नौ महिनामा उद्योग व्यवसायमा, साढे १० हजारलाई रोजगारी

अमरराज आचार्य
दाङ, १७ वैशाख । लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्ष २०८१÷०८२ को नौ महिनाको अवधिमा उद्योग तथा व्यवसायमा करिब साढे १० हजार बढी जनाले रोजगारी प्राप्त गरेका छन् । पर्यटन तथा यातायात मन्त्रालयको रेकर्ड अनुसार चालु आर्थिक वर्षको नौ महिनामा उद्योग व्यवसायमा १० हजार पाँच सय २९ जनाले रोजगारी प्राप्त गरेको मन्त्रालयका सूचना अधिकारी सन्तोष सुवेदीले जानकारी दिएका छन् । उनका अनुसार तीन हजार छ सय ५४ महिला र छ हजार आठ सय ७५ जना पुरुषले रोजगारी प्राप्त गरेको हुन् ।

यसरी रोजगारी पाउनेमध्ये रुपन्देहीमा दुई हजार ६३ पुरुष र आठ सय ७६ महिलाले रोजगारी पाएका छन् । बाँकेमा नौ सय नौ महिला र एक हजार तीन सय १३ पुरुष, नवलपरासी पश्चिममा तीन सय २३ महिला र आठ सय आठ पुरुष, कपिलवस्तुमा पाँच सय २० महिला र छ सय ६५ पुरुष, दाङमा तीन सय चार महिला र सात सय छ पुरुष, बर्दियामा एक सय ८४ महिला र चार सय ८२ पुरुष, पाल्पामा एक सय एक महिला र एक सय चार पुरुष, गुल्मीमा ९१ महिला र एक सय ७० पुरुष, अर्घाखाँचीमा एक सय २० महिला र तीन सय ३८ पुरुष, प्युठानमा ४५ महिला र ४८ पुरुष, रोल्पामा ६२ महिला र ७४ पुरुष तथा रुकुमपूर्वमा ३९ महिला र ५० पुरुषले रोजगारी पाएका छन् ।

मन्त्रालयको प्रतिवेदन अनुसार चालु आर्थिक वर्षको नौ महिनामा प्रदेशमा तीन हजार दुई सय ३५ नयाँ उद्यमी थप भएका छन् । जसमा एक हजार एक सय ५० महिला र दुई हजार पाँच पुरुष उद्यमी थप भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । यसरी थप भएका उद्यमीमध्ये रुपन्देहीमा महिला दुई सय ५४ र पुरुष पाँच सय ११ उद्यमी थपिएका छन् । यसैगरी बाँकेमा एक सय ६७ महिला र तीन सय ९१ पुरुष, नवलपरासी पश्चिममा ९५ महिला र एक सय ७३ पुरुष, कपिलवस्तुमा एक सय पाँच महिला र एक सय ९० पुरुष उद्यमी थपिएका हुन् । यसैगरी दाङमा तीन सय २२ महिला र चार सय ६२ पुरुष, बर्दियामा एक सय १० महिला र एक सय ३७ पुरुष, पाल्पामा २७ महिला र चार पुरुष, गुल्मीमा १४ महिला र ३० पुरुष, अर्घाखाँचीमा १२ महिला र ५५ पुरुष, प्युठानमा १२ महिला र १६ पुरुष, रोल्पामा १९ महिला र ४३ पुरुष र रुकुम पूर्वमा १३ महिला र २९ पुरुष उद्यमी थप भएका छन् ।

यसैगरी लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षको नौ महिनामा घरेलु तथा साना उद्योगमा छ अर्ब ८० करोड ८६ लाख ५७ हजार आठ सय ६६ रुपैयाँ लगानी थप भएको छ । वाणिज्यतर्फ छ अर्ब ४ करोड ६९ लाख ७६ हजार आठ सय ७७ रुपैयाँ लगानी थप भएको छ । लुम्बिनी प्रदेश उद्योग पर्यटन तथा यातायात मन्त्रालयको तेस्रो त्रैमासिक प्रतिवेदन अनुसार प्रदेशमा नौ महिनाको अवधिमा यो लगानी थपिएको हो । प्रदेशका १२ जिल्लामा रहेका उद्योग व्यवसायमा १३ अर्ब २९ करोड ५६ लाख ३४ हजार सात सय ४३ रुपैयाँ लगानी थपिएको छ । मन्त्रालयको प्रतिवेदन अनुसार रुपन्देहीमा उद्योगतर्फ दुई अर्ब ३४ करोड ६८ लाख र वाणिज्यतर्फ एक अर्ब ७४ करोड १६ लाख, बाँकेमा उद्योगतर्फ एक अर्ब २९ करोड ३६ लाख र वाणिज्यतर्फ ८५ करोड ५१ लाख, नवलपरासी पश्चिममा उद्योगतर्फ ७२ करोड चार लाख र वाणिज्यतर्फ ९२ करोड ६३ लाख लगानी थप भएको छ ।

यसैगरी कपिलवस्तुमा उद्योगतर्फ ७४ करोड चार लाख र वाणिज्यतर्फ ७१ करोड छ लाख, दाङमा उद्योगतर्फ ५९ करोड ६५ लाख रुपैयाँ उद्योगतर्फ लगानी भएको छ भने वाणिज्यतर्फ ९२ करोड ८१ लाख लगानी भएको छ । बर्दियामा उद्योगतर्फ ४६ करोड ३५ लाख र वाणिज्यतर्फ ३६ करोड ८१ लाख, पाल्पामा उद्योगतर्फ १४ करोड २७ लाख र वाणिज्यतर्फ १३ करोड ८७ लाख, गुल्मीमा उद्योगतर्फ एक करोड ५७ लाख र वाणिज्यतर्फ छ करोड ८० लाख, अर्घाखाँचीमा उद्योगतर्फ २९ करोड ६२ लाख र वाणिज्यतर्फ ५७ करोड ३५ लाख, प्युठानमा उद्योगतर्फ चार करोड ५७ लाख र वाणिज्यतर्फ पाँच करोड ७७ लाख, रोल्पामा उद्योगतर्फ सात करोड ६१ लाख र वाणिज्यतर्फ पाँच करोड ७७ लाख रुपैयाँ र रुकुमपूर्वमा उद्योगतर्फ सात करोड पाँच लाख र वाणिज्यतर्फ चार करोड छ लाख रुपैयाँ लगानी थप भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।