‘अर्थतन्त्र चलायमान हुन सकेन’

तुलसीपुर उवासंघको ३०औँ वार्षिक साधारणसभा
बालाराम खड्का
तुलसीपुर, २१ वैशाख । तुलसीपुर उद्योग वाणिज्य संघको ३०औँ वार्षिक साधारणसभामा बोल्ने वक्ताहरूले दिन प्रतिदिन व्यवसायी पलायन भएको भन्दै आर्थिक अवस्था कठिन स्थितिमा पुगेको बताएका छन् । उनीहरूले दिन प्रतिदिन निजी क्षेत्रमा लगानी गरेका व्यवसायीका सटर बन्द हुँदै गएकोप्रति चिन्ता व्यक्त गरेका थिए ।

तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसीको अध्यक्षता तथा नेपाल उद्योग वाणिज्य संघकी पूर्व अध्यक्ष भवानी राणाको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा सहभागी जिल्ला, प्रदेश तथा केन्द्रमा निजी क्षेत्रको प्रतिनिधित्व गर्ने व्यवसायी नेताहरूले अर्थतन्त्रलाई चलायमान गर्ने वातावरण निर्माण गर्न सरकारसँग माग समेत गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि राणाले देशको अर्थतन्त्र कल्पनाभन्दा बाहिर जान सक्ने भन्दै सरकारले विशेष ध्यान दिनु पर्ने बताइन् ।

उनले यथास्थितिमा देशको अर्थतन्त्र कल्पना गरेभन्दा बाहिर जान सक्ने भन्दै त्यसका लागि विशेष गरी व्यवसायी एकता र नेतृत्व वर्गले ध्यान दिनुपर्ने बताइन् । ‘अहिले इतिहास मै आर्थिक क्षेत्र कठिन अवस्थामा छ, अझै पनि राज्यले कुरा सुनेन भने अर्थतन्त्रको अवस्था हाम्रो कल्पनाभन्दा बाहिर जान सक्छ’, उनले भनिन् । जबसम्म आर्थिक क्षेत्रको विकास हुँदैन तबसम्म राजनीतिको पनि विकास नहुने उनको भनाइ छ । ‘अहिले पनि राजनीतिक स्वार्थमा सबै दलका नेता लाग्नु भएको छ, केही सुधारका कुरा भएका छन् तर सोचेको जस्तो भएको छैन’, उनले भनिन् । राणाले अहिले विभिन्न उद्योग कलकारखानामा उत्पादन घटेको र उत्पादन भएपनि उपभोक्ता नभएको भन्दै दैनिक हजारौँ युवा शक्ति विदेशिएको बताइन् ।

उनले भाषणमा युवा शक्ति रोक्ने र उद्योग कलकारखाना खोल्ने रोजगारी दिने भनेपनि त्यो व्यहारमा कार्यान्वयन हुन नसकेको बताइन् । उनले भर्खरै आएको नीति कार्यक्रम आएको र बजेट आउन बाँकी रहेको भन्दै यो बजेटले पनि निजी क्षेत्र र आर्थिक क्षेत्रको सुधार हुने संकेत नदेखिएको बताइन् । उनले सरकारले ठुला योजना राष्ट्रिय गौरवका योजनालाई प्राथमिकता दिनुपर्ने बताइन् । ‘उर्जा, पर्यटन कृषि आइटिको क्षेत्रमा लगानी बढाउनु पर्छ तर त्यो हुन सकेको छैन बजेट अहिले पनि छित्रिएर जाने गरेको छ अनि कसरी आर्थिक क्षेत्रको विकास हुन्छ’, उनले भनिन् । उनले सरकारले निजी क्षेत्रलाईलाई प्रोत्साहन हुने खाले कार्यक्रम ल्याउनु पर्ने बताइन् ।

