त्रिसिद्धेश्वरी राप्ती सार्वजनिक यातायात व्यवसायी प्रालिका अध्यक्ष तथा नेपाली कांग्रेस तुलसीपुर नगर सभापति सुरेश हमाल नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघको दोस्रो अधिवेशनबाट सर्वसम्मत रुपमा उपाध्यक्ष पदमा निर्वाचित भएका छन् ।
यसअघि पनि नेपालका समग्र यातायात व्यवसायी राष्ट्रिय महासंघका उपमहासचिव तथा केन्द्रीय सल्लाहकार समेतको भूमिका कुशलतापूर्वक निर्वाह गरेका थिए । नेपाली कांग्रेसमा पनि लोकप्रिय युवा नेताका रुपमा परिचित भएका युवा नेता तथा व्यवसायी सुरेश हमालसँग सार्वजनिक यातायात क्षेत्रका समग्र समस्याका विषयमा केन्द्रित रहेर गोरक्षकर्मी खेमराज रिजालले गरेको कुराकानीको सारसंक्षेप ।
सर्वप्रथम त हालै सम्पन्न नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघको उपाध्यक्ष जस्तो गरिमामय पदमा निर्विरोध निर्वाचित हुन भएकोमा बधाइ । अनि स्वागत छ तपार्ईलार्ई गोरक्ष सातावार्तामा ।
धन्यवाद, तपाई अनि तपाईको लोकप्रिय गोरक्ष राष्ट्रिय दैनिक पत्रिका परिवारलाई पनि । मैले प्रतिनिधित्व गर्ने संस्था र समग्र लोकतान्त्रिक यातायात व्यवसायीका समस्याका विषयमा केहि कुरा राख्न आमन्त्रण गर्नुभएकोमा ।
सर्वप्रथमत तपाईको संस्थाले के कस्ता काम गर्दै आएको छ, बताइदिनुस् न ?
सर्वप्रथमत : यो संस्था भनेको नेपालभरीका कांग्रेस समर्थित व्यवसायीको छाता संस्था हो । अर्थात् नेपाली कांग्रेसको शुभेच्छुक संस्था पनि । खासमा यो संस्थाले यातायात व्यवसायीलाई पार्टीमा जोड्नै यातायात क्षेत्रमा देखिएका समस्याका समाधान खोज्ने, दुर्घटना न्यूनीकरणका लागि अभियान सञ्चालन गर्ने तथा संस्थामा आवद्ध सबै व्यवसायीको संरक्षण गर्ने जस्ता काम गर्दै आएको छ । जुन संस्थाले मुलुकका सबै जिल्लामा जिल्ला समिति समेत गठन गरिसकेको छ । दाङ जिल्लामा पनि हामीले भर्खरै जिल्ला अधिवेशन सम्पन्न गरेर सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरिसकेका छौँ ।
तपाईलाई लामो समयदेखि यातायात क्षेत्रको अनुभव पनि छ, सबै विषयमा जानकार पनि हुनहुन्छ, तपाईको सबैभन्दा पहिलो अभियान के हो ?
हो, म यातायात क्षेत्रमा धेरै लामो समयदेखि काम गर्दै आएको छु । अहिले नेपाली कांग्रेसमा पनि जोडिएकाले कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघको उपाध्यक्ष जस्तो गरिमामय पदमा सर्वसम्मत निर्वाचित पनि भए । मेरो सबैभन्दा पहिलो काम भनेकै यातायात क्षेत्रलाई सुधार्ने हो । यातायात क्षेत्रलाई राज्यले दीर्घकालीन रूपमा सम्बोधन सम्वद्र्धन एवम् संरक्षण गर्नुपर्छ भन्ने पनि हो ।
यसका लागि यातायात मन्त्रालयको यातायात विभाग र यातायात व्यवस्था कार्यालयले मात्र सक्दैन । यो अर्थमा पनि यातायात क्षेत्रको समष्टिगत सुधारका लागि यातायात प्राधिकरण गठन हुनुपर्छ भन्ने नै हो । यो विषयमा मैले बैठकमा कुरा उठाइरहेको पनि छु र निरन्तर उठाइरहने पनि छु । सार्वजनिक यातायात हेर्नका लागि एउटा भिन्नै प्राधिकरण गठन नभएसम्म समग्र यातायात क्षेत्रको सुधार हुन सक्दैन भन्ने मेरो मान्यता हो ।
यातायात क्षेत्रमा देखिएका मुख्य समस्याका विषयमा केही बताइदिनुस् न ?
