उपाधिका लागि वडा नं. ६ र १३ भिड्ने

गोरक्ष समाचारदाता
दाङ, १६ वैशाख । घोराहीमा जारी अन्तर वडास्तरीय मेयर कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि वडा नम्बर ६ र १३ भिड्ने भएका छन् ।
घोराही खेलकुद विकास समितिको आयोजना तथा दाङ क्रिकेट संघको प्राविधिक सहयोगमा जारी प्रतियोगिता अन्तर्गत सोमवार भएको पहिलो सेमिफाइनल खेलमा वडा नं. १३ ले वडा नं. १५ लाई ८ विकेटले र दोस्रो सेमिफाइनलमा वडा नं. ६ ले वडा नं. २ लाई ९ रनले जित्दै फाइनलमा प्रवेश गरेका हुन् ।

घोराही–१७ गुलरियास्थित घोराही क्रिकेट मैदानमा भइरहेको प्रतियोगिता अन्तर्गत पालिका भरमा १० वटा वडाको सहभागितामा वैशाख १२ गतेदेखि खेल सुरु भएको हो । जस अनुसार समूह ‘ए’ बाट वडा नं. ६ र समूह ‘बी’बाट वडा नं. १३ उपाधि नजिक पुगेका हुन् । पहिलो सेमिफाइनलमा टस जितेर पहिले ब्याटिङ गरेको वडा नं. १५ सस्तैमा समेटियो ।

नौ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै वडा नं. १५ ले जम्मा ३२ रन बनायो । वडा नं. १५ लाई सस्तैमा समेट्न मनोज पुनले छ विकेट र सुभम खनालले तीन विकेट लिए । वडा नं. १३ ले ३३ रनको सामान्य लक्ष्य १० ओभरमा दुई विकेट गुमाउँदै सहजै पुरा ग¥यो । यसैगरी दोस्रो सेमिफाइनलमा वडा नं. ६ ले टस जितेर पहिले ब्याटिङ गर्दै १८ ओभरमा सबै विकेट गुमाएर एक सय १० रन बनायो । एक सय ११ रनको विजयी लक्ष्य पछ्याएको वडा नं. २ ले २० ओभर खेल्दै सात विकेटको क्षतिमा मात्रै ए१ सय एक रन बनाएपछि वडा नं. ६ ले ९ रनको जित हाँसिल गरेको हो ।

उपाधिका लागि मङ्गलबार दिउँसो १ बजेपछि घोराही क्रिकेट रङ्गशालामा वडा नं. ६ र १३ भिड्ने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेता टिमले नगद ५० हजार, शिल्ड मेडल र प्रमाणपत्र पाउने छ भने उपविजेता टिमले नगद २५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् ।

प्रतियोगितामा म्यान अफ द सिरिजलाई नगदसहित ट्रफी प्रदान गरिने छ भने म्यान अफ द म्याच, बेस्ट बलर, बेस्ट ब्याट्स म्यानलाई ट्रफी प्रदान गरिने अन्तर वडास्तरीय टी–२० क्रिकेट प्रतियोगिता संयोजक देवबहादुर भण्डारीले जानकारी दिए । प्रतियोगिताका लागि जिल्लाभित्रका जिल्ला स्तरको प्रतियोगिता खेलिसकेका अनुभवी खेलाडीलाई वडाको टिममा समावेश गरेर टिम बनाइएको छ ।