‘लुम्बिनी प्रदेश क्षेत्र पर्यटकीय हिसाबले निकै अगाडि छ तर यहाँसम्म पर्यटक आउने वातावरण छैन त्यो बनाउनु पर्छ’ उनले भनिन् । राणाले अहिले सरकारसँगै आफ्ना विमान नभएको र निजी क्षेत्रले महंगो भाडाका कारण पर्यटक आउने अवस्था नभएको बताइन् । त्यस्तै राणाले तुलसीपुर उद्योग वाणिज्य संघले विभिन्न सामाजिक कार्यका साथै उद्यमशिलताको विकासका लागि काम गरेको बताइन् । तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख टिकाराम खड्काले निजी क्षेत्र मजवुद भयो भने राज्य पनि बलियो हुने बताए । उनले निजी क्षेत्र र स्थानीय सरकारको नंकमासुको सम्बन्ध भएको बताए । उनले निजी क्षेत्रको महत्व धेरै भएको बताए ।

‘निजी क्षेत्रसँग हामीहरू सहकार्य गर्न तयार छाँै हामीहरू भौतिक पूर्वाधार निर्माण गर्छौँ तपाईहरू लगानी गर्र्नु होस् स्थानीय सरकार सधै सहकार्यका लागि तयार छ’, खड्काले भने । उनले निजी क्षेत्रसँग पीपीपी मोडेलबाट भौतिक पूर्वाधार, वातावरण, सडक पुलदेखि सबै क्षेत्रमा साझेदारी गर्न सकिने बताए । उनले तुलसीपुर उपमहानगरपालिकाले औद्योगिक क्षेत्र घोषणा गरेर निजी क्षेत्रसँग मिलेर काम गर्ने तयारी गरेको भन्दै त्यसको वातावरण तयार गरेको भन्दै लगानि गर्न व्यवसायीलाई आग्रह गरे । उनले तुलसीपुर उद्योग वाणिज्य संघसँग मिलेर विभिन्न काम गर्न सकिने बताए । उनले संघले गरेका कार्य महत्वपूर्ण भएको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारले अहिले अर्थतन्त्र कठिन कालमा रहेको बताए । उनले निजी क्षेत्रको व्यवसाय ५० प्रतिशतमा झरेको र कारोबार ३० प्रतिशत रहेको बताए । उनले ३ वर्ष यतादेखि निजी क्षेत्रको व्यापार व्यवसाय खस्कदै गएको बताए । आर्थिक अवस्था सुधार हुन केही वर्ष लाग्ने उनको भनाइ छ । ‘अहिले सबैभन्दा कठिन अवस्था साना र मझौला खाले उद्योगी व्यवसायी र व्यापारीलाई छ, बैंकले ऋण लगानी गर्ने अवस्था छैन् बैंकमा पैसा थुपारिएको छ त्यो चलायमान हुन सकेको छैन्’, उनले भने । उनले अहिले ठुला रकम विदेशमा लगानी भइरहेको समेत बताए ।

उनले नयाँ रणनीतिअनुसार अगाडि बढनुपर्ने बताए । ‘अब आम उद्योगी व्यवसायीले सरकारलाई दबाब दिनुपर्छ नेतृत्व वर्गले यस्तो आस्था आउँदा पनि सुनेको पहल गरेको अवस्था छैन’, उनले भने । उनले नेपालको अर्थतन्त्र निरन्तर ओरालो लागेको र यसरी थेक्न नसकने बताए । कार्यक्रममा पूर्व उपाध्यक्ष किशोरकुमार प्रधानले निजी क्षेत्रका व्यवसायी एक भएर जानु पर्ने बताए । त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले केही नीतिगत तालमेल नमिलेकाले समस्या भएको भन्दै नीति गत सुधार गर्न आवश्यक रहेको बताए ।

त्यस्तै नेपाल उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेशका संस्थापक गुणनिधि तिवारीले बजारमा दिन प्रति दिन सटर लागेको र व्यवसायी निराश अवस्थामा रहेको बताए । त्यस्तै केन्द्रीय सदस्य किशोर आचार्य, केशवप्रसाद भण्डारीले अहिले व्यवसायी वातावरण नभएको र व्यवसायीक वातावरण कता जाने हो भन्ने अवस्था रहेको बताए ।

कार्यक्रममा आन्तरिक राजश्व कार्यालय तुलसीपुरका प्रमुख श्रीधर टण्डनले आर्थिक विकासका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताए । उनले कर शिक्षाको विषयमा जानकारी गराएका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघका निर्वतमान अध्यक्ष विपुल पोख्रेलले निजी क्षेत्रको योगदानलाई मिडियाले जहिले पनि सम्मान गरेको बताए । उनले स्थानीय उत्पादनलाई मिडियाले जहिले पनि प्रमोसन गरेको भन्दै मिडिया र निजी क्षेत्रको समन्वय सहकार्य अपरिहार्य रहेकने बताए ।

‘हामीहरूले यसअघि निजी क्षेत्र र मिडियाबिच सम्झौता नै गरे एक अर्काको विकास गर्नुपर्छ भनेर थियाँै, अर्थतन्त्र सबल बनाउन र मिडियालाई पनि सबल गराउन निजी क्षेत्रको भूमिका अहम हुन्छ’, उनले भने । कार्यक्रममा नेकपा एमालेका जिल्ला उपाध्यक्ष मनोहर बुढाथोकी, नेकपा माओवादी केन्द्र तुलसीपुरका अध्यक्ष मोहन थापा, राप्रपाका केन्द्रीय सदस्य दामोदर भण्डारी, नेपाल पत्रकार महासंघ दाङका निवर्तमान जिल्ला अध्यक्ष दुर्गालाल केसी, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीलगायतले अर्थतन्त्रको विकासमा निजी क्षेत्र भूमिका महत्व भएको बताएका थिए ।

कार्यक्रममा तुलसीपुर उद्योगवाणिज्य संघका पूर्व अध्यक्ष विरबहादुर रावत, बालरोग विशेषज्ञ किशोर खत्रीलगायतले भनाइ राखेका थिए । कार्यक्रममा संघका अध्यक्ष विनिल केसीले उद्यमशिलताको विकासका लागि तीन सय महिला उद्यमीलाई स्वरोजगार तालिम, ४० जनालाई व्यूटिसियन तालिम, पल्मवींग तालिमलगायत तुलसीपुर सुरक्षित छ भन्ने अभियानअन्तर्गत विभिन्न स्थानमा सिसिक्याम्मेरा जडान, हाइमाक्स बत्ती जडानदेखि विभिन्न सामाजिक कार्य गरेको बताएका थिए ।

त्यस्तै रात्रीकालीन व्यवसाय सञ्चालनका लागि कार्यविधि बनाएर अगाडि बढिरहेको बताएका थिए । सामाजिक कार्यदेखि विभिन्न विकास निर्माणका लागि आफूहरूले केन्द्रदेखि अस्थानीय स्तरसम्म समन्वय गरेको उनले बताए । कार्यक्रममा महासचिव केशवराज केसीले वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष रुपेश शर्माले आर्थिक प्रतिवेदन पेस गरेका थिए । उक्त अवसरमा लामो समयदेखि पत्रकारितामा रही आर्थिक व्यवसायीक सामाजिक क्षेत्रको विकासमा योगदान पु¥याउने पत्रकारलाई पुरस्कार तथा सम्मान र राप्ती बबई क्याम्पसमा अध्ययन गर्ने छात्र छात्रालाई विभिन्न व्यक्तिले स्थापना गरेका छात्रवृत्ति प्रदान गरिएको थियो ।

त्यस्तै नविल बैंकको सहकार्यमा सुरु भएको सुन्दर तुलसीपुर सुरक्षित तुलसीपुरको स्टीकर सार्वजनिक गरिएको थियो । कार्यक्रममा सहभागीलाई धन्यवाद ज्ञापन संघका उपाध्यक्ष देवबहादुर केसीले गरेका थिए भने कार्यक्रमको सहजीकरण महासचिव केशवराज केसी र सचिव नविन राईले गरेका थिए ।