सार्वजनिक यातायात क्षेत्रको प्रमुख समस्या भनेकै सडक हो । अहिले तपाई देख्न सक्नुहुन्छ पूर्व–पश्चिम राजमार्ग पनि सबै स्थानमा सहज छैन । नभत्किएको र नकोट्याइएको कुनै पनि राजमार्ग छैन । जहाँतहीँ खाडलै खाडल छन् । तोकिएको समयमा गन्तव्य पुग्न सकिएला भनेर आशै नगर्ने अवस्था छ । निर्माण सम्पन्न भएका सडक पनि गुणस्तरको मापदण्डमा छैनन् ।
यही कारण सडक दुर्घटना न्यूनीकरण निकै चुनौतिपूर्ण बन्दै गएको छ । अर्को समस्या भनेको हाइवेमा स्तरीय अस्पताल नहुनु पनि हो । राजमार्गमा दुर्घटना भएका घाइतेलाई सकेसम्म राजमार्गमै उपचार सेवा उपलब्ध हुने हो भने धेरै घाइतेलाई बचाउन सकिने अवस्था पनि हुन्थ्यो ।
हामी यातायात व्यवसायीले यातायात मन्त्रालयमा हाइवे अस्पताल निर्माणका लागि पटक पटक लिखित एवम् मौखिक आग्रह पनि ग¥यो तर अझै पनि यसको सुनुवाई हुन सकेको छैन । त्यसैगरी अर्को समस्या भनेका यातायात क्षेत्रमा विचौलियाको प्रभाव पनि हो । विचौलियाको प्रभावकै कारण यहाँ पुराना गाडि ल्याएर सार्वजनिक यातायातका रूपमा सञ्चालन गर्ने अभ्यास पनि बसिसकेको छ ।
अर्को कुरा यातायात मज्दुर एवम् व्यवसायीलाई आवश्यक तालिम र प्रशिक्षणको अभाव पनि हो । यसमा हामीले राज्यलाई पटक– पटक आग्रह पनि ग¥यौँ तर अहिलेसम्म पनि हामी यातायात व्यवसायीका माग राज्यले सम्बोधन गर्न सकेको छैन ।
अहिले सबैतिर देखिएको समस्या भनेको सडक दुर्घटनामा मृत्यु हुनेका परिवारले चक्का जाम गर्ने प्रवृत्ति पनि मौलाएको छ नि ?
हो, दुर्घटनामा मृत्यु हुनेका परिवारले चक्का जाम गर्ने र वार्ता र सहमतिका नाममा यातायात व्यवसायीलाई बोलाउने अनि पैसाको बार्गेनिङ गर्न लगाउने ठुलो रोग हो । यसले सबैभन्दा बढी पीडित हामी यातायात व्यवसायी छौँ । यसलाई सरकारले सुधार्नु आवश्यक देखिन्छ । हो, यसका लागि बीमा पोलिशि नै समयानुकुल परिमार्जन गर्नुपर्छ भन्ने हामी यातायात व्यवसायीको माग पनि छ । उतिबेला बनेको बीमा नीतिमा दुर्घटनामा घाइते हुनेको उपचार खर्च बीमाले तीन लाख रूपैयाँसम्म व्यहोर्ने भन्ने छ ।
त्यसैगरी मृत्कका परिवारलाई पाँच लाख रूपैयाँ उपलब्ध गराउने नीति छ । यो नीति बनेको पनि धेरै वर्ष भइसक्यो । यो बिचमा स्वास्थ्य उपचार पनि महङ्गिएको छ । त्यसैले हामीले के माग राखेका छौँ भने बीमा कम्पनीले घाइतेको उपचार खर्च तीन लाखबाट बढाएर पाँच लाख रूपैयाँ पु¥याउनु पर्दछ । अनि मृतकका परिवारलाई दिइने रकम पाँच लाख रूपैयाँबाट बढाएर सात लाख रूपैयाँ उपलब्ध गराउनु पर्छ भन्ने हो । मैले यो सम्बेदनशिलतालाई हाम्रो संघको बैठकमा पनि राख्ने छु । यातायात व्यवसायी राष्ट्रिय महासंघमा पनि राख्दै आएको विषय पनि हो ।
सार्वजनिक यातायात अझै पनि यात्रुमैत्री हुन सकेको छैन नि ? जहाँ पायो त्यही रोक्ने, रुट छाडेर पनि गइदिने जस्ता समस्या छन् नि ?
