टेकबहादुर पुन
देउखुरी, १६ वैशाख । रोल्पा नगरपालिका–५ जुरमसिना निवासी रसिका थापा समलिङ्गी पुरुष हुन् । उनी समलिङ्गी भएको आफूलाई महसुस छ तर समाजको डरले खुलेर बताउन सकिरहेकी छैनन् । लमही नगरपालिका–७ मा भएको एकदिने अभिमुखीकरण कार्यक्रममा उनले आफ्नो दुखेसो पोखिन् ।
‘खुल्न नसक्नु मभित्र पनि समस्या होला तर समाजले हेर्ने गलत दृष्टिकोणका कारण खुल्न सकेको छैन’, उनले भनिन्, ‘शारीरिक रूपमा पुरुष भएर जन्मिए, पछि मानसिक तथा भावनात्मक रूपले महिला हुँ ।’ उनले अधिकांश समुदायले आफ्नो पहिचान थाहा पाए अपहेलित हुनुपर्ने डरले लुकेर बस्नुपर्ने बाध्यता भएको बताइन् ।
फरक पहिचान समाज नेपाल दाङ जिल्ला कोषाध्यक्ष समेत रहेकी थापाले समाजमा घुलमिल हुने वातावरण नहुँदा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय पछाडि परेको बताइन् । अधिकांश यौनिक अल्पसङ्ख्यकहरू आफ्नो पहिचान थाहा पाए अपहेलित हुने डरले पहिचान लुकाउन बाध्य छन् । अर्को जिल्लामा जानुपर्ने अवस्था रहेको, रोजगारी पाउन मुस्किल हुने र कानून बने पनि समलिङ्गी पहिचान गरेर नागरिकता पाउनै समस्या भएको उनले बताइन् ।
फरक पहिचान समाज नेपाल दाङकी अध्यक्ष वर्षा ठकुरीका अनुसार देउखुरीसहित दाङमा एक सय ५० जोडीले विवाह गरेर बसेका छन् तर विवाहदर्तामा समस्या थुप्रिएको उनको भनाइ छ । रेजगारीका लागि निःशुल्क शिक्षा, सिपमूलक तालिम, स्वास्थ्य सेवामा पहुँचलगायतका अधिकार सुनिश्चितता गरिनुपर्ने उनको माग छ ।
अभिमुखीकरण कार्यक्रममा लमही नगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर ७ का अध्यक्ष मोहन गिरीले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको समस्याप्रति संवेदनशील रहेको बताए । ‘यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले भोगेका समस्या वास्तवमै पीडादायी भएको मैले बुझेको छु’, उनले भने, ‘नीति तथा कार्यक्रम बनाउँदा सबै समुदायका सवाललाई समेट्ने गरी कानून बनाउन र बनेका कानूनको कार्यान्वयन गर्न पहल गर्नेछु ।’
कार्यक्रममा लमही नगरपालिका–५ का पवन शर्मा रिजाल, स्वसा नेपालकी जिल्ला संयोजक कृष्णा चौधरी, सरस्वती महिला समूहकी अध्यक्ष सोभा श्रेष्ठ, सचिव प्रमिला चौधरी र नेपाल पत्रकार महासंघ दाङका सदस्य टेकबहादुर पुनलगायतका वक्ताले बोलेका थिए । वर्षा ठकुरीको अध्यक्षता र मोहन गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सहजीकरण संस्थाकी सलिना चौधरीले गरेकी थिइन् ।