विपन्नका लागि घर शिलान्यास

पार्बती बस्नेत
दाङ, २० वैशाख । राजपुर गाउँपालिकामा विपन्न समुदायलाई आवासीय सेवा पु¥याउने गरी भूकम्प प्रतिरोधात्मक घरको शिलान्यास गरिएको छ । राजपुर गाउँपालिका वडा नं. ६ गंगदी निवासी दुर्गा चौधरीको घरको शिलान्यास गरिएको हो ।

‘महिला परिवारलाई सुरक्षित आवासमार्फत् सुदृढीकरण र भूमिमा महिलाको स्वामित्व सचेतना कार्यक्रम’ अन्तर्गत उक्त भूकम्प प्रतिरोधात्मक घरको शिलान्यास गरिएको हो । ग्रामीण महिला उत्थान केन्द्र दाङकी अध्यक्ष आशमानी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा राजपुर गाउँपालिका उपाध्यक्ष धनपतीदेवी यादवको प्रमुख अतिथ्यता तथा वडा नं. ६ का अध्यक्ष श्यामकुमार रोकाको विशिष्ट अतिथ्यतामा भएको कार्यक्रममा घरको शिलान्यास गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि यादवले विपन्न, अल्पसङ्ख्यक समुदाय, अपाङ्गता भएका व्यक्ति, एकल महिला र १६ वर्षमुनिका बालबालिकाका लागि बस्ने घर निर्माण गरिदिने परियोजनाले गरिबका लागि को ही छ भन्ने आभास दिएको बताइन् । विपन्न परिवारको घर निर्माणका लागि परियोजनासँग साझेदारी गर्दै काममा जोडिने वातावरण मिलाएकोमा संस्थालाई धन्यवाद दिएकी थिइन् ।

कार्यक्रममा वडाध्यक्ष रोकाले अपाङ्ग, अशक्त विपन्न महिलाका लागि सुरक्षित घर निर्माण गर्ने परियोजना कार्यले स्थानीय सरकारलाई सहयोग गरेको बताए । निजी क्षेत्रसँगको साझेदारी र साथले समुदायमा परिवर्तन ल्याउन सकिने भन्दै वडाध्यक्ष रोकाले परियोजनाले महिलालाई जग्गाको स्वामित्वको मालिकसमेत बनाउने काम गरेको बताए । कार्यक्रममा संस्थाकी अध्यक्ष आशमानी चौधरीले ग्रामीण महिला उत्थान केन्द्र दाङ र अन्तर्राष्ट्रिय साझेदार संस्थाको सहकार्यमा दाङ जिल्लामा सञ्चालन भइरहेको ‘महिला परिवारलाई सुरक्षित आवासमार्फत् सुदृढीकरण र भूमिमा महिलाको स्वामित्व सचेतना कार्यक्रम’ परियोजना अन्तर्गत दुर्गाको घर निर्माण हुन लागेको बताइन् ।

सन् २०२४ मा यसै परियोजनाबाट राजपुर गाउँपालिकामा चारवटा घर निर्माण भएको र यस वर्ष तीनवटा घर निर्माण लागेको जानकारी गराएकी थिइन् । शिलान्यास कार्यक्रममा आर्थिक समितिका संयोजक दिलमती वली, वडा सदस्य, सिर्जनशील टोल विकास संस्थाका अध्यक्ष, टोल तथा समुदायका अगुवा, बुद्धिजीवी, दुर्गाको घरपरिवारलगायतको उपस्थिति थियो ।