नारायणप्रसाद श्रेष्ठ
कुनै पनि राष्ट्रको विकास त्यहाँको नीति, नैतिकता, एवं युवाजन शक्तिको जोश र जागरमा निर्भर रहेको हुन्छ । युवाको पौरख र पसिनाले सिन्चित मेहनत र उर्जाशिल विचार र शक्तिबाट नै राष्ट्रको भविष्य उज्वल बनेको हुन्छ ।
म, मेरो, राष्ट्रवाद भनी जबसम्म युवा जमातमा अघि बढ्ने संकल्प देखिँदैन, युवा हाम्रो विकासको आधार हो भनी गर्व गर्ने परिस्थिति बन्दैन, त्यो समयको गतिशिलता बढ्दैन, तबसम्म विकासको मोडेल, तयार हुन सक्दैन । न त नया योजनाले मुर्तरुप लिन सक्छ ? त्यसैले युवा हाम्रा आधारस्तम्भ हुन भनी बुझी राष्ट्रिय विकासको नीति ल्याउन जरुरी छ ।
नेपाल भूपरिवेष्ठित राष्ट्र हो । हिमाल पहाड र तराई भएर रहेको यहाँको भूबनोट र प्रकृतिलाई हेर्दा नेपालको भविष्य युवामा निर्भर रहेको पाइन्छ । जलस्रोत र विभिन्न खनिज पदार्थको खानीलाई सार्थकता दिन र विकासको गतिलाई अग्रगामी छलाङ लगाउन युवाजनशक्तिको महत्वपूर्ण भूमिका रहेको हुन्छ । भौगोलिक बनोट अनुकूल विकासका पूर्वाधार तयार गरी जनजीवनलाई उद्योग र उत्पादनसँग जोड्न युवाजनशक्तिको महत्वपूर्ण भूमिका रहेको हुन्छ ।
दक्ष युवा जनशक्तिबाट नै नेपालमा रहेको प्राकृतिक स्रोत खनिज र जलस्रोतले सार्थकता पाउने वातावरण बन्न सक्छ । अहिले भइरहेको मुख्य पेसा कृषि उत्पादनदेखि पर्यटन पूर्वाधारको लागि तथा विकासका अन्य पूर्वाधार निर्माणमा युवाको भूमिका रहेको हुन्छ । यति मात्र होइन राज्य सञ्चालनका लागि नविनतम विचार प्रवाह गर्ने सवालमा तथा नीति निर्माणमा समेत युवाको भूमिका अपरिहार्य आवश्यकभित्र रहेको हुन्छ । किनकि युवा जनशक्ति राष्ट्रको खम्बा हो, आधारशिला हो ।
समृद्धिको आधार पनि हो । युवा शक्तिबाट नै समृद्ध नेपाल सुखी नेपालीको नारा सार्थकता हुन सक्दछ । जुन राष्ट्रमा युवा जनशक्तिलाई परिचालन गर्ने सक्षम नेतृत्व र नीति रहेको हुन्छ । त्यो राष्ट्र अन्य राष्ट्रको तुलनामा निश्चय पनि सक्षम र विकसित रहेको हुन्छ । युवा जनशक्तिको जोष जाँगर र हिम्मतबाट नै विश्वमा धेरै ठू–ठूला चमत्कार भइरहेका छन् । विकसित राष्ट्रले युवा शक्तिलाई परिचालन गरेर जसरी समृद्धिको दिशामा आफूलाई अब्बल बनाएका छन् । यदि त्यस सत्यलाई गहिरेर बुझ्ने हो भने युवा नै राष्ट्रको आधार रहेछ भन्ने कुरा प्रष्ट हुन्छ ।
त्यसैले युवा जनशक्तिलाई राज्य नीतिले होस् वा व्यवहारले होस् उनीहरुको श्रम र सिपलाई मातृभूमिप्रतिको जिम्मेवारीमा लगाउन सक्नुपर्दछ । बुढो गोरुलाई जति जोते पनि भित्तामा रहेको राटो जोतिँदैन भनेझैँ पुरानो सोच र चिन्तनमा रहेका राजनीतिक चिन्तकबाट राष्ट्रिय विकासको आधार बलियो नरहने कुरामा कसैलाई भनिरहनु पर्दैन । जबसम्म विचार र चिन्तनमा सकारात्मक भाव जागृत हुँदैन तबसम्म देशले स्वच्छ र सुशासनयुक्त समाजको परिकल्पना गर्न सक्दैन । । तसर्थ अहिलेको वर्तमानमा जुन किसिमको राजनीतिक तरंग देखा परेको छ । सोच र विचारमा जुन किसिमको स्वार्थ र अहमता देखिएको छ ।
