गुरुकुलमा आधुनिक प्रविधिबाट पठनपाठन

गोरक्ष समाचारदाता
दाङ, १७ वैशाख । घोराही उपमहानगरपालिका–१५ रतनपुरस्थित गुरुकुल एकेडेमीले आधुनिक प्रविधिबाट पठनपाठन सुरु गरेको छ ।

विद्यालयले कक्षा १ देखि ७ सम्मका विद्यार्थीका लागि ‘आइसिटी आर्ट’ नामक नवीन एकीकृत विषय सुरु गरेको छ । नयाँ प्रविधिले कृत्रिम बुद्धिमत्ता, सूचना प्रविधि, कम्प्युटर कोडिङ र सिर्जनात्मक कलालाई एउटै पाठ्यक्रममा समेटेर पठनपाठन गर्ने र विद्यार्थीको सिकाइमा सहयोग गर्ने विश्वास व्यक्त गरिएको छ ।

एकेडेमीले स्वयम् विकसित गरेको नयाँ पाठ्यक्रमले विद्यार्थीलाई प्रारम्भिक उमेरदेखि नै डिजिटल साक्षरता, प्रोग्रामिङ र रचनात्मक सोच विकास गर्ने लक्ष्य राखिएको छ । विशेष तालिमप्राप्त शिक्षकद्वारा सञ्चालित कक्षाले बालबालिकामा किताबी ज्ञानभन्दा सिर्जनात्मक र प्राविधिक क्षमता विकास गराउने विश्वास गरिएको एकेडेमीका संयोजक भुवन आचार्यले जानकारी दिएका छन् ।
संयोजक आचार्यका अनुसार एकेडेमीले बदलिँदो शैक्षिक आवश्यकता र भविष्यको प्रविधि–केन्द्रित समाजलाई मध्यनजर गरेर नयाँ तरिकाले पठनपाठन सुरु गरेको बताए ।

यसबाट विद्यार्थीमा भविष्यमा आइपर्ने चुनौतीसँग जुझ्न सक्ने क्षमता विकास हुने उनले बताए । संयोजक आचार्यले विद्यार्थीलाई किताबी ज्ञानमा सीमित नराखी उनीहरूमा सोच्न सक्ने, सिर्जना गर्न सक्ने र प्रविधिसँग सहकार्य गर्न सक्ने क्षमताको विकास हुने बताए ।