परिषद्को ४८औँ स्थापना दिवसमा स्रष्टा पुरस्कृत

गोरक्ष समाचारदाता
दाङ, २० वैशाख । राप्ती साहित्य परिषद् केन्द्रको स्थापना दिवसका अवसरमा विभिन्न साहित्यकार पुरस्कृत एवम् सम्मानित भएका छन् । परिषद्को ४८औँ स्थापना दिवस तथा २५औँ वार्षिक साधारणसभा एवम् १५औँ अधिवेशनका अवसरमा शुक्रवार घोराहीमा बाबुराम आचार्यसहित २४ जना स्रष्टा पुरस्कृत एवम् सम्मानित भएका छन् ।

परिषद्ले राप्ती साहित्य पुरस्कार २०८१ प्राध्यापक डा. आचार्यलाई प्रदान गरेको छ । यसैगरी २०८० सालमा प्रकाशित १८ थुँगा नामक जीवनी विधाको कृतिका लागि दाङका पद्मप्रसाद शर्मालाई राप्ती साहित्य सिर्जना पुरस्कार, नन्दहरि साहित्य पुरस्कारबाट दाङका सुरेशकुमार पाण्डेय, डोमादेवी साहित्य पुरस्कारबाट दाङका शशिधर भण्डारी, दिलसरी दल अतिरिक्त साहित्य पुरस्कारबाट रोल्पाका मोहित श्रेष्ठ पुरस्कृत भएका छन् ।

यसैगरी देवीचन्द्र साहित्य पुरस्कारबाट बाँकेका डा. हरिप्रसाद तिमिल्सिना, अयामुकुन्द प्रज्ञा पुरस्कारबाट प्युठानका नारायण गौतम, गोपाल–चन्द्र प्रज्ञा पुरस्कारबाट दाङका हरिप्रसाद पाण्डेय, हरिप्रसाद–मिना पाण्डेय कला साहित्य पुरस्कारबाट दाङका केबी चौधरी, खोबिलाल हुकुमादेवी छन्द पुरस्कारबाट दाङका गिरिराज खनाल, पद्मप्रसाद रुपसा प्रज्ञा पुरस्कारबाट दाङका अभि क्षेत्री समर्पण, तिलका तुलसीराम आचार्य स्मृति पुरस्कारबाट बुटबलका प्राडा कपिल लामिछाने, चक्रपाणि लोकेश्वरी छन्द पुरस्कारबाट दाङका कपिलकिशोर घिमिरे, नित्यानन्द प्रज्ञा पुरस्कारबाट प्युठानका सुमन सुवेदी, चन्द्रमधु गीतसङ्गीत पुरस्कारबाट दाङ देउखुरीका यादवनाथ योगी, ओपेन्द्र रत्नशोभा साहित्य पुरस्कारबाट रुकुम पश्चिमका भुपेन्द्रा मल्ल, प्रेमनारायण सावित्रा हेमकुमारी प्रज्ञा पुरस्कार रोल्पाका अमर अधिकारी पुरस्कृत भएका छन् ।

यसैगरी श्रीबहादुर दिलमाया साहित्य पुरस्कारबाट रुकुमपूर्वका कर्णबहादुर बुढा मगर, टेकबहादुर सुवर्ण राजभण्डारी साहित्य पुरस्कारबाट बाँकेका महानन्द ढकाल, जीवनचक्र साहित्य पुरस्कारबाट सल्यानका हिरालाल केसी, पं. कपिलमुनि भक्तकुमारी शिवादेवी स्मृति स्रष्टा सम्मानबाट सल्यानकी बिनु बुढाथोकी, ऋषि लक्ष्मी साहित्य पुरस्कारबाट पश्चिम रुकुमका खेमराज खड्का, गोमादेवी स्मृति कला पुरस्कारबाट दाङकी दीपा बुढा र विष्णुनुमा साहित्य पुरस्कारबाट दाङका मनीषा गिरी ‘ऋतु’ पुरस्कृत भएका छन् । यसैगरी परिषद्ले दाङ साहित्य तथा संस्कृति प्रतिष्ठान तुलसीपुर, कवि धर्मराज वैरागी देउखुरी, अग्रज साहित्यकार मधुसूदन गौतम दाङ र नारी स्रष्टा वसन्ता शाह हापुरलाई सम्मान गरेको छ ।

राप्ती साहित्य परिषद् केन्द्रीय अध्यक्ष टीकाराम उदासीको अध्यक्षता एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीको प्रमुख आतिथ्यता र राप्ती साहित्य परिषद्का संस्थापक अध्यक्ष नारायणप्रसाद शर्माको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वपरिषद् सदस्य प्राडा गोविन्द पौडेल, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियाशन, साहित्यकारहरू भुपेन्द्र मल्ल, कर्णबहादुर बुढा, प्राडा बाबुराम आचार्य, डा. कपिलमणि लामिछाने, परिषद्का सल्लाहकार उत्तमकृष्ण मजगैयाँ, जिल्ला शाखाको तर्फबाट रुकुम पश्चिममा अध्यक्ष मनलाल वली, सर्वोदय पुस्तकालय तथा वाचनालयका अध्यक्ष सुशील गौतम, दाङ साहित्य तथा संस्कृति मञ्चका अध्यक्ष डिल्लीराज श्रीधर, परिषद्का सल्लाहकार एवम् पुरस्कार छनोट समितिका संयोजक पुरुशोत्तम खनाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

राप्ती साहित्य परिषद्का बरिष्ठ उपाध्यक्ष कमलमणि देवकोटाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव रमेश सुवेदीले गरेका थिए । शनिवारसम्म चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।