त्यो परिवर्तन नभएसम्म राष्ट्रिय विकासको अवधारणामा पुरानै प्रवृत्ति दोहोरिरहन्छ । यस्तो परिस्थिति भइरहने हो भने युवाले न त विकासको आधारशिलामा हात बढाउने अवसर रहन्छ । न त समृद्ध नेपालको परिकल्पना साकार हुने अवस्था रहन्छ । तसर्थ समयले अहिले चुनौती र अवसर दुवै दिएको छ । यो सत्यलाई अब सबैले मनन गर्न जरुरी छ ।
समयको परिवर्तनसँगै अहिले हरेक मानिसको मन विचार र भावना परिवर्तन भई विविध किसिमले प्रस्तुति भइरहेको छ । मानिसको सोच्ने शक्ति आचरण र व्यवहारमा परिवर्तन भएको छ । अहिले मानिसलाई युग सुहाउँदो जीवनशैली बनाउन निकै भागदोड गर्नुपर्ने अवस्था छ । भौतिक विलाषीले प्रत्येक व्यक्तिको मानसिकतामा हलचल ल्याएको छ । सामाजिक न्याय प्रणालीमा नै फेरबदल भएको छ ।
हिजो कानुनी मान्यतालाई आधार बनाएर सामाजिक न्याय प्रणालीमा नीति र नैतिकताको राम्रो परिपालन भएको अवस्था थियो भने अहिले त्यो अवस्था नभइरहेको स्थिति छ । नैतिकतामा प्रश्न चिन्ह उठी कानुनी आधारशिला कमजोर भएको छ । हिजो आत्मसहयोग थियो । एकअर्काबिच विश्वासको वातावरण थियो ।
नैतिकता नै जीवनको उन्नति र प्रगतिको आधारशिला हो भनी हेर्ने दृष्टिकोणमा सकारात्मक भाव ऊर्जा देखिन्थ्यो तर अहिलेको अवस्था कमजोर छ । बिडम्वना मान्नुपर्छ । यसले राष्ट्रिय अवधारणा कहाँ अलमलिएको छ यो सोचनीय विषय बनेको छ । समयको परिवर्तनसँगै भौतिक विकासले, विचार र चिन्तनमा परिवर्तन आई सुशासन र कानुनी आधार कमजोर हुनु भनेको जीवनशैलीमा असहज परिवेश देखा पर्नु हो । अहिले भौतिक विलाषीले मानवीय चिन्तन र जीवनशैलीलाई स्वार्थ र व्यक्तिवादी चिन्तनतर्फ धकेल्दै गएको छ । फलस्वरुप युवा जनशक्ति र उनीहरुको सोच गलत मार्गमा जाने अवस्था सिर्जना भएको छ ।
प्रकृतिले हामीलाई यो अवस्थासम्म जे जति दिएको छ । हाम्रो जीवनचर्यामा जे जस्ता ऊर्जाका स्रोत हामीलाई प्राप्त भएको छ त्यो बाहेक हाम्रो जीवनशैलीले प्रकृतिभित्र रहेको शक्ति र उर्जालाई प्रयोग गर्न सकिरहेका छैनौँ । टेन प्लस टु परिसकेपछि युवा जनशक्ति विदेश पलायन हुने जुन संस्कृति अहिले विकसित भइरहेको छ युवा जनशक्ति दिनप्रतिदिन श्रम सिप बेच्न जसरी विदेश पलायन भइरहेको अवस्था छ । यसले हाम्रो समृद्धिको नारा केवल कागजी रुपमा परिणत भएको छ ।
