सहकारी पसल सञ्चालनलाई प्रभावकारी बनाउन छलफल

हेमराज शर्मा
दाङ, २० बैशाख । दाङको घोराहीमा रहेको कलश बचत तथा ऋण सहकारी संस्था लिमिटेड शिक्षा उपसमितिको आयोजनामा सहकारी शिक्षा कार्यक्रम अन्र्तगत सहकारी पसल प्रवद्र्धनका बिषयमा अन्र्तक्रिया कार्यक्रम आज शनिवार घोराहीमा सम्पन्न भएको छ ।

शिक्षा उपसमितिका संयोजक केशव रिजालको सभापतित्व एवं कलश बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष माधव खनालको प्रमुख आतिथ्यतामा भएको अन्र्तक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले दाङको नविनतम कार्यक्रमका रुपमा रहेको सहकारी पसललाई अझ प्रभावकारी बनाई उपभोक्ताका पक्षमा काम गर्नका लागि बिभिन्न सुझावहरु दिएका छन ।

साविक सर्वोत्तम बहुउद्देश्यीस सहकारी संस्था घोराही दाङले शुरु गरेको सहकारी बजार परियोजना लुम्विनी प्रदेशकै सहकारीको क्षेत्रमा नौलो कार्यक्रम भएको भन्दै सवैलाई उक्त सहकारी पसलबाट सामान किनमेल गर्ने वातावरणका लागि दिगो कार्यक्रम र रणनिति बनाएर अघी बढ्न कार्यक्रममा सहभागिहरुले सुझाव दिएका छन् ।

कृषि उपज लगायतका उपभोक्तालाई दैनिक रुपमा चहिने गुणस्तरीय सामानको सहज उपलब्धता र सर्वसुलभ मूल्यमा उपभोक्ताहरुलाई दिने गरी तत्काल योजना बनाएर कार्यान्वयनमा जानुपर्नेमा सहभागिहरुले जोड दिएका छन । कार्यक्रममा वर्तमान परिवेसलाई आँकलन गरी संस्थाका बिभिन्न कार्यक्रमलाई अझ प्रभावकारी रुपमा कार्यान्वयनमा गएर जिल्लामै नमुनायोग्य कार्य गर्नुपर्ने सुझाव सहभागिहरुको छ ।

कलश बचत तथा ऋण सहकारी संस्था लिमिटेड र सर्वोत्तम बहुउदेश्यीय सहकारी संस्था लिमिटेड गत माघमा एकिकरण भइ कलश बचत तथा ऋण सहकारी संस्था भएपछि घोराहीको तुल्सीपुर चोकमा रहेको सहकारी पसललाई थप प्रभावकारी रुपमा सञ्चालन गर्न सुझाव संकलन गरी योजना बनाउन अन्र्तक्रिया कार्यक्रम गरिएको संस्थाका अध्यक्ष माधव खनालले बताउनुभयो ।

कार्यक्रममा सहकारी पसल परियोजनाका प्रमुख कमल थपलियाले स्थापनाकालदेखि हालसम्मको सहकारी पसलको अवस्था, संभावना, अवसर र चुनौतिका बारेमा आधारपत्र प्रस्तुत गर्नु भएको थियो । सहकारीको शिक्षा समितिका सदस्य खिमराज खनालको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष एवं सल्लाहकार बालचन्द्र शर्माले सहकारी पसल सञ्चालनका लागि प्राप्त सुझावलाई आधार मानी तत्काल उपभोक्तालाई लाभान्वित हुने योजना बनाएर काम गर्नुपर्ने सुझाव दिनुभयो ।

कार्यक्रममा संस्थाका सल्लाहकार, पदाधिकारी, सञ्चालक, सहकारी पसल सुरु गर्दाका पदाधिकारी साविकको सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्थाका पदाधिकारी, बजार सञ्चालन उपसमिति, कर्मचारी लगाएतकाको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण शिक्षा उपसमितिका सदस्य श्रीधर पन्तले गर्नुृभएको थियो ।

संस्थाका कार्यक्रमहरु प्रभावकारी बनाउन शिक्षा उपसमितिको आयोजनामा कलश बचत तथा ऋण सहकारी संस्था लिमिटेडले हरेक महिनाको तेस्रो शनिवार बिभिन्न बिषयमा छलफल कार्यक्रम संचालन गर्दै आएको छ ।