्ये चालुतर्फ ४० करोड १६ लाख ९३ हजार र पूँजीगततर्फ २६ करोड ३२ लाख ७ हजार रहेको जानकारी दिए। उनले चालुतर्फ ४४.५३ प्रतिशत र पूँजीगततर्फ १७.१८ प्रतिशत मात्र भौतिक प्रगति भएको स्वीकार गर्दै ढिलो बजेट निकासा, टेन्डर प्रक्रिया, प्राविधिक अभाव र भौगोलिक विकटतालाई मुख्य चुनौतीका रूपमा उल्लेख गरेका थिए।
सुनुवाइ कार्यक्रममा सहभागी वडाका नागरिकहरूले खुलेर आफ्ना गुनासा राखेका थिए । वडा नं २ की भगवती भण्डारीले सीमान्तकृत तथा दलित समुदायका लागि बजेट व्यवस्थामा सुधारको माग गर्दै आगामी बजेटमा न्यायोचित सम्बोधन गर्न सुझाव दिइन्। वडा नं २ का गोरबहादुर विश्वकर्माले सालघारी तब्दारपुरसम्मको तटबन्धलाई दीर्घकालीन योजना बनाएर उपल्लो सरकारमार्फत अघि बढाउन आग्रह गरे। उक्त योजनाले तीन गाउँका बस्तीहरू डुबानको जोखिमबाट बच्न सक्ने उनले बताए।
वडा नं २ का अध्यक्ष ओमप्रकाश यादव र वडा नं १ का अध्यक्ष सूर्यप्रसाद चौधरीले जनताको माग र जिज्ञासालाई गम्भीरतापूर्वक लिइने र समस्याको समाधानका लागि आवश्यक पहल गरिने प्रतिबद्धता जनाए। दुवैले जनसहभागिता र पारदर्शिता स्थानीय शासनको मेरुदण्ड भएकोमा जोड दिए। वडा अध्यक्ष श्यामबहादुर रोकायले योजना छनोट प्रक्रियामा जनताको राय संकलन गरिने बताए। कार्यक्रमको सहजीकरण सामुदायिक रेडियो साझा आवाजका स्टेशन म्यानेजर दुखहरण यादव, सपना पौडेल र सलमान खानले गरेका थिए।