समृद्धिको आधार युवा जनशक्ति भनी नेताले जसरी मिठा–मिठा शब्दजालबाट आश्वासन बाँटीरहेका छन् विकासको लागि राजनीति भनी कुर्लिरहेका छन् । ती सबै कोरा भावनामा बहकिँदै गएको छ । विचार र संकल्पमा अभाव सिद्ध भइरहेको अवस्था देखिन्छ । अहिलेको युगमा युवा जनशक्तिको श्रम र सिपबाट नै आधुनिक युग सुहाउँदो नेपालको विकास हुनसक्छ भन्ने नीति रहनुपर्दथ्यो तर बिडम्वना, यो किताबी पानाभित्र रुमल्लिएको छ । सुशासनको प्रत्याभूति हुन नसकी राष्ट्रिय विकासको बलियो आधार युवा जनशक्ति विदेश जान बाध्य हुनु भनेको राष्ट्रिय विकासको आधारशिला कमजोर हुनु हो । उचित स्थान र उचित श्रम र सिपको परिचालन गरिने भनी नेतृत्व तहबाट जतिसुकै आश्वासनका पोका बाहिर ल्याए पनि युवा जनशक्ति परिचालन गर्ने आधार स्तम्भ नै भत्किँदै जाने स्थिति देखा पर्दै गएको छ ।
व्यक्तिवादी चिन्तन र स्वार्थको राजनीतिले अहिले दक्ष र सिपयुक्त नेतृत्व पंक्ति विदेश दौडिरहेको छ । जनताले अपेक्षा गरेअनुसार विकासका पूर्वाधार अहिले तयार हुन सकिरहेको छैन । केही समययता हाम्रा देशमा भएका औद्योगिक क्षेत्र कलकारखाना क्रमश निजीकरण हुने जुन अभियान बढ्दै गएको छ । निजीकरणको नाममा जसरी राज्यले उद्योग कलकारखानालाई पलायन हुने अवस्था सिर्जना गर्दै छ । यसले रोजगारीको अभाव खड्किने अवस्था देखा परेको छ ।
कानुनी राज्यको अवधारणा अनुसार युवाशक्ति स्वदेशमै केही गरु भन्ने हुटहुटी हुँदाहुँदै पनि रोजगारीको लागि विदेशी भूमिमा ४५ डिग्री तापमा काम गर्न बाध्य भएका छन् । भइरहेका उद्योग धन्धा निजीकरण हुँदै जसरी विलय हुने अवस्था सिर्जना भएको छ यसले युवाशक्ति मातृभूमि छोड्न बाध्य हुँदै छन् । जसले हाम्रो राष्ट्रिय स्वाभिमान विकासका आधारशिला कमजोर हुँदै गएको प्रष्ट हुन्छ ।
रोजगारीको अभावमा कोही कसैलाई बञ्चित गरिँदैन भनी नेताले गरेको प्रतिबद्धता हात्तीको देखाउने दात झैँ भएको छ । युवा जनशक्तिले ४५ डिग्री गर्मीमा पसिना बगाई पठाएको रेमिट्यान्सलाई राष्ट्रिय विकासको आधार बनाई नेता रमाइरहेका छन् । अर्थोपार्जन तथा रोजगारीको मुख्य आधार औद्योगिक क्षेत्रको विकास अहिले निकै कमजोर अवस्थामा रहेको छ । हामीले हाम्रो राष्ट्रिय विकासका जनशक्तिलाई विदेशी बजारमा बेच्ने हाम्रो जुन किसिमको मानसिकता मौलाउँदै गरेको छ । यसले बचे खुचेका आर्थिक सम्पन्नता पनि धरासायी हुने अवस्था सिर्जना हुँदै छ ।
विषयलाई साध्य बनाउने विवेक नै नैतिक चरित्र तथा अनुशासित जीवनशैली निर्माण गर्ने बलियो आधार हो । युवा जनशक्ति नै विकासको मूल आधार हो भन्ने मान्यता अहिले निकै कमजोर रहेको छ । यस कुरातर्फ प्रत्येक व्यक्ति, वर्ग, क्षेत्र र पार्टीलगायत सरकारमा नेतृत्व गर्ने सबैलाई यसले सचेत हुन घचघचाइरहेको छ । त्याग र समर्पणमा आधारित विकासको लागि राजनीतिक भन्ने मान्यतालाई आत्मसात गर्न सबैलाई उत्तिकै जिम्मेवारी बोध गराउनु पर्ने अवस्था वर्तमानमा देखिएको छ ।
युवा राष्ट्र र राष्ट्रियताको बलियो आधार हो । उनीहरुको सिप र क्षमतालाई व्यवस्थापन गर्नु राज्यको जिम्मेवारी पनि हो । समयले यही खोजिरहेको छ । अस्तु ।