सुलिचौर–तेबाङ सडक बन्दै

भरत विश्वकर्मा
रोल्पा, २१ वैशाख । सुलिचौर–तेबाङ–राज्यपोखरी–लिस्ने–प्युठान खण्डको ग्रामीण सडक स्तरोन्नति सुरु भएको छ । रोल्पाको सुनिलस्मृति गाउँपालिका–४ मा पर्ने पूर्वी रोल्पाको मुख्य व्यापारिक केन्द्र सुलिचौर बजार हुँदै वडा नम्बर ७ तेबाङ खण्डमा सडक स्तरोन्नतिको काम सुरु भएको हो ।

सङ्घीय सरकारबाट चालु आर्थिक वर्ष २०८१÷०८२ मा विनियोजित बजेटबाट अहिले सुलिचौर हुँदै तेबाङको ऐरिबस्ने खण्डमा सडक स्तरोन्नतिको काम सुरु भएको हो । यो सडकलाई पूर्वी रोल्पाको व्यापारिक केन्द्र सुलिचौर बजारदेखि तेबाङ राज्यपोखरी, पर्यटकीय स्थल लिस्ने हुँदै प्युठानसम्म जोडने लक्ष्य लिइएको छ । सडक स्तरोन्नतिको काम तेबाङको ऐरिबस्ने स्थानदेखि सुरु गरिएको स्थानीय पूर्वाधार विकास कार्यालय बुटवलका इन्जिनियर राजु थापा मगरले जानकारी दिए । स्तरोन्नतिमा सडकको नाला, सडकको ग्रेड मिलाउने, ग्राभेलको निर्माण घुम्ती सुधार, वाल, जाली र केही भागमा ह्युम पाइप, कल्भर्ट राख्ने लगायतको काम हुने उनले बताए ।

सडक स्तरोन्नतिको काम आवश्यकता भौगोलिक तथा प्राविधिकताको आधारमा वडासँग समन्वय गरी गरिने उनले बताए । उक्त काम सङ्घीय सरकारबाट विनियोजित बजेटबाट भएको हो । स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय बुटवलले महाप्रभुदेव गेमी जेभी रूपन्देहीसँग कामको सम्झौता गरेको छ । निर्माण कम्पनीसँग असार मसान्तभित्र काम सम्पन्न गर्ने सम्झौता भएको छ । सुलिचौर–तेबाङ खण्डको करिब ६ किलोमिटर सडक स्तरोन्नतिको काम महाप्रभुदेव गेमी जेभी रुपन्देहीले दुई करोड ९७ लाख रुपैयाँमा ठेक्का लिएको छ ।

तेबाङको ऐरिबस्ने वडा कार्यालय नजिकैबाट सडक स्तरोन्नतिको काम सुरू भएको छ । सडक स्तरोन्नतिको काम समयमै सम्पन्न गर्ने गरी निर्माण कम्पनीले काम सुरु गरिसकेको वडाध्यक्ष रेशम रिजालले जानकारी दिए ।सडक स्तरोन्नति भएमा स्थानीयलाई यातायातमा सहज हुने उनको अपेक्षा छ । प्युठानसम्म जोड्ने लक्ष्य लिइएको यस सडकले तेबाङको लिस्नेलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न योगदान पु¥याउने छ ।

तेबाङको लिस्ने लेक तत्कालीन १० वर्षे सशस्त्र द्वन्द्वको समयमा विभिन्न घटना भएको थियो । उक्त ठाउँ धार्मिक तथा ऐतिहासिक हिसाबले महत्ववपूर्ण मान्ने गरिन्छ । सो ठाउँलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नमा समेत यो सडकले महत्त्वपूर्ण भूमिका खेल्ने बताइन्छ । समयमै सडक स्तरोन्नतिको काम सम्पन्न गर्ने निर्माण व्यवसायीले जनाएका छन् ।