सबैभन्दा ठुलो समस्या भनेको स्टेशनको हो । तपाई सम्झनुस् बिजौरी क्षेत्रमै ५ वटा स्टेशन बन्न लागिसके, वल्लो बिजौरी, मध्य बिजौरी, पल्लो बिजौरी, हाडिमे चौक, डाँडा गाउँ, ड्रगन फ्रुट । यस्ता स्टेशन घोराही—तुलसीपुर सडकमा पचासौँ छन् । हो, यसलाई सुधार्न जरुरी छ । कुनै निश्चित बजारमा एउटा मात्र स्टेशन व्यवस्थापन गर्नसके यात्रु त्यही स्टेशनमा पुग्न सक्थे । यसमा यातायात व्यवसायी मात्र नभएर यात्रुहरू पनि गम्भीर हुनपर्छ जस्तो मलाई लाग्छ ।
बिजौरी बजारमा एउटा स्टेशन मात्र भए पुग्दैन र ? अनि नारायणपुर बजारमा एउटा स्टेशनले पुग्दैन र ? हो, हामीले सबैभन्दा पहिले स्टेशनको सङ्ख्या घटाउनु पर्दछ । अर्को कुरा आरक्षण सिटको कुरा छ । यसलाई कार्यान्वयन गर्न पनि मैले सम्पूर्ण यातायात व्यवसायी मित्रहरूलाई आग्रह गर्दछु । अनि आरक्षण सिटमा बस्नका लागि यात्रुहरूले पनि स्पष्ट रूपमा बोल्न सक्नुपर्दछ ।
पुरुष गएर महिला सिटमा बसिहाल्ने, युवा गएर ज्येष्ठ नागरिकको सिटमा बसिहाल्ने प्रवृत्ति यात्रुहरूबाट पनि सुधार हुनुपर्दछ । यसो हुन सकेमा मात्र यात्रुमैत्री यातायात सेवाको अनुभूति हुनसक्छ । यसो गर्नका लागि हामीले पटक–पटक सवारी मजदुरहरूलाई प्रशिक्षण दिएका पनि छौँ ।
कर्मचारी र गाडि मालिकलाई पनि प्रशिक्षण दिइरहेकै छौँ । भाडा छुटका सन्दर्भमा पनि यातायात व्यवसायी महासंघ र नेपाल सरकारबिच भएको सहमति कार्यान्वयन गर्नै पर्छ । यदि यसो हुन सकेको छैन भने यसको सम्बन्धित निकायबाट निगमन र अनुगमन पनि हुन आवश्यक छ ।
अन्तमा केही भन्न चाहनुहुन्छ ?
हो, यातायात क्षेत्रमा सुधार ल्याउन यातायात व्यवसायीहरूले मात्रै सक्दैनन् । यस क्षेत्रमा देखिएका कमी कमजोरीहरूलाई सुधार गर्न यातायात व्यवस्था कार्यालय पनि चलायमान हुनुपर्दछ । ट्राफिक प्रहरीले पनि आफ्नो कानुनी अधिकारलाई प्रयोग गर्दै चेकजाँचलाई प्रभावकारी बनाउनु पर्दछ ।
निगमनकारी निकाय स्थानीय सरकार र स्थानीय प्रहरी प्रशासन कार्यालयले पनि यसका हातेमालो गर्नुपर्दछ । अनि यात्रुहरूको पनि सहज यातायातमा भूमिका हुन्छ । सबैले आ–आफ्नो भूमिका र दायित्व निर्वाह गरेर सार्वजनिक यातायात क्षेत्रलाई यात्रुमैत्री बनाउन यसै पत्रिकामार्फत् हार्दिक आह्वान पनि गर्